विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा माटो उत्खननको विषयलाई लिएर विवाद देखिएको छ । नहरको माटो उत्खनन गर्न रोक्ने पत्र प्रमुख प्रशासकीय अधिकृतले अध्यक्षलाई जानकारी नदिई प्रहरीमा पठाएपछि विवाद भएको हो ।
अध्यक्ष नमोनारायण माझी काठमाडौँ गएका बेला उपाध्यक्ष गुणादेवी थारुको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले उत्खनन् रोक्न प्रहरीमा पत्राचार गरेका थिए । सुनसरी–मोरङ सिचाई आयोजनाको नहरका शाखा तथा कुलोहरूमा अवैध उत्खनन भएको गुनासो आएपछि अनुगमन गरेर उत्खनन रोक्न झोराहाट प्रहरीलाई पत्र लेखेको पौडेलले बताए ।
उत्खनन भएको स्थान ग्रामथान–१ र २ को सिमाना क्षेत्र हो । आफूलाई जानकारीसमेत नदिई पत्र लेखेपछि अध्यक्ष माझीले प्रहरीलाई पत्र किन लेखेको भन्दै पौडेललाई स्पष्टीकरण सोधेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले पुस ८ मा ग्रामथानकै झोराहाटमा रहेको प्रहरी कार्यालयलाई उत्खनन् रोक्न पत्र लेखेका थिए । पुस ११ गते अध्यक्ष माझीले प्रहरीलाई पत्र किन लेखिएको हो भन्ने कारण पेस गर्न भन्दै प्रशासकीय अधिकृतलाई सोधेका छन् ।
अध्यक्ष माझीले आफूसँग सरसल्लाह नगरी अनुगमन र पत्राचार भएको बताए । ‘त्यहाँ नहरको व्यवस्थापनको समिति पनि छ । त्यो समितिलाई पनि थाहा छैन । म त्यहाँको कार्यकारी प्रमुख हुँ, मलाई पनि जानकारी छैन’ उनले भने, ‘कसको योजनामा यो काम भएको हो भनेर सोधेको छु ।’
नहरको जग्गा सुनसरी–मोरङ सिँचाइ आयोजनाले हेर्छ । उसले उत्खनन गर्न अनुमति दिएको वा नदिएको बारे पालिकालाई जानकारी नै छैन । ‘अनुगमन गर्न जाँदा स्काइभेटर नै प्रयोग गरेर माटो उत्खनन गरेर अन्यत्र लगेको देखेपछि रोक्न पत्र पठाएको हो,’ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने, ‘सिचाईं आयोजनासँग अनुमति लिएको वा नलिएकोबारे जानकारी छैन ।’
ग्रामथान गाउँपालिकामा नमोनारायण माझी गत मंसिर १६ गते भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका अध्यक्ष हुन् । गाउँपालिकामा उपाध्यक्षसहित नेकपा एमालेका जनप्रतिनिधिको बहुमत छ । अध्यक्षलाई जानकारी नदिई बहुमतले पेल्ने योजनामा अनुगमन र पत्राचार भएको हो ।
माझीले भने जनताबाट निर्वाचित प्रतिनिधि भएकोले जनताको कुरा मात्र आफूले सुन्ने जिकिर गरेका छन् । कुन जनप्रतिनिधिको कुरा कस्तो छ भन्ने जानकारी आम नागरिकले पाउनुपर्ने भन्दै उनले त्यसको लागि कार्यपालिका बैठक लाइभ गर्ने बताएका छन् । पुस २२ गते ग्रामथान कार्यपालिकाको बैठक बस्दैछ ।