मणि दाहाल
राजनीति निस्वार्थ समाज सेवा हो । राजनीतक अभियान्ताहरु समाजसेवी हुन् । उनीहरु नै सामाजिक चेतनाका बाहक हुन् । नैतिकपूर्ण जीवन पद्धतिका सिर्जनाकार हुन् । च्याउसरी उम्रिएका एनजिओकर्मी, अनेकांै नामका अधिकारकर्मी, सामाजिक अभियान्ता हैनन् । उनीहरु पेशाकर्मी हुन् । सेवाको नकाबको पेशा उनीहरुको धर्म हो । तर समाजले राजनीतिलाई सेवा र राजनीतिकर्मीलाई सेवक मानेन । यो गलत सामाजिक मान्यता हो । सामाजिक मान्यताको यहि गलत परिवेशले राजनीतिलाई विकृत बनाएको छ ।
व्यक्तिगत महत्वकांक्षा तथा सत्ता लम्पट प्रवृत्तिले राजनीतिलाई पेशा बनाएको पक्कै हो । राजनीतिको बर्कोमा हुने पथभ्रष्टताले आमनैरास्यताको अवस्था पनि पक्कै हो । तर के राजनीतिकर्मीहरु सबै पेशेवर मात्र छन् त ? निष्ठापूर्ण राजनीतिकर्मीहरुको जमात छैन त ? पक्कै छन् । निष्ठापूर्ण राजनीतिक अभियानमा जीवन बिताउने इमान्दार राजनीतिज्ञहरु धेरै छन् । तर बलेको आगोमात्र ताप्ने सामाजिक चेतनाले इमानको पहिचान गर्न सकेको छैन । मिडिया इमानको पहिचान भन्दा शक्तिको वरिपरि केन्द्रित छ । यस्तै गलत सामाजिक परिवेशले सबै राजनीति निरासाको वस्तु बन्यो ।
राजनीतिक दलहरुमा हाबी निर्लज्ज पात्रहरुको घेराबन्दीले राजनीति पेशा बन्यो । सत्तास्वादको उदण्डता र पथभ्रष्टता राजनीतिको मर्म बन्यो । विधि, विधान, नैतिकता र अनुशासन कुनैबाट पनि निर्देशित हुनु नपर्ने मैमत्त प्रवृत्तिको विकास गरायो । समाज सत्ताको मात्र पुजारी बन्यो । राजनीतिक दलहरु सरकार र सत्ता भन्दा बाहिर बस्नै नसक्ने भए । जुन कारण आजको दयनीय परिवेश हो ।
राजनीतिमा गलत पात्र हाबी भएपछि राजनीति पेशा बन्छ । पेशेवर राजनीतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, शिक्षा, स्वास्थ्य, सहकारीलगायत अनेकांै क्षेत्रका माफियाहरुसँग मितेरी गाँस्छ । माफिया संजाल सेवाको आवरणमा नागरिक समाजको भेषमा उदाउँछ । उदाउने वातवरण एक्कासी बन्दैन । अनेकौं दुर्भाग्यपूर्ण खेलहरुपछि मात्र राजनीतिमा माफिया सल्बलाउने वातवरण निर्माण हुन्छ । हाम्रा राजनीतिक दलहरुमा पनि माफिया संजाल एक्कासी सल्बलाएको हैन ।
२०४८ अघि र त्यसपछि पनि हाम्रो राजनीतिले अनेकौं दुर्भाग्यपूर्ण सृङ्खलाहरुको सामना गर्दै आयो । दाशढुङ्गा हत्याको दुई वर्ष नबित्दै २०५२ भदौ १२ को अदालती प्रक्रिया तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई अस्पतालको शैय्याबाट अपदस्त गरियो । त्यसपछिका दिनमा देश माफियाको साम्राज्य बन्यो । प्राडो, पजेरो, सुरासुन्दरीलगायतका अनेकांै फोहोरी खेलले राजनीति बदनाम भयो । माननीयहरु किनबेचका वस्तु बने । जनजीविका कष्टकर बन्यो । देश जबरजस्त युद्धमा होमियो । दरबार हत्याकाण्डदेखि ज्ञानेन्द्रको सैनिक ‘कू’ सम्मको तीतो यथार्थ स्वीकार्न बाध्य हुनु प¥यो । २०६२—६३ को जनक्रान्तिको अवतरणपछि पनि सृङ्खला रोकिएन । जातीय अतिवाद र एकल लैङ्गिक संकिर्णतावादले शिर ठाडो बनाउने वातावरण निर्माण ग¥यो । राज्य र राजनीतिमा हाबी गलत पात्र र प्रवृत्ति यो दुःखद श्रृङ्खलाको मूल कारक हो ।
पत्रहरुका अनेकौं भुलको चर्को मूल्य राष्ट्रले चुकाउँदै आएको छ । लैङ्गिक समानताको नाममा एकल लैङ्गिक संकिर्णतावाद र जातीय अतिवादले शिर ठाडो बनाएको छ । वर्गीताको भावना तहसनहस भएको छ । वर्गीय विभेद चुलिँदो अवस्थामा छ । पूर्वाधारविहीन नश्लीय आरक्षणले आरक्षित वर्गको अधिकारलाई सुनिश्चित गर्न सकेको छैन । जसका लगि आरक्षण थियो त्यसको आँगनमा पुग्न सकेको छैन । सहरका टाठाबाठा र पहुँचवालाको गोजीमा आरक्षण सीमित भएको छ । विविधता भित्रका असन्तुष्टिहरु जस्ताको त्यस्तै अवस्थामा छन् । वर्गीय तथा जातीय विभेद चुलिदै छ । अपराधको संजालले राजनीतिलाई निर्देश गरेको छ । यस्ता सबै परिघटनाका घटनाकार राज्य र शासन प्रणालीमा हाबी गलत पात्र नै हुन् । ती पात्रहरुको संंरक्षक राजनीतिक दलहरु मात्र हैनन् । हाम्रो समाज पनि हो । तर, हामीले नैतिक रुपमा जिम्बेबार बन्ने चेतको विकास गर्न सकेका छैनौं । दोष अरुमाथि थोपरिरहेका छौं ।
पात्रले गल्ती गर्ने अनि जनताले प्रायश्चित गर्ने हाम्रो परम्परा नै बनेको छ । बारम्बार प्रायश्चित गर्ने र सोही पात्र र प्रवृत्तिलाई आममाफि दिने प्रचलन पनि संस्कारकै रुपमा विकास भएको छ । जनताले सबै दिएका छन् । आन्दोलनमा सडकमा उत्रिए । दलहरुले बहुमत मागे बहुमत दिए । बहुमतले मात्रले भएन दुई तिहाई चाहियो भने त्यो पनि दिए । तर, जनताले जे दिए शासकले त्यसलाई बाँदरको हात्तमा नरिवल बनाए । जनताको उपहार शासकका परिवार र सीमित आसेपासे अनि हुक्के बैठकेहरुको बरदान साबित भयो । नेतृत्वको भष्मासुर प्रवृत्ति संस्कारहीनता र असहिष्णुले राजनीतिलाई बन्धक बनायो ।
कमजोर नैतिक धरातल, यथास्थितिवादी परिवेश र अर्धचेतनको समाज आम अराजकताका मुहान हुन् । अज देश काण्डै काण्डमा रुमलिएको छ । शरणार्थी काण्ड, बालुवाटार काण्ड, यति–ओम्नी र वाइडबडी काण्ड, सेक्यूरिटी प्रेस खरिद काण्ड, टिकापुर जग्ग्गा घोटला काण्ड, गिरिबन्धु काण्ड, सुन तस्करी काण्ड । डेडिकेटेड ट्रंक लाइनको २१ अर्ब विद्युत महशुल मिनाहाको लागि आठ अरबको सेटिङ काण्ड । सहकारी काण्ड, अर्थात राज्यका तीनै तहमा आसिन राजनीतिक पात्रदेखि सार्वजानिक प्रशासकसम्मका अनगिन्ती काण्डै काण्ड मात्र छन् । तर, लज्जाबोध छैन । नैतिकताबोध छैन । यस्ता कुरामा पनि समाज ठिक र बेठिकमा बाँडिएको छ । गलत पात्रलाई राजनीतिक दलले संरक्षण र समाजले पनि सम्मान गर्दै छ । यसको कारक सामाजिक चेतना र परिवेश हो ।
विचार शून्यताले नैतिक विमुख बनाउँछ । आजको राजनीतिक कार्यभारबाट बिमुख छ । सिद्धान्तबाट बिचलित छ । दुर्गन्धित भेलका दूषित किटाणुहरु राजनीतिको संरक्षणमा छन् । तर, जनता यो वा त्यो बाहानामा तिनै दूषित जीवाणुलाई अनुमोदन गरिरहेका छन् । जनताको कमजोर चेतनाको धरातललाई ढाल बनाएर सीमित अभिजात्य वर्गले राज्यमा लुट मच्चाएको छ । यसको जिम्मेवार राजनीतिक दल मात्र हैनन्, सामाजिक चेतना पनि हो ।
राष्ट्रिय रुपमा मूल प्रवाहीकरण भैसकेका जिम्मेवार दलहरुले अझै पनि आफूलाई सुधार्न आवश्यक ठानेका छैनन् । निर्वाचनदेखि निर्वाचनसम्मको दिनचर्याले दलहरुका न्युनतम मूल्य मान्यतासमेत बिस्थापित बनेका छन् । राजनीतिक जित हँुदामात्र निर्वाचनको जितको अर्थ हुन्छ भन्ने सामान्य मान्यतासमेत दलहरुले त्यागेका छन् । दलहरुले बारम्बार चुनाव जित्दै आए । तर, समाज रुपान्तरण किन हुन सकेन ? सम्वृद्धि, सुशासन र समाजवादका ढोकाहरु किन बन्धक बने ? कारण नखोज्ने ? निरास र चिन्ता अराजकतामा परिणत भयो भने हालत के हुन्छ ? नवमाहाराजहरुको चेतको बिर्को कहिले खुला ?