विराटनगर । लोहजरनी सदाको अहिले दैनिकी फेरिएको छ । दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने उनी अहिले काम नपाएको समयमा पुजापाठ गरेर नै दिन बिताउने गरेकी छन् । पुजापाठ सधै गर्ने उनी दशै सुरु भएपछि विहानदेखि नै पुजापाठ गर्ने गरेकस् छन् । नवमी दशमीमा सधै चोखो रहि पुजा गर्ने गरेकी उनले भनिन् – ‘हामी त मेला लागे घुमेर नै चित बुझाउने गरेकी छु ।’
नयाँ लुगा लगाउने रहर भएपनि आर्थिक अभावले उनले किन्न सकेकी छैनन् । ‘नयाँ लुगा नभए पनि पुजा गर्ने चलन रहेको छ’ उनले भनिन्, ‘बच्चाहरुले दशैमा लाग्ने मेला र सांस्कृतिक कार्यक्रम नाच हेरेर मनाउने गरेका छन् ।’ दशैं अवधिमा माछामासु नखाने चलन रहेको मधेशी समुदायका विपन्नहरु मेला घुमेर नै दशैं मनाउने गरेका छन् । यतिखेर कुनै काम नहुने भएकोले दशैंमा सोचेजस्तो केहि गर्न नसकिने बची मण्डलले बताए ।
भर्खर खेती सकेर बैसारी छ, उनले भने– ‘देश र परदेशमा काम गर्नेहरु नयाँ लुगा किन्ने र बोका खसीको बली दिने चलन रहेको छ ।’ दशैं मनाउनका लागि कर्जा खोज्ने काम नहुने र भगवतीको आरधना नै गरेर समय विताउने गरेको उनले बताए । अरु पटकभन्दा धेरै समस्या यस पटक भएको मण्डलले बताए । वर्षा भएकाले घरमा लगाएको तरकारीका सबै बोट सखाप बनाएको स्थानीय गुजाई मण्डलले बताए । यतिखेर मजदुरी गर्न पनि नपाउँदा बेखर्ची भएकोले दशैं दशा बनेको उनको भनाइ छ । मजुदुरी गरेर घरपरिवार चलाउनले भएकाले मजदुरी गर्न नपाएपछि मेला हेरेर नै चित्त बुझाउँने गरेको उनको भनाइ छ ।
मजदुरी गरेर गुजारा चलाउने सबैको अवस्था उहि हो । उनीहरुलाई दशैं आउँदा अन्य समयमा भन्दा गुजारा चलाउन नै समस्या हुने गरेको छ । ‘जुन ठाउँमा जे मजदुरी पाउँछौँ, त्यसबाटै साँझ बिहानको खर्च मुस्किलले जुटेको छ,’ राधिका सहनीले भनिन्, ‘दशैं आएको छ, मिठोमसिनो खाने, नयाँ लुगा किन्ने क्षमता नै छैन ।’
दशैं धुमधामसँग मनाउन धेरै ठाउँमा कर्जा खोज्न गएपनि नपाएको उनी बताउँछिन् । हिउँदमा मजदुरी गरेर कर्जा तिर्छु भनेर धेरै ठाउँमा पुगे, कतैबाट पनि कर्जा पाइएन,’ उनले भनिन्, ‘तिर्ने आधार के हो भनेर सोध्छन्, कसैले पनि कर्जा दिन मानेका छैनन् । कसरी दशैं मनाउने ?’ स्थानीय मण्डला सदाले मिठोमसिनो खाने, परिवारका लागि नयाँ लुगा किन्ने, वर्षमा एकपटक भए पनि मासु खाने इच्छा भएपनि पुरा गर्न सक्ने अवस्था नरहेको बताए । ‘हाम्रो पनि थियो । इच्छामै सीमित भएको छ,’ उनले भने ।
‘वर्षमा एकपटक किनेको लुगासमेत फाट्न लागेको छ । तर, नयाँ किन्न सक्दैनौं,’ उनी भन्छन्, ‘टालटुल गरेर लगाउन विवश छौँ ।’ बस्ती नजिकैका गाउँमा दशैँको रौनकले छपक्कै ढाकेको भएपनि दशैँ के गरेर मनाउने भन्ने पीरलोमै उनीहरु बस्न बाध्य छन् । छोराले पञ्जावबाट पठाएको रकमले काम नपाएको बेला दुई छाक खाने गरेको स्थानीय राम मण्डलले बताए । ‘साँझ बिहानको छाक टार्न धौ–धौ पर्ने अवस्था छ, मिठो खाने र राम्रो लाउने त हाम्रोलागि सपना नै हो’ उनले भने, ‘चाडपर्व पनि हुनेखानेका लागि रहेछ । हामीले चाडपर्व मान्ने अवसर नै पाउँदैनौं ।’
तराईका विपन्न वर्गले घरमा नियमित पुजापाठ गरेर दशैं मनाउने गरेका छन् । उनीहरुले मिठोमसिनो खाने भनेको काम गर्ने साहुजी वा ईष्टमित्रले घरमा आयोजना भोजमा सहभागी भएको अवस्थामा मात्र हो ।