विराटनगर । नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला पक्षले गर्ने तयारी गरेको कोशी प्रदेशका पालिका सभापतिहरुको भेला रोक्न पार्टी केन्द्रले निर्देशन दिएको छ ।
नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोशी प्रदेशका सबै जिल्लाका सभापतिहरुलाई सर्कुलर गर्दै मंसिर २२ गते आधिकारिक प्रदेशको सम्मेलन हुने जनाएको हो ।
काँग्रेस प्रदेश समितिका सभापति संस्थापन पक्षमा रहेका कृष्णप्रसाद सिटौला निकट उद्धव थापा छन् । थापा नेतृत्वको प्रदेश समितिले मंसिर २२ गते पहिलो सम्मेलन गर्ने तय गरेको थियो । त्यसअगाडि शेखर पक्षले भने मंसिर १८ र १९ गते प्रदेश राजधानी विराटनगरमै सभापतिहरुको भेला राखेको भन्दै पत्रकार सम्मेलन गरेको थियो ।
केन्द्रीय कार्यालयले गरेको सर्कुलरमा मंसिर २२ मा हुने सम्मेलन पूर्व प्रदेशस्तरीय पार्टीको कुनैपनि कार्यक्रम नरहेको जनाइएको छ । कोइराला पक्षले भने मोरङका १७ वटै स्थानीय पालिका कमिटीको आयोजनामा भेला गर्न लागेको जनाउँदै आएको छ ।
मंसिर २२ गते हुने प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि र अन्य
पदाधिकारीहरू सहभागी हुने जनाइएको छ । कोइराला पक्षले गर्ने भनेको भेलामा भने डा. शेखर कोइराला प्रमुख अतिथि हुने प्रचार गरिएको छ ।
मंसिर २२ को प्रदेश सम्मेलनमा प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, महासमिति सदस्य, महाविधेशन प्रतिनिधि, पालिका सभापति, प्रतिनिधिसभा तथा प्रदेश अधिवेशन प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ । बन्दसत्रमा ६४८ जना प्रतिनिधिहरू सहभागी हुने र सोही सत्रले कांग्रेस कोशीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गर्ने तयारी छ ।
कोइराला पक्षले आयोजना गर्न लागेको पालिका सभापतिहरूको भेलाको संयोजन गरिरहेका कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंले भने पार्टीकै विधानमाथि छलफल गर्न भेला आयोजना गर्न लागेको बताउँदै आएका छन् । चापागाईँले आफूहरुले कुनै समूहको नभएर काँग्रेसका १३७ पालिकाका सभापतिको भेला गर्न लागेको बताएका छन् ।