कुलमान र उपसभामुखको विषयमा सरकारले गलत गर्न खोज्यो : डा.कोइराला

विराटनगर । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले ठूला दलको गठबन्धनले निरंकुशता आउने संभावना रहेको भन्दै कुलमानको इस्युमा त्यहि देखिएको बताएका छन् ।

वक्यौता लिनुपर्छ भनेर घिसिङले पहल गर्दा अर्बौं रुपैयाँ वक्यौता भएकाहरुको लाइन जोड्न निर्देशन दिने अनि ३० रुपैयाँ नतिर्नेहरूको लाइन काट्ने काम गलत भएको भन्दै कोइरालाले आफूहरुकै पहलमा कुलमानमाथिको कार्वाही रोकिएको पनि बताए ।

‘नेपाली कांग्रेसका साथीहरूको भूमिकाले रोकिएको हो नि’ उनले भने, ‘प्रधानमन्त्रीजीले अब नगर्नु होला नि त गलत काम ।’ सुशासन गफ गर्ने विषय नभएको भन्दै उनले जनताले महशुस गर्नेगरि र देखिनेगरी सुशासन हुनुपर्ने बताए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कोइरालाले राजनीतिक स्थिरताको निम्ति ठूला दल मिल्नुपर्छ भन्ने धारणा आफूले राखेको भएपनि सरकारले जनअपेक्षा अनुसार गति नलिएको टिप्पणी गरे । कुलमान र उपसभामुखको विषयमा सरकारले चाल्न खोजेको कदम गलत भएको भन्दै उनले बहुमतको शक्ति पुग्छ भन्दैमा जे पनि गर्ने कुरा स्पीकार गर्न नसकिने बताए ।

‘हामी बिर्सन्छौँ, जब सुशीला कार्की प्रधानन्यायाधीश हुनुहुन्थ्यो । बिना गल्ती महाअभियोग लगाइदियौँ’ उनले प्रश्न गरे, ‘कांग्रेस–एमालेको शक्ति पुग्छ भन्दै महाअभियोग लगाइदिने ?’ उपसभामुखलाई महाअभियोग लगाउने कुरा एकदमै गलत भएको भन्दै उनले महाअभियोग त्यति सस्तो नभएको बताए । पार्टीका सभापति र अन्य नेताहरुसँग कुरा गरेपछि त्यो रोकिएको उनले बताए ।

सरकारको कामले गति नलिएकोप्रति आफू चिन्तित रहेको भन्दै कोइरालाले यसबारे पार्टी सभापति र प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका छन् । ‘जसरी यो सरकार अहिले जाँदैछ, त्यसले गति लिन सकेको छैन कि जस्तो देखिन्छ’ उनले भने, ‘संविधानका सुधारका ७ बुँदे सहमति भएको छ । तर, अगाडि बढ्न सकेको देख्दिनँ म ।’ हुने विरूवाको चिल्लो पात जस्तो भइरहेको नदेखेको भन्दै उनले सुरुमा अर्थतन्त्र चलायमान हुन्छ भन्ने लागेको भएपनि अहिले निराशाजनक अवस्था देखिराखेको बताएका छन् । सुशासनको कुरा गर्दा सचिवहरू कसरी सरुवा भइरहेका छन् भन्ने प्रश्न रहेको उनको भनाइ छ ।

संविधानलाई धेरै तोडमोड गर्नु नहुने बताउँदै कोइरालाले समावेशी, समानुपातिक चरित्रलाई डाइल्युट नगरीकन संविधान संशोधन गर्नुपर्ने बताएका छन् । निर्वाचन प्रणाली, न्यायपालिकामा न्यायपरिषद्को संरचनालाई परिवर्तन गर्नुपर्ने आवश्यकता देखेको उनको भनाइ छ । निर्वाचन प्रणाली समानुपातिक, समावेशी चरित्रलाई डाइल्युट नगरीकन समानुपातिकको ४० प्रतिशत घटाएर प्रत्यक्षमै ३३ प्रतिशत महिला र १४ प्रतिशत दलित सिट रिजर्व गर्न सकिने उनले बताए ।

संघीयता चाहिने भन्दै उनले तर अहिलेको नेतृत्वले अधिकार दिन नचाहेको बताए । ‘राज्य सञ्चालन गर्ने नेतृत्व कांग्रेसको होस्, माओवादी होस्, एमाले होस्, उहाँहरू नै अधिकार तल दिन खोजिरहनुभएको छैन’ उनले भने, ‘तल अधिकार नदिने हो भने संघीयता हटाइदिए हुन्छ । न त प्रहरीलाई अधिकार दिएको छ, न त कर्मचारीहरुलाई । ९ वर्ष भइसक्यो संविधान आएको अहिलेसम्म अधिकार नदिने हो भने कसरी चल्छ संघीयता ?’

मुलुकको भयावह अवस्था देखिरहेको बताउँदै कोइरालाले छिमेकी मुलुकको भयावह स्थिति यहाँ पनि कता कता देखिरहेको टिप्पणी गरेका छन् । आर्थिक चलायमान नभएको र सुशासन नरहेको भन्दै उनले भ्रष्टाचारलाई कार्पेटमुनि लुकाइएको दावी गरे । ‘यसरी धेरै दिन टिक्दैन’, उनले भने, ‘जनता कति आक्रोशित छन् भन्ने कुरा देखिइरहेको छ ।’

सहकारी काण्ड छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने उल्लेख गर्दै कोइरालाले धनराज गुरुङको केसमा उनलाई नभएर श्रीमतीलाई मुद्दा चल्ने आफ्नो बुधाई रहेको बताए । रविजीको विषयमा पनि सूर्य थापाको अन्तर्वार्ता हेर्दा केहि गर्न सकिने नदेखेको उनले उल्लेख गरे । ‘धेरै केही गर्नसक्ने जस्तो छैन, उहाँले जुन अन्तर्वार्ता दिनुभएको छ’ उनले भने, ‘सरकारले कसरी लिएर जान्छ त्यो त हेर्नुप¥यो नि त ।’

मङ्गलबार, ०८ असोज, २०८१, दिउँसोको ०४:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर