सीमा क्षेत्रमा संयुक्त सीमा पैदल यात्रा

इटहरी । सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासो सुन्नका लागि सुनसरीमा संयुक्त सीमा पैदल यात्रा सुरु भएको छ ।भारतसँग ६२ किलोमिटर सीमा जोडिएको सुनसरीको नेपाल–भारत सीमा क्षेत्रमा चार दिने पैदल यात्रा थालिएको हो ।

जिल्ला सुरक्षा समितिको आयोजना तथा सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीको संयोजनमा मङ्गलबारदेखि सुरु भएको सीमा पैदल यात्रा तथा अन्तरक्रियामा सुरक्षाकर्मी र जनप्रतिनिधिले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् । सीमा पैदल यात्राका क्रममा पहिलो दिन मंगलबार सशस्त्र प्रहरी बल नेपाल बीओपी साहेवगञ्जमा अन्तरक्रिया गरिएको थियो ।

बुधबार घुस्कीमा अन्तरक्रिया गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । अन्तरक्रियामा सीमासँग सम्बन्धित विषयमा विभिन्न सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, राजनीतिक दल स्थानीय नेताहरूसँग छलफल गरिएको छ ।

मंगलबार भएको अन्तरक्रियामा स्थानीय जनप्रतिनिधिसँगै सुनसरीका प्रजिअ तिवारी, सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टरका गणपति समेनन्द बज्राचार्य, राष्ट्रिय अनुसन्धानका अनुसन्धान उपनिर्देशक तुलसी कट्टेललगायतका सुरक्षा अधिकारीसँग सीमावासीले सीमा स्तम्भको अवस्था, सीमा अपराध, सीमावासीका समस्याका बारेमा जिज्ञासा राखेका थिए । स्थानीयले सीमित स्रोत र साधनसहितको सुरक्षाकर्मीको उपस्थिति बोर्डर क्षेत्रमा अपर्याप्त रहेको बताएका छन् ।

भारतीय सीमा सुरक्षा बल एसएसबीसँग समेत समन्वय गरी दुई तर्फी नाकाको अवस्था र सीमा स्तम्भको सुरक्षा लगायतका बारेका जानकारी साटासाट गर्नेसमेत उद्देश्य रहेको पैदलयात्रा भाण्टाबारी स्थित कोशी किनारमा पुगेर टुङ्गिनेछ ।

बुधबार, २८ कार्तिक, २०८१, साँझको ०६:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर