कृषि फार्ममा ३०७ किलो गाँजा

इटहरी । सुनसरीको धरानमा रहेको एउटा कृषि फार्मभित्र ठूलो परिणाममा लागुऔषध गाँजा फेला परेको छ । धरान उपमहानगरपालिका–१७ खेरैनीमा रहेको सप्रिम एग्रीकल्चर कृषि फार्मबाट ३ सय ७ किलोग्राम गाँजा बरामद भएको हो ।

प्लाष्टिकका १० वटा बोरामा लुकाइछिपाइ राखिएको गाँजा कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले मंगलबार राति बरामद गरेको छ । कृषि फार्मबाट लागुऔषध गाँजाको कारोबार भइरहेको विशेष सूचनाका आधारमा छापा हान्न प्रहरी टोली पुगेको थियो ।

फार्म धरान–१३ का ४४ वर्षीय मनीराज राईले सञ्चालन गर्दै आएका थिए । फार्मबाट गाँजा बरामद भएसँगै प्रहरीले राईलाई पक्राउ गरेको छ । राईविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

धनकुटा, भोजपुरलगायतका पहाडी जिल्लाबाट ल्याएको गाँजा कृषि फार्ममा भण्डारण गरेर राखेको हुनसक्ने प्रहरीको अनुमान छ । भण्डारण गरेर राखिएको गाँजा फार्मबाटै अन्यत्र ‘सप्लाई’ हुने प्रहरीको भनाइ छ ।

गाँजा कसले र कहाँबाट ल्याएर राखेको हो भनेर प्रहरीले खुलाएको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फोटो

बुधबार, २८ कार्तिक, २०८१, साँझको ०६:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर