अच्युत प्रपन्नाचार्य
दसैँको दुईवटा परम्परा छ । एउटा रामायणसँग सम्बन्धित परम्परा छ । अर्को देवीको परम्परा पनि छ । यसलाई शरदीय नवरात्र पनि भनिन्छ । यसको सुरुवात आश्विन शुक्ल पक्षलाई लिने गरिएको छ । दसैँको अर्को पनि परम्परा छ । गोपी र श्रीकृष्ण भगवानसँगको सम्बन्धको परम्परा पनि छ । त्यो चाहिँ एकादशीदेखि पूर्णिमासम्मको परम्परा हो । यो कहिलेदेखि मनाउन थालियो भन्ने कुनै प्रमाण छैन । यो आदिकालदेखि मनाउन थालियो । विजयादशमी, उत्सव सर्वत्र प्रचलनमा छ । नेपालमा मात्रै होइन भारतमा पनि विजय उत्सव मनाइन्छ । आज पनि भारतमा राज घरानाहरुमा नवरात्र उत्सव र विजय उत्सव हुन्छ । त्यसको प्रत्यक्ष प्रमाण मैले पनि देखेको छु ।
शरद ऋतु आफैंमा पवित्र ऋतु हो । बसन्त, गृष्म, वर्षा, शरद, हेमन्त र शिशिर मध्ये शरद ऋतु बीचमा आएको हुनाले यसलाई राम्रो मानिन्छ । यो ऋतुमा वर्षायाम सकिएको हुन्छ । हिउँदको ठिक्क सुरुवातको सन्ध्याको बेला हो । पहिले पहिले ८ महिना कर्म गर्ने, चार महिना बसेर खाने प्रचलन थियो । जसमा साउन, भदौ, असोज र कार्तिक बसेर खाने समय हो । यो समयमा चाहिँ बाढी, पहिरो आदि इत्यादी वर्षाको कारणले आउँछ । त्यसो हुँदा घरबाट बाहिर नजाने, तीर्थ नजाने, परदेश नजाने भन्ने खालको परम्परा हो । ऋषिमुनिहरु पनि चतुर्मास बस्दा यहि समयमा बस्ने चलन थियो । वर्षायामबाट हिउँद याम लाग्न लागेपछि यतिबेला सबै जना भेला हुने, वर्षभरीका सुखदुःखलाई एकापसमा साटासाट गर्ने, केही यज्ञ अनुष्ठान गर्ने गरिन्छ । सबै एकैठाउँमा जम्मा भएर गरेको अनुष्ठानले शक्ति दिन्छ । सबैजना एकत्रित भएर कार्यगर्दा मन पनि स्थिर हुन्छ र जुन लक्ष्यका साथ साधना गर्दा कुनै विघ्न नभइ सिद्ध हुन्छ भनेर पनि भन्ने गरिन्छ । यो अनुष्ठान गर्नुभन्दा अगाडि पितृहरुको सम्झना गरिन्छ । किनभने अनुष्ठानको मुख्य पक्ष भनेको शरिर हो । शरिर कहाँबाट आउँछ भन्दा पूर्वजहरुबाट आयो । पूर्वजहरुसँग सम्बन्धित शरिर भएकोले उहाँहरुसँग आज्ञा लिइयो । हजुरको शरिरसँग सम्बन्ध भएको यो व्यक्ति अब यो शरिरको साथमा केही सत्कर्म गर्न गइरहेको छ । हजुरहरुले मलाई सद्बुद्धि र सामथ्र्य प्रदान गर्नुहोस् भनेर पितृहरुलाई स्मरण गरेर अनुष्ठान आरम्भ हुन्छ ।
यो अनुष्ठान कहिलेदेखि भन्दा घटस्थापनादेखि कार्तिक पूर्णिमासम्म हुन्छ । अनुष्ठान आश्विन शुक्लपक्ष पूर्णिमासम्म चल्छ । विजया दशमीपछि एकादशी, दुवादशी, त्रियोदशी, चतुदर्शी, पूर्णिमालाई शरद पूर्णिमा भनिन्छ । त्यहाँबाट कार्तिक दिप दान भनिन्छ । कार्तिक दिप सुरु हुन्छ । यो ४५ दिनको हुन्छ । ४० दिनलाई एक मण्डल भनिन्छ । कुनै पनि अनुष्ठान एक मण्डलमा गर्नुपर्छ । यो ५ दिन बढी किन राखियो भने यसको पूर्वाङ्ग र उत्तराङ्गका लागि राखिएको हो । कार्तिकमा गरिने अनुष्ठानको पूर्व तयारी इष्टदेवको स्मरण नवदुर्गाको शक्तिको उपासना गर्ने । कुनै पनि कार्य गर्नका लागि शरिरको साथमा शक्ति पनि चाहियो । शक्तिको उपासना र यो समय गरेको उपसानाको बल र तेजले एक वर्षसम्म काम गर्ने हो ।
हामीलाई बोल्न, सुन्न, हेर्न, सुँघ्न, हात उठाउनदेखि केही समाउन पनि शक्ति चाहिन्छ । हिंड्न पनि चाहिन्छ । त्यही कारण शक्तिको उपासना गरिएको हो । तर, अहिलेको जस्तो उपासना होइन । उपासना भनेको सबै सम्बन्धलाई परित्याग गरेर केबल शक्तिसँग मात्रै केन्द्रित भएर उपसाना गरियो भने हामीभित्र भएको सबै शक्ति प्रष्फुटन हुन्छ । नभए हामीभित्र रहेको शक्ति विस्तारै लुप्त हुँदै जान्छ । वृक्ष पनि बुढो भयो भने फल लाग्न छोड्छ । हो, त्यस्तै हाम्रो शरिरमा भएको शक्ति पनि जति वृद्ध हुँदै जान्छ त्यति शक्ति कम हुँदै जान्छ । त्यसैले त्यो शक्तिलाई पुनःजगाउनका लागि यो उपासना आवश्यक छ ।
अर्को पक्ष भनेको भगवान् राम लङ्का जानुभयो । युद्ध गर्नैपर्ने अवस्था आयो । भगवान रामले म भगवान् हुँ भनेर कहिल्यै पनि भन्नु भएन । उहाँ राजकुमार हुँ भनेरै हिंड्नु भयो । सामान्य मनुष्यको रुपमा हिंड्नुभएको भगवानले लोकलाई शिक्षा दिनका लागि पनि युद्ध गर्नुभन्दा पनि शक्तिको अनुसन्धान गर्न शक्तिको अनुष्ठान गर्नुभयो । भगवान मनुष्य रुपमा आउँदा शक्ति त लुकेकी थिइन् । भित्र छिपेको थियो । त्यो शक्तिलाई जगाउनु भयो । जगाएर रावणको सम्हार गर्नुभयो । सम्हार गरिसकेपछि विजया दशमीको दिन विजय प्राप्त भयो । त्यो विजयउत्सव नै विजया दशमी भयो । अर्को नवदुर्गा । दुर्गादेवी यो जगतकी शक्ति हुन् । सुम्भ र निसुम्भ हाम्रा शरिरको एक खराव तत्व हो । शक्तिले त्यो खराब तत्वले बिनास गरेर सुतत्वलाई स्थापित गरेको दिन (सुम्भ र निसुम्भ लाई मारेको दिन) लाई पनि यो सम्झना गरिन्छ ।
चैते दसैँ के हो ?
चैतको त्यो पक्षलाई पनि पवित्र पक्ष मानिन्छ । अनुष्ठानको विशेष पक्ष हो । बसन्त ऋतुको आरम्भ । वर्षभरीका छ वटा ऋतुमा चार पटक नवरात्र आउँछ । चारवटा विशेष मुहुर्त आउँछ । एउटा चैतमा, एउटा असारमा, एउटा असोजमा र अर्को पुस अन्तिमदेखि माघको पहिलो हप्तातिर आउँछ । असार र माघलाई गुप्त नवरात्र भनिन्छ । दुईवटा नवरात्र भने स्पष्ट नवरात्र हो । एउटा नवरात्र भनेको भगवान रामले विजय प्राप्त गरेको र अर्को भनेको भगवान रामको प्रादुर्भाव भएको नवरात्र हो । किन चैतको नवरात्र विशेष रुपमा लिइयो भने राजा दशरथले यज्ञको मुहुर्त गरेको र त्यही पक्षलाई भगवानले आफ्नो अवतारको दिन बनाउनु भयो । त्यसकारण त्यो विशेष भयो । अहिलेको नवरात्र भनेको चाहिँ सबै देवताहरुले शक्तिको उपासना गरेको र देवीले सुम्भ र निसुम्भलाई सम्हार गरेको विशेष पक्ष भएको हो ।
रातो टिका र पशु बध
दही र अक्षताको टिका लगाउनु भन्ने शास्त्रमा छ । रातो र सेतो भन्ने कुरा काँही पनि छैन । सामान्यतयाः देवपूजाका लागि अक्षताहरू बनाउँदा त्यो अक्षतामा घिउ र बेसारको मात्रा हुनुपर्छ । त्यसलाई पवित्र मानिन्छ । चाहे धेरै या थोरै त्यो हुनुपर्छ । अर्को सेतो टिका प्रायः गरेर श्रद्धादिमा अति प्रचलित छ । उत्सव भनेको रंगिन हो । खुसी भएर हो । त्यही भएर रातो अक्षताको प्रयोग गरिएको हो । देवीका भक्तहरुले तन्त्र विधिले उपासना गर्छन् । तन्त्र उपासनाले पशुलाई छेदन गर्ने गरिन्छ । मन्त्र उपासनामा पशुलाई छेदन गर्नु अपराध मानिन्छ । जस्तो हामी मन्त्र उपसना गर्छौं । हाम्रो वेदले के भन्छ भने पशुलाई बध गर्नु हुँदैन भन्छ । पशुलाई छोएर मन्साउनु वा छोडिदिनु भन्ने रहेको छ । देवीलाई चढाउने भनेको बोको लगेर देवीको मन्दिरमा लगेर छोडिदिने हो । परेवालाई लगेर छोडिदिनु, कुखुरा, हाँस छोडिदिने, राँगो छोडिदिने हो । तर, तन्त्र उपासना भएको कारण कतिपय मन्दिरहरुमा पशु बध गरिन्छ । हाम्रो समाजमा तन्त्र उपासना हावी भएको छ । यो मिथिला, काठमाडौंको क्षेत्र शक्तिको उपसनाको क्षेत्र भनेको तन्त्र उपसनाको क्षेत्र हो । किनभने यहाँ बौद्धहरुको प्रभाव बढी भएको कारणले हो । जहाँ बौद्धहरुको बढी प्रभाव छ भने त्यहाँ तन्त्र उपासनाको प्रभाव बढी हुन्छ ।
मन्त्र उपासनामा काटमार नगर्ने, धार्मिक अनुष्ठान गर्ने, काटमार नगर्ने र मन्साउने हो । बलिको अर्थ भेटि हो । भेटि चढाउने, छोडिदिने हो । मन्दिरमा लगेर काट्नु भनेको बलि दिनु होइन । तपाईले मलाई केही दिनु भनेको बलि दिनु भन्ने हो । काटेर चढाउनु पर्छ भनेको लोभीहरुले चलाएको परम्परा हो । छोडिदिँदा त पेट भरिने भएन । त्यसलाई लगेर काटिदिएपछि घरमा ल्याएर प्रसाद भनेर पकाएर खान थाले । तन्त्रमा मन्त्रको विपरित हुन्छ । त्यहाँ पशु काट्नै पर्छ ।
अहिलेको दसैँ
आजकाल दसैँमा जुन प्रकारको अनुष्ठान हुनुपर्ने थियो त्यो हराउँदै गएको छ । दसैँमा मोजमस्ती र भोजभतेर गर्ने खालका अनैतिक, व्यभिचारी कामहरु हुँदै गएका छन् । समाजको हितविरुद्ध कार्यहरू धेरै भयो । जस्तोः जुवा, तास आदि खेल्ने गरिन्छ । त्यो दसैँको संस्कृति होइन । पहिले अनुष्ठान पक्ष प्रधान थियो । अहिले खानपान, मोजमस्ती र नगर्ने कामहरु गर्ने पक्ष बढेर गएको छ । पहिले विजय दशमी एक दिन मात्रै मनाउने गरिन्थ्यो । एक दिनमा नभ्याएर पाँच दिन मनाउन थालिएको हो । त्यसकारण हामी आजकाल पूर्णिमासम्म मान्यजनको हातबाट आशिर्वाद लिने गर्दछौं । मान्यजनहरुले शक्तिको उपासना गरेर शक्ति प्राप्त गर्नुभएको छ । उहाँहरुले दिएको आशिर्वाद र प्रसादले उर्जा दिन्छ भन्ने शास्त्रसम्मत कुरा हो ।
व्यवहार पक्ष हेर्ने हो भने यो उत्सवले दशौं वर्षसम्म छुटेका व्यक्तिहरु पनि भेटिन्छन् । फर्केर आउँछन् । भेटघाट हुँदा आ–आफूले गरेका काम र जानेका कुराहरु एकापसमा अनुभव साटासाट गर्ने गर्दछ । हिंजोको दशैंले समाजलाई जोड्ने काम गर्दथ्यो । आज सामाजिक सञ्जालले समाजलाई भाँड्ने काम गरिरहेको छ । हिंजो मधेशमा बसेको व्यक्ति घरमा ताला लगाएर भएपनि गाउँको स्वच्छ वातावरणमा गएर बस्ने गर्दथे । तर, अहिले त्यस्तो चलन हराउँदै गएको छ । तर, यो पर्व तागाधारीको मात्रै होइन, मगर, लिम्बूहरुको पनि यही अवधिमा विशेष पर्वहरु पर्छन् । यो सबै वर्ग, जातिहरूको साझा पर्व हो ।
(विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरका मठाधिश अच्युत प्रपन्नाचार्यसँगको कुराकानीमा आधारित)