उल्टो बाटो नहिँड

 सम्पादकीय

पछिल्लो समयमा नेपाल दूध उत्पादनमा आत्मनिर्भर मात्र बनेको छैन, उत्पादित दूधले बजार नपाउँदा पाउडर दूध, क्रिम र घिउ बिक्री भएको अवस्था छैन । उत्पादित दूधजन्य वस्तुको बजार विस्तार र निर्यात व्यवस्थापनको पहल सरकारले गर्न सकेको छैन । निजी क्षेत्रका सीमित उद्योगीले थोरै मात्र घिउ जापान निर्यात गरिरहेका छन् । यहि बेला सरकारले भारतबाट पाउडर दूध आयात गर्ने अनुमति दिने तयारीमा रहेको विषय सार्वजनिक भइरहेको छ । यो विषयले देशका डेरी उद्योगी, किसान र ग्रामीण अर्थतन्त्रसँग सम्बन्धित व्यक्तिहरूमा ठूलो चिन्ता पैदा गरेको छ । नेपाल हाल दूध उत्पादनमा आत्मनिर्भर बन्दै गरेको अवस्थामा यस्तो निर्णयले स्वदेशी उत्पादन प्रणालीलाई गम्भीर संकटमा पार्ने निश्चित छ । विगतका वर्षहरूमा सरकारले दूध उत्पादन वृद्धि गर्न किसान र डेरी उद्योगलाई प्रोत्साहित गर्दै ठूलो मात्रामा अनुदान वितरण गरेको छ । कोशी प्रदेशमा मात्रै आर्थिक वर्ष ०८०–०८१ मा २० करोडभन्दा बढी अनुदान दिइएको छ । यसका कारण दूध उत्पादनमा उल्लेखनीय वृद्धि भयो । कोशी प्रदेशमा दैनिक ५ लाख ७५ हजार लिटर दूध औपचारिक रूपमा उत्पादन हुन्छ ।

नेपालकै दूध र दुधजन्य वस्तुले बजार नपाएको बेला भारतबाट आयात गर्नुको औचित्य देखिएको छैन । बरु आयात गरिने दूध सस्तो पर्ने भएकाले त्यससँग स्वदेशी उत्पादन प्रतिस्पर्धा गर्न नसक्ने स्थिति सिर्जना गर्नेछ । किसानले उत्पादन गरेको दूध बिक्री गर्न नसक्ने, उद्योगीले बैंकको ऋण चुक्ता गर्न नसक्ने र ग्रामीण क्षेत्रका लाखौँ साना किसानहरूको जीविकोपार्जनको आधार गुम्ने खतरा छ । भारतीय दूधको गुणस्तरप्रति पनि गम्भीर प्रश्न छ । नेपालमा उत्पादन हुने ताजा दूध उच्च पोषण र गुणस्तरयुक्त छ । पाउडर दूधको आयातले उपभोक्ताको स्वास्थ्यमाथि पनि जोखिम ल्याउन सक्छ । नेपालले दूध र दुग्धजन्य उत्पादनमा आत्मनिर्भरता कायम राख्न आयातलाई रोक्ने मात्र होइन, स्वदेशी उत्पादनलाई थप प्रवर्द्धन गर्ने दीर्घकालीन नीति अवलम्बन गर्नुपर्छ ।

स्थानीय उद्योगको क्षमता विस्तार गर्न दीर्घकालीन लगानी आवश्यक छ । दाना उत्पादन जस्ता क्षेत्रहरूमा सहजीकरण गरी पशुपालनलाई कम लागतयुक्त बनाउनुपर्छ । नयाँ प्रजातिका गाईहरू आयात गरी उत्पादन वृद्धि गर्न सकिन्छ । दुग्धजन्य उत्पादनलाई बजारिकरण गर्न दक्ष जनशक्ति र प्रविधिमा लगानी बढाउनुपर्छ । दूधको बजार विस्तार गर्न ध्यान दिनुपर्छ । नेपालले वार्षिक २ अर्बभन्दा बढीको दूधजन्य उत्पादन आयात गर्दै आएको छ । यस्तो अवस्थामा उत्पादन स्वदेशमै पर्याप्त भएको तथ्यले आयातको औचित्यलाई कमजोर बनाउँछ । भारतबाट पाउडर दूध आयात गर्न दिने निर्णय स्वदेशी उद्योगलाई कमजोर बनाएर आयातमा निर्भर अर्थतन्त्र निर्माणतर्फ लैजाने संकेत हो । भारतबाट पाउडर दूध आयात खुला गर्नु सरकारको एक गलत निर्णय हुनेछ । यसले स्वदेशी उद्योग र ग्रामीण अर्थतन्त्रलाई गम्भीर क्षति पु¥याउनेछ । आत्मनिर्भरता भनेको केवल उत्पादन मात्र होइन, आर्थिक सशक्तीकरणको आधार पनि हो । सरकारले यो मुद्दामा गहिरो छलफल गर्दै स्वदेशी उत्पादन प्रणालीलाई थप सबल बनाउनुपर्ने आवश्यक छ । स्थानीय उद्योग र किसानहरूको संरक्षणमा प्राथमिकता दिनु नेपालको आर्थिक हितका लागि अनिवार्य छ ।

बुधबार, १९ मंसिर, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर