धनराज र ऋषिकेशमाथि छानविन गर्नुपर्छ : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधिको शासनमा कुनै सम्झौता गर्दैन भन्ने विश्वास सरकारले जनतालाई गराउनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा राष्ट्र बैंक कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सरकारले विधिको शासनका कुनै सम्झौता गर्दैन भन्ने विश्वास जनतालाई हुनुपर्ने बताए ।

महामन्त्री थापाले सहकारी प्रकरणमा दोषी देखिएका सबैलाई कारवाही गर्नुपर्ने भन्दै संसदीय छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । सहकारी ठगीमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका सांसद ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न उनले सुझाव दिए ।

जुनसुकै दलका नेता भएपनि अनुसन्धानमा गल्ती देखिए कारबाही गर्न सरकार पछि हट्न नहुने थापाको भनाइ छ । सहकारीको बचत ठगी गर्नेहरूको सम्पत्ति बेचेर भएपनि सानो बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु गर्नुपर्ने उनको भनाइ छ ।

‘नेपाली कांग्रेसको एकजना नेता, पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो’ उनले भने, ‘थप अनुसन्धान गर्नुपर्छ । म त सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु– बकैदा अनुसन्धान गर्नुस् । अनुसन्धान गर्नु पनि पर्छ ।’ उनले अगाडि थपे, ‘नेकपा एमालेका ऋषिकेश पोखरेलजीको नाम पनि आयो, गर्नुस् अनुसन्धान । अनुसन्धान गर्नुस् मात्र होइन, यदि गल्ती गर्नुभएको छ भने अभियोजन पनि गर्नुस् । दण्ड पनि दिनुस् ।’
काँग्रेस उपसभापति गुरुङ ललितपुरको महालक्ष्मीस्थानस्थित एक सहकारीको बचत हिनामिनामा जोडिएका छन् । उता एमाले सांसद पोखरेल पत्नी मोरङ कर्सियास्थित उमागौरी सहकारीको हिनामिनामा तानिएकी छन् ।

सोमबार, १२ कार्तिक, २०८१, दिउँसोको ०४:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर