छाला उद्योगको ज्यादती !

  पुण्य पी अधिकारी

सुनसरीको दुहवी नगरपालिका–६ का सचेत युवा र स्थानीयले वुधवार युनाइटेड टेनेरिज उद्योगविरूद्व धर्ना दिनुका साथै टायर बालेर विरोध गरे । वर्षौँदेखि छाला उद्योगबाट पीडित भएका स्थानीयले वुधबार समस्या समाधानका लागि उद्योगीले चासो देखाएकामा धेरै आशा राखेका थिए ।

कच्चा छाला उद्योगबाट निस्कने दुर्गन्ध र फोहोरका कारण आहत भएका दुहवी नगरपालिका–६ का स्थानीयलाई वुधवार एउटा निकास आउला भन्ने लागेको थियो । तर, युनाइटेड टेनेरिज उद्योगका मालिकले समस्या समाधान भन्दा मिचेर वा पेलेर जाने मनसाय राखेपछि स्थानीय धर्नामा बस्न र टायर बाल्न बाध्य भए ।

कच्चा छाला उद्योगका कारण हैरान भएर दुहवी नगरपालिका–६ का स्थानीय छाला उद्योगविरूद्ध सङ्घर्ष समिति बनाएर ०८१ साउनयता आन्दोलनमा छन् । सरकारी प्रक्रियामा प्रारम्भिक वातावरणीय परीक्षा(आइइइ) र वातावरणीय प्रभाव मूल्यांकन(इआइए) नगरी उद्योग सञ्चालनमा रहेकाले उद्योग र उद्योगीविरूद्ध आन्दोन गर्दै स्थानीयले ०८१ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ध्यानाकर्षण गराउँदै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाए ।

पीडितहरूले प्रारम्भिक वातावरणीय परीक्षा र वातावरणीय प्रभाव मूल्यांकन नगरी उद्योग सञ्चालनमा रोक लगाउँदै कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयमा उद्योेगविरूद्ध ०८० साउनमा ज्ञापनपत्र बुझाए । पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको अनुगमन तथा निरीक्षण समिति, दुहवी नगरपालिकाका जनप्रतिनिधि, दुहवी नगरपालिका–६ का वडाध्यक्ष घनश्याम हलुवाई सम्मिलित संयुक्त अनुगमन टोलीले दुहवी नगरपालिका–६ मा रहेका युनाइटेड टेनेरिज र एशियन लेदर इन्डष्ट्रिजले कच्चा छाला प्रशोधन गर्दा निकालेको फोहोरका बारेमा स्थलगत अनुगमन गर्यो । पीडितहरूले राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयलाई बोधार्थसहित दिएको निवेदनका आधारमा राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश कार्यालयले ०८१ असोजमा स्थलगत अनुगमन गर्यो ।

कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सुनसरीलगायतका सरकारी निकायमा सङ्घर्ष समितिका अध्यक्ष सलमान अञ्सारी पटकपटक पुगे । स्थानीयको पटकपटकको ताकेताका कारण कच्चा उद्योगले वुधवारलाई प्रारम्भिक वातावरणीय परीक्षणका विषउमा छलफल गर्नुका साथै स्थानीयको राय बुझ्ने प्रयत्न गर्यो ।

तर, दुहवी नगरपालिका–६ का स्थानीय बाहेक अन्य वडाका स्थानीय र केही युवालाई सङ्गठित बनाएर उद्योगी पीडितहरू विरूद्ध तयार भए । सोही अनुसार वुधबार दुहवी नगरपालिका–६ का वडाध्यक्ष घनश्याम हलुवाईको आडभरोसामा उद्योगी, सङ्घर्ष समिति र स्थानीयबिच छलफल कार्यक्रमको आयोजना गरियो । छलफलपछि निर्णय लेख्ने प्रक्रियामा वडाध्यक्षलाई साक्षी राखी उद्योगीले निर्णय लेख्ने एक÷दुई पाना खाली राखेर निर्णय लेखेपछि पीडितहरू आन्दोलित भए । निर्णय लेख्ने कागज च्यातियो ।

उद्योगीका लागि बुधबार एउटा निर्णय लेख्ने कागजमात्र च्यातियो, तर जो वर्षौदेखि कच्चा छाला उद्योगका कारण आहत भएका छन् । उनीहरूको भविष्य नै च्यातिएको छ ।दुहवी नगरपालिका–६ मा रहेको युनाइटेड टेनेरिज उद्योगले राज्यलाई कर तिरेर आफ्नो धन्धा चलाइरहेको छ । तर, त्यहाका स्थानीयको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सबै खोसेर लगेको छ । मानिसको अन्तिम संस्कारपछि बुढीखोलामा नुहाइधुवाइ गर्ने मलामी घर गएर नुहाउनु पर्ने अवस्थामा उद्योगले स्थानीयलाई पु¥याएको छ । तर, स्थानीयलाई उनीहरूको मौलिक अधिकार दिलाउन तीनै तहका राज्य मुकदर्शक भएर बसेका छन् । छाला उद्योगको ज्यादतीका कारण सर्वसाधारण कहिलेसम्म पीडित हुनु पर्ने ?

बिहिबार, ०४ पुष, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर