पुण्य पी अधिकारी
०८१ असार २५ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् व्यवस्थापन पोर्टलको शुभारम्भ आफ्नै मन्त्रालयमा गर्नुभयो । प्रदेश सरकारलाई सघाउने र प्रदेशभरीको विपदका सूचना तत्कालै प्रदेशवासीलाई दिने उद्देश्यले प्रदेश सरकारलाई निजी क्षेत्रबाट भरथेग हुने प्रस्तावलाई प्रदेश सरकारले पत्याएर मुख्यमन्त्रीले विपद् पोर्टलको शुभारम्भ गर्नु भएको थियो ।
सङ्घीय सरकारले दिँदै आएको विपद्को सूचना प्रदेश सरकारले दिनु आँफैमा सुन्दर पक्ष हो । तर, व्यवहारमा भने नेपाली उखानसँग ठ्याक्कै मिल्न गयो, प्रदेश सरकारको विपद् पोर्टल । नेपालीमा एउटा उखान छ ‘रित्तो भाँडा बढी बज्छ’’ भयो पनि त्यस्तै ।
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेको सुरूआत भएको मनसुनजन्य विपद् अझै आलै छ । मौसम विदहरूले असोज १७ गतेसम्म कोशी प्रदेशमा उच्च वर्षा हुने बताएका छन् । मनसुनजन्य प्राकृतिक प्रकोप सुरूआत कै अवस्थामा कोशी प्रदेशमा नागरिकले बाढीपहिरोमा परेर ज्यान गुमाउनु परेको थियो ।
असोज १० गतेदेखिको वर्षाले प्रदेशमा उत्पात क्षति पु¥याएको छ । मेची राजमार्ग अवरूद्ध हुँदा हजारौँले सास्ती खेप्नु परेको छ । खोटाङ, सोलुखुम्बुको तराईसँगको सिधा सम्पर्क हुने फोक्सिङटार पुल बगाएपछि त्यसले समस्या भएको छ । भोजपुरलगायतका जिल्लामा सडक अवरूद्ध भएका छन् । यस पटकको विपद्मा १६ जना बढीले ज्यान गुमाउनु परेको छ । विद्यालय भवन, सवारीसाधनसहित अन्नवाली र भौतिक संरचनामा ठूलो क्षति पुगेको छ ।
तर, विपद्को समयका लागि काम दिने भनेर आशा गरिएको प्रदेश विपद् पोर्टल भने अफ्ठ्यारो परिस्थितीमा चल्न नसक्दा त्यसले सरकारका मन्त्रीहरूलाई कुरीकुरी बनाएको छ । शुभारम्भ गर्नु वा उद्घाटन गर्नु महत्वपूर्ण विषय होइन, त्यसको नियमन गर्नु वा त्यसको प्रभावकारिता जाँच्नु सबैभन्दा महत्वपूर्ण विषय हो भन्ने पाठ सिकाएको छ ।
कोशी प्रदेशमा विपद्का समयमा तीव्र ढङ्गले प्रदेशवासीलाई विपद्को सूचना दिने प्रदेश सरकारको सोच निक्कै स्वच्छ छ । तर, साजसजावट वा रङ्गरोगनले मात्र टिलिक्क टल्किएको बन्दुक भिडन्तका बेलामा पड्कदैँन भने त्यो बन्दुकको कुनै अर्थ रहँदैन । कोशी प्रदेश सरकारको विपद् पोर्टल पनि भिडन्तका बेला नपड्किने बन्दुक सावित भएको छ ।
कोशी प्रदेश सरकारले सुरूआत गरेको प्रदेश विपद् पोर्टल प्रदेश सरकारले परीक्षण गर्नुअघि नै प्रकृतिले परीक्षण गरेको छ । जसका कारण कोशी प्रदेश सरकारका प्रमुखहरूको काममाथि प्रकृतिले नै पहिले परीक्षण गरेको छ । अन्त्यमा सुरूआत वा शुभारम्भ गर्नुभन्दा त्यसको प्रभावकारितालाई बेलाबेला जाँची राख्नु प्रदेश सरकारको मुख्य जिम्मेवारी हो भन्ने पाठ सबैलाई सिक्न अन्त्यत जरूरी छ ।