कोशीमा जापानीज इन्सेफ्लाइटिसको संत्रास

उपचारमा सरकारको सहयोग खोज्दै नागरिक

विराटनगर । कोशी प्रदेशमा जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमण बढ्दै गएको छ । जेइ संक्रमणबाट यस वर्ष बुधबारसम्म ६ जनाको मृत्यु भइसकेको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता आस्था थापाले दिएको जानकारी अनुसार बुधबारसम्म सुनसरीमा ३, झापामा २ र उदयपुरमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पुरुष चार र दुई जना महिला रहेका छन् । चार जना नाबालक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशका विभिन्न अस्पतालहरुमा जापानीज इन्सेफ्लाइटिस संक्रमणका १६ जना बिरामी उपचाररत रहेका छन् ।
गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको छ । गत वर्ष जापानी इन्सेफ्लाइटिस संक्रमणबाट कसैको पनि मृत्यु भएको थिएन । तर यस वर्ष छोटो समयमै ६ जनाको मृत्यु भएको छ भने १६ जना संक्रमितहरुको उपचार भइरहेको स्वास्थ्य निर्देशानलय कोशी प्रदेशका निर्देशक डा. सुरेश मेहताले जानकारी दिए । ‘जेइ संक्रमणको मृत्युदर पनि उच्च छ । रोकथामका लागि काम थालिसकेका छौं ,’ उनले भने ।

उपचारमा सरकारको आश
जापानीज इन्सेफलाइटिस (जेइ) संक्रमति उदयपुर बेलका नगरपालिका–६ का १२ वर्षीय एक बालक ७१ दिनदेखि अस्पतालको शैय्यामा जीवनमरणको दोसाँधमा छन् ।
विराट मेडिकल कलेजको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । विरामीको अवस्था अत्यन्त गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
जेइ संक्रमित विरामीका आफन्तहरुले छोराको उपचार गर्न सक्ने अवस्थामा अब आफूहरु नरहेको भन्दै सरकारले नै यस प्रकराको रोगको उपचार गरिदिनु पर्ने भन्दै याचना गरेका छन् । ‘हस्पिटल आउँदा राम्रोसँग छोरालाइ लिएर आयौं । यहाँ आइपुग्दा भेन्टिलेटरमा राखेर उपचार गर्न चिकित्सकले सुझाव दिए । हस्पिटल आएको एक महिनापछि जापानीज इन्सेफ्लाइटिस भएको पत्ता लाग्यो । ऋण खोजेर तीन लाख रुपैयाँ ल्याएर अस्पतामा बुझायौं । भएको पैसा सकियो । अहिले छोराको उपचार गर्नको लागि पैसा पनि छैन । उपचार गर्न नसक्ने भयौं । फार्मेसीमा साढे ३ लाख रुपैयाँ भन्दा बढी खर्च निकालेको छ । त्यो तिर्न नसक्ने अवस्थामा पुगेका छौं । अझै ८÷९ लाख रुपैयाँ खर्च हुने अस्पतालले भनेको छ । यत्रो पैसा हामी विपन्न नागरिकले कहाँबाट ल्याउनु ? । हामी त गम्भीर समस्या फसेका छौं, ’ विरामीका बाबुले अस्पताल परिसरमा भने, ‘उपचारमा १६ लाख बढी खर्च हुने रहेछ । जापानीज इन्सेप्mलाइटिस रोगको उपचार हामीबाट गर्न नसक्ने अवस्था रहेको छ ।’ छोराको उपचार राज्यले गरिदिनुपर्ने उनले माग राखेका छन् । छोराको उपचार गर्दा भएभरको सम्पत्ति रित्तिएपछि हार मानेर उनले असोज २० गते स्वास्थ्य मन्त्रालयलबाट सहयोगको चिठी लिएर अस्पतालमा आएका छन् । तर, अस्पतालले केही रकम छुट मात्र गर्न सक्ने पूर्ण रुपमा छुट दिन नसक्ने अस्पतालले बताएको छ ।
उपचारमा संलग्न विराट मेडिकल कलेजका बालरोग विशेषज्ञ डा. रामभक्त सुवेदीले जापानी इन्सेफलाइटिस संक्रमति बालकको स्वास्थ्य अवस्था गम्भीर रहेको बताए । अहिले भेन्टिलेसनमा राखेर उपचार गरेको उनले बताए । जेइ संक्रमित विरामीको अस्पताल आउने क्रमम बढेको बताए । शनिबार मात्रै जेइ संक्रमित विरामीको उपचारको क्रममा मृत्यु भएको उनले बताए ।
जापानी इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेले सार्ने गरेको उनले बताए । यो रोग लागेपछि कडा टाउको दुखाइ, उच्च ज्वरो र मस्तिष्क सुन्निने जस्ता लक्षणहरू देखिने उनले बताए । उपचारपछि निको भए पनि पक्षाघातको समस्या रहन सक्ने चिकित्सकले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले जापानी इन्सेफलाइटिस विरुद्धको खोप लिन र लामखुट्टेको टोकाइबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
जापानीज इन्सेप्mलाइटिस मुख्यतया सुँगुर र चराहरूमा पाइने भाइरसबाट हुन्छ । क्युलेक्स प्रजातिको लामखुट्टेले यी जनावरलाई टोकेर मानिसमा सार्छ । यो रोगले मस्तिष्कमा असर गर्छ । उच्च ज्वरो, टाउको दुखाइ, जीउ काम्ने र गम्भीर अवस्थामा कोमामासमेत जाने अवस्था हुनसक्छ ।
स्वास्थ्य विशेषज्ञहरूले यो रोगको कुनै निश्चित उपचार नभएको तर लक्षण अनुसारको उपचार गरिने बताएका छन् । रोग नियन्त्रणको प्रमुख उपाय भनेको खोप नै हो । शिशुलाई जन्मेको १२ महिनामा यो खोप दिइन्छ । चिकित्सकका अनुसार जापानीज इन्सेफ्लाइटिसबाट बच्नका लागि लामो बाहुला भएको लुगा लगाउने, घर वरिपरी सरसफाई कायम राख्ने, लामखुट्टे धपाउने झुल वा क्रिमको प्रयोग गर्ने, पानी जम्न नदिने आदि रोकथामको उपाय अपनाउनु पर्छ ।
संक्रमणको जोखिम उच्च रहने भएकाले सतर्क रहन र कुनै शंकास्पद लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सकले आग्रह गरे ।

बिहिबार, ०८ कार्तिक, २०८१, दिउँसोको १२:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर