‘दीप्तदृष्टि’ कविता संग्रहको विमोचन

विराटनगर । विराटनगरका वरिष्ठ छन्द कवि हरि कट्टेलको नवौं कृति ‘दीप्तदृष्टि’ कवितासङ्ग्रहको विमोचन गरिएको छ ।
स्रष्टा समाज नेपाल, कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा सो कविता संग्रहको विमोचन गरिएको हो ।

कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, वरिष्ठ समालोचक प्रा.डा. हरिहर भण्डारी, अग्रज साहित्यकार बलराम पोखरेल, समालोचक प्रा.डा. रमेश घिमिरे, नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरल चापागाईं, प्राज्ञ खेम नेपाली, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’लगायतले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए । विमोचित कृतिमाथि समालोचक प्रा.डा. रमेश घिमिरेले समीक्षा गरेका थिए ।

कविता संग्रहका कविताहरूमा राष्ट्रप्रेम, जीवनदर्शन, शासकीय अहङ्कार, मानवीय चरित्र आदि विषयवस्तुहरूलाई विम्ब र प्रतीकको यथोचित उपस्थानसहित कलात्मक ढङ्गले प्रस्तुत गरिएकोले नेपाली काव्याकाशमा मानकोन्मुख कृतिको रूपमा दर्ज हुन सफल देखिएको घिमिरेले बताए । समालोचक प्रा.डा. हरिहर भण्डारीले पछिल्लो समयमा नेपालको राष्ट्रियता कमजोर बनाउने गरी विभिन्न गतिविधि बढिरहेको तर सरोकारवाला तथा सम्बद्ध पक्षले यसको विरुद्धमा आवाज बुलन्द गर्न नसकिरहेको दुःखपूर्ण घडीमा कविले कवितामार्फत सशक्त खबरदारी गरेको बताए ।

प्रमुख अतिथि कोशी प्रदेश प्रमुख परशुराम खापुङले संग्रहभित्रका कविताहरूले देशको विकास र सामाजिक रूपान्तरणको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सो अवसरमा छन्द बाटिका, नेपालका सचिव चिरञ्जीवी नेपाल, वालकवि प्रज्ञा कट्टेललगायतले सङ्गीतिक ढङ्गबाट विमोचित संग्रहभित्रका कवितावाचन गरेका थिए ।

नेपाल स्रष्टा समाज, काठमाडौंले प्रकाशित गरेको सङ्ग्रहमा १६ वटा शास्त्रीय छन्दका ५७ वटा कविताहरू रहेका छन् ।

मङ्गलबार, १६ पुष, २०८१, रातीको ०८:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर