विराटनगर । नेकपा एमाले नेतृत्वमा रहेको कोशी प्रदेश सरकारलाई एमाले र काँग्रेसको संयुक्त कार्यदलले आफ्नो न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको छ ।
नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले बुझाएको न्युनतम साझा कार्यक्रम बिहीबार नै सार्वजनिक गरिएको छ ।
असोज ६ गते प्रदेश सरकारका २ जना मन्त्रीसहित ६ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक सदस्य थिए भने कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ सदस्य थिए ।
कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार गर्न असोज २३ गतेसम्मको समय पाएको थियो । न्यूनतम साझा कार्यक्रम बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यक्रम सरकारले लागू गर्ने बताएका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यदलले बनाएको साझा कार्यक्रमलाई आधार बनाएर सरकारले काम गर्ने बताए । ८ पेज लामो न्यूनतम साझा कार्यक्रममा क्षेत्रगत रुपमा प्राथमिकता निर्धारण गरिएको छ ।
कार्यदलले बुझाएको न्युनतम् कार्यक्रममा प्रदेशको स्थायी संरचना निर्माण गर्ने, प्राकृतिक विपदबाट भएको क्षतिको मर्मत र पुननिर्माणको लागि दीर्घकालिन कोष निर्माण गर्ने, विपद्बाट भएको क्षतिको व्यवस्थापनको लागि चालु खर्च कटौती गर्ने र कतिपय पुँजीगत कार्यक्रम स्थगित गर्नेलगायतका विषय समावेश छन् ।