कर्मचारी भर्ना विवादमुक्त बनाऊ

 सम्पादकीय

विराटनगरस्थित कोशी अस्पताल अनियमितता र पक्षपाती निर्णयहरूको भूमरीमा परिरहेको छ । हालै अस्पतालले चिकित्सक, नर्स, फार्मेसी अधिकृत र बायोमेडिकल इन्जिनियर पदपूर्तिका लागि दरखास्त आव्हान गर्दा पहिले नै ज्यालादारी सेवामा कार्यरत चिकित्सकलाई केन्द्रित गरी योग्यता निर्धारण गरिएको आरोप लागेको छ । पछिल्लो सूचना अनुसार १५ मेडिकल अफिसर पदमध्ये ७ पद पुरानै चिकित्सकलाई नियुक्त गर्नको लागि डिजाइन गरिएको देखिन्छ । यसले खुला प्रतिस्पर्धाको सिद्धान्तलाई चुनौती दिएको छ । अस्पतालमा ज्यालादारीमा कार्यरत चिकित्सकका लागि विशेष योग्यता निर्धारण गरी अन्य इच्छुक योग्य उम्मेदवारहरूलाई प्रतिस्पर्धा गर्ने अवसरबाट वञ्चित गरिनुले निष्पक्ष प्रतिस्पर्धाबारे प्रश्न उठेको छ । स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अघिल्लो मेसु डा. रविनराज सिंहले चिकित्सक नियुक्तिको प्रक्रियालाई खारेज गरेका थिए । तर, नयाँ मेसु डा. रुना झाले सोही चिकित्सकहरूको करार अवधिमा म्याद थप गरेकी छन् । नियुक्तिको लागि दरखास्त आव्हान गरिएको भएपनि यसले पुराना ज्यालादारी चिकित्सकहरूकै नियुक्ति सुनिश्चित गरेको संकेत गरेको छ । यस प्रकारको कार्यप्रणालीले अस्पतालको पारदर्शिता र विश्वसनीयता माथि गम्भीर प्रभाव पार्छ ।

लोकसेवा आयोगको मापदण्डलाई पालना गर्दै योग्य उम्मेदवारहरूलाई प्रतिस्पर्धा गर्न दिने उद्देश्यका लागि दरखास्त आव्हान गरिएको भनिएपनि व्यावहारिक रूपमा यो उद्देश्य पूरा भएको देखिँदैन । मापदण्डमा यस्तो संशोधन गरिएको छ, जसले गर्दा धेरै योग्य उम्मेदवार आवेदन दिन नसक्ने स्थितिमा पुगेका छन् । यस्तो परिस्थिति स्वास्थ्य मन्त्रालयको नीति – ‘ज्यालादारी चिकित्सकलाई स्थायी रूपमा नियुक्ति नगर्ने’सँग पनि बाझिएको छ । कोशी अस्पतालमा रेडियोलोजी, न्यूरो सर्जरी, गाइनो वार्ड, र एनआईसीयु जस्ता महत्त्वपूर्ण विभागहरूमा चिकित्सकहरूको कमी छ । यस्ता विभागमा सेवा विस्तार गर्नुपर्नेमा अस्पतालले डेन्टल जस्ता विभागमा जहाँ पर्याप्त चिकित्सक कार्यरत छन्, थप नियुक्तिको तयारी गरेको छ । यो निर्णयले अस्पतालको प्राथमिकताको गम्भीर पुनरावलोकनको आवश्यकता देखाउँछ ।

कोशी अस्पतालले आफ्नो सेवा सुधारका लागि प्रतिस्पर्धात्मक र पारदर्शी प्रक्रिया अपनाउनु अत्यावश्यक छ । यसका लागि स्वास्थ्य मन्त्रालय र अस्पताल विकास समितिले निष्पक्ष मापदण्ड तयार पार्नुपर्छ । खुला प्रतिस्पर्धाबाट छानिएका चिकित्सकहरूले मात्र सेवा गुणस्तरीय बनाउन सक्छन् । न्यायसंगत प्रक्रिया अपनाएर मात्रै बिरामीहरूको सेवा गुणस्तरीय र प्रभावकारी बनाउन सकिन्छ । वर्तमान व्यवस्थामा देखिएको बेथिति सुधार नगरेसम्म अस्पतालको विश्वसनीयता थप गिरावट आउने जोखिम छ । अस्पताल नेतृत्वले निर्णय प्रक्रियामा पारदर्शिता ल्याउनुपर्ने र स्वास्थ्य सेवा क्षेत्रको विकासमा योगदान गर्नुपर्ने समय आएको छ । चिकित्सा सेवा सुधारका लागि अस्पतालले आफ्नो स्रोत साधन र संरचनालाई व्यवस्थित गर्दै दक्ष जनशक्तिको परिचालन गर्नुपर्छ। आईसीयू, एनआईसीयु, र अन्य अत्यावश्यक विभागहरूको सुदृढीकरण प्राथमिकतामा राख्नुपर्छ। बिरामीहरूको विश्वास जित्नका लागि नेतृत्वदायी निकायहरूले दीर्घकालीन दृष्टिकोण अपनाउन जरुरी छ । न्यायसंगत प्रक्रिया अपनाएर मात्रै बिरामीहरूको सेवा गुणस्तरीय र प्रभावकारी बनाउन सकिन्छ ।

मङ्गलबार, १६ पुष, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर