स्थानीय तहको उपनिर्वाचनका लागि मंसिर २ गते उमेदवारी दर्ता

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनका लागि आउँदो मंसिर २ गते उमेदवारी दर्ता गरिने भएको छ ।

मंसिर २ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयनपत्र दर्ता गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

बिहीबार आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । त्यसानुसार मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिनेछ । मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरिनेछ । सोही दिन बेलुका ५ देखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको नामावली प्रकाशन गरिने जनाइएको छ ।

मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारको नाम फिर्ता लिने आयोगको कार्यतालिका छ । सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन उमेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

बिहिबार, १० असोज, २०८१, दिउँसोको ०२:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर