विराटनगर । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि उक्त मन्त्रालयका मन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करीको आरोप लागेपछि राजीनामा दिएका थिए ।
भण्डारी एमालेका संसदीय दलका प्रमुख सचेतक पनि हुन् । कानुनी पृष्ठभूमिका अधिकारी मन्त्री रहेको आन्तरिक मामिला मन्त्रालयमा कानुनी पृष्ठभूमि भएकै भण्डारी मन्त्री बनेका हुन् । सुनसरी २ (१) बाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।
कोशी सरकारमा नेपाली कांग्रेसको भागमा रहेको स्वास्थ्य मन्त्रालय भने खाली छ । उक्त मन्त्रालय भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले हेर्दै आएका छन् । कांग्रेसको आन्तरिक किचलोको कारण सो मन्त्रालयमा अझै मन्त्री नियुक्त हुन नसकेको हो ।
कांग्रेसले स्वास्थ्य मन्त्रालय डा। शेखर कोइराला समूहको लागि छुट्याएको छ । तर, कोइराला समूहले २ मन्त्रालय दिनुपर्ने माग गर्दै मन्त्रीको नाम नदिएकाले सरकार विस्तार हुन नसकेको हो ।सजिलो सानो सरकार भएकाले मन्त्रीमण्डलले पूर्णता नपाउँदा पनि कुनै समस्या नभएको मुख्यमन्त्री कार्कीले बताए । उनले चाडै स्वास्थ्य मन्त्री नियुक्त गर्ने बताए ।