मणि हादाल
जनक्रन्तिले राणा फाल्यो । पञ्चायत फाल्यो । राजा फाल्यो । एकात्मकता फाल्यो । क्रान्तिको मूल उद्धेश्य भनेको रुपान्तरित तथा उर्जावान समाजको निर्माण थियो । लोककल्याणकारी राज्य व्यवस्था मार्फक समतामूलक समाजको निर्माण थियो । तर, केही भौतिक विकास तथा राजनीतिक अधिकारहरु लिपिबद्ध हुनेदेखि बाहेक गतिशील तथा सुसंस्कृत समाजको निर्माण गर्ने सवालमा भने राजनीतिक दलको चाबी समात्नेहरु असफल भए । असफलताको मूल जरो कता छ त ? यसबारेमा सबै जानकार हुन जरुरत छ ।
समाजको चेतनास्तले रुपान्तरणको गन्तव्य निर्धारण गर्छ । समााजको चेतना विगतमा जे थियो आज पनि त्यहिँ छ । जुन चेतनाले मालिक जान्दछ । अतिभक्त र शतिmको पूजा जान्दछ । लोभ, लालच, पद, पैसा, सत्ता र अफवाह जान्दछ । सामूहिकताको अविश्वास गर्छ । व्यक्तिवादको लहडमा आत्मकेन्द्रित बन्छ । खाओ, पिओ अनि मोज गरो को उपभोगवादी जीवनलाई सार्थक ठान्छ । आफू जान्दछ । सबै जान्दैन । श्रम, सीप र उत्पादनशीलता र मेहनतलाई मन पराउदैन । अकर्मबाट चाँडै धनी हुन चाहान्छ । बाल वृद्धदेखि युवासम्म यस्तै मनोरोगबाट ग्रसित हुनु हाम्रो सामाजिक यथार्थ हो ।
धर्म मानव जीवनको एक आस्था हो । तर, आस्थाको नाममा देखिने धार्मीक आसक्ति विकासको बाधक हो । हाम्रो समाज धार्मिक रुपमा अन्धभक्त छ । काल्पनिक स्वर्गको नसामा समाजको दिमाग लठ्ठिएको छ । समाजको यो मनोविज्ञानलाई पोप, पादरी, स्वामी, महाराज लगायतका अनेकांै नामका धर्मभिरुहरुले त्यसलाई व्यापारमा परिणत गरेका छन् । धर्मको कलात्मक प्रस्तुति मार्फत समाजका हर सदस्यलाई पछुवा बनाएका छन् । यो मनोविज्ञान रुपान्तरणको बाधक छ ।
धर्मका ठेकेदारहरु सामाजिक तथा संस्कृतिक रुपान्तरण चाहँदैनन् । उनीहरु विज्ञानको गतिशील दर्शनलाई विश्वास गर्दैनन् । धर्मको पञ्चामृत छरेर पानी धमिलो पार्दै माछा मार्न धर्मभिरुहरु खप्पिस हुन्छन् । वैज्ञानिक तथा रुपान्तरित समाज निर्माणको अभियान विरुद्धमा जनतालाई अनेकौ बहानाले उत्तेजित बनाउँछन् । वैज्ञानिक चिन्तनबाट दिक्षित नभएका जनता राज्यका हर समस्यामा चिन्तित त हुन्छ । तर, चेतनाको अभावमा उसको चिन्ता गलत दिशामा मोडिन्छ । जसरी आज राजा आउ देश बचाउ, युवा आऊ वृद्ध हटाउ जस्ता अनेकांै खाले अराजनीतिक फण्डाको पछि समाज दौडिरहेको छ । वर्गीय सोच बिमूख लैबिक अतिवादमा समाजको आधा हिस्सा अल्मलिइरहेको छ । समाजको यस्तो चेतनालाई प्रगतिशील चेतनामा नढाल्दासम्म समाज यथास्थिति भन्दा माथि जानै सक्दैन ।
समाज विकासको चरणलाई उल्टो गतिमा प्रवाहित गर्ने तत्वहरु अनेकांै आवरणमा सल्बलाएका छन् । राजनीतिक आवरणमा सल्बलाएको एउटा भीड जो समाजलाई दाशताको जन्जिरमा बाँधिराख्न चाहन्छ । सो भीड राजनीतिक दलको झण्डामा सोभित छ । उसले मालिक जान्दछ । आदेशको पालना जान्दछ । ठोक्न जान्दछ । टोक्न जान्दछ । बोक्न जान्दछ । तर मालिकको गल्तीलाई गलत भन्न जान्दैन । कसैले गलत भनेको सुन्न पनि चहाँदैन ।यो जमात विगतमा पञ्चायतको छत्र छाँयामा मण्डले अवतारमा थियो । आज लोकतन्त्रको आवरणमा नवमण्डले अतारमा संरक्षित छ । यस्तो जमातलाई राज्यको कठोर नीतिले गतिशीलतामा नबदल्दा सम्म नत नेत्ता सुध्रन्छ । नत राजनीति नै ।
अनेकौ नामधारी अभियान्ता, अधिकारकर्मी, देशी विदेशी गैर सरकारी निकाय र सस्ता समाजसेवी हाम्रो सामाजिक रुपान्तरणका अर्को बाधक पक्ष हुन् । यो प्रवृतिले समाजलाई गलत निर्देश गरिरहेको छ । यो प्रवृत्ति तारे होटेलमा बस्छ । विदेशी मालिकको आदेश पालक भएर जात वर्ण, लिङ्ग सबैलाई उत्तेजित बनाउँछ । रुपान्तरणको कृतिम मालामा होटेलमा सेमिनार गर्छ । जनताका अनेकौं संवेदनशीलतालाई बेचेर आफू अलिसानको जीवनमा बाँच्छ । यो प्रवृत्ति हरेक राजनीतिक दलको केन्द्र भागमा निर्णायक भएर बसेको छ । जसले आर्थिक, सांस्कृतिक, तथा सामाजिक रुपान्तरण चहाँदैन । समाजलाई यथास्थितिमै अल्मल्याउने अर्काे खतरानक पक्ष भनेको बौद्धिक दलाली हो । यो प्रवृत्ति रुपान्तरणको बाहकको भेषमा निहित स्वार्थ भन्दा केही जान्दैन । यस्तो खाले बौद्धिक अपाङ्गता संस्थागत प्रवृत्तिको रुपमा विकास भएको छ । यो प्रवृत्तिले आफ्नो रुपान्तरण चहान्छ । अरुको चहाँदैन । यो प्रवृत्ति शिक्षित छ । तर, चेतनशील छँदैछैन । सधैंभरि राजकीय दलालीको अग्रभागमा रहन चहाने यो प्रवृत्ति कामचोर तथा राजकीय साधन श्रोतको दोहन विधामा अब्बल छ । यो प्रवृत्ति कर्तब्य पालन गर्दैन ।
तर, अधिकारको चर्का कुरा गर्छ । रुपान्तरणको बर्कोमा जनतालाई गुमराहमा राख्छ । समाजको नजरमा ऊ बौद्धिक जस्तो देखिन्छ । तर, उसको बौद्धिकता कहिल्यै पनि समाजको हितमा हँुदैन । बौद्धिक लम्पट प्रवृत्ति यस्तो खतरनाक हो, जसले शासकको फेरबदल चहान्छ । तर, समग्र समाजको रुपान्तरण चहाँदैन । आफ्नो मालिकलाई शासन सत्तामा ल्याउनको लागि यो वर्गले आन्दोलनको आँधी पनि सिर्जना गर्छ । गलत दिक्षान्तबाट जनतालाई आन्दोलनको मैदानमा पनि उतार्छ । दलीय घुम्टोमा उसले जनतालाई अनेकौं गुलिया बचनले अराजक गतिविधिमा संलग्न पनि गराउँछ । सडकमा टायर बाल्छ । सडक जाम गर्छ । राँको बाल्छ । जब उसको मालिक शासन सत्तामा पुग्छ , त्यसछि यो वर्ग पहुँचको चाकरी र दालालीमा लिप्त रहन्छ । विगत चौंतीस वर्षदेखि यहि वर्गले राजनीति र राजनेतालाई धुमिल्याउने काम गरिरहेको छ ।
हाम्रो सामाजिक चेतना पुरातनको तगारोमा जेलिएको छ । गलत शिक्षा र संस्कारले ग्रसितसामाजिक चेतना जान–अन्जान प्रतिगमनको चहानाबाट अभिप्रेरित छ । आज यस्तै चेतना बाहकहरु नै प्रगतिशीलताको प्रवक्ता बनेर अग्रभागमा देखापरेका छन् । उनीहरु आफ्नो मालिकलाई एकल शक्तिशाली देवको रुपमा देवत्वकरण गर्दै राजनीतिक मैदानमा छन् । उनीहरुले राजनीतिलाई विचार, सोच र नैतिक शून्यताको अवस्थामा पु¥याएका छन् ।
चिन्तन बिनाको चिन्तित समाज अफवाहबाट निर्देशित हुन्छ । विचारशून्य भीडले राजनीति लगायतका हर क्षेत्रमा कब्जा जमाउँछ । कृत्रिम घुम्टो र सस्तो लोकप्रियताको पछि जनता दौडिरहन्छन् । उनीहरुले गाँठी कुरो बुझ्दैनन् । जनताको यहि मनोभावनामा खेलेर पञ्चायत कालदेखि आजसम्म पनि सोही प्रवृत्तिका नायकहरुले जनतालाई आजीवन करदाता र मतदातामा सीमित गराएर रैतीको जीवनमा बाँच्न बाध्य पारेका छन् । तर, जनता अझै पनि गाँठी कुरो नबुझी लैबरी तालमा नाचिरहेका छन् ।
सितिमिति पारामा बर्तमान समाजको परिवर्तन सम्भव छैन । यथास्थितिमा जसले समाजबदल्छु भन्छ उसले सरासर झुटको खेती गर्दै छ भनेर बुझ्दा हुन्छ । जबसम्म परजीविबाट आत्मजीवि, पराधिनबाट स्वधीन, व्यक्तिवादबाट समुदायवाद, विभेदवादबाट समतावाद पथभ्रष्टबाट कर्तव्यपालन जस्ता सवालहरुमा समाजको मनोविज्ञानलाई सजग गराउन सकिंदैन तबसम्म इन्द्रेको बाबै चन्द्रे आए पनि समाजको हालत उस्तै हो ।