विराटनगर । सामुदायिक शिक्षामा हरेक वर्ष १२ करोड रुपैयाँ भन्दा बढी लगानी गर्दै आएको मोरङको कटहरी गाउँपालिकाको सिकाइ उपलब्धी अति निराशाजनक पाइएको छ । आधारभूत तहको शिक्षामा कटहरी गाउँपालिकाको उपलब्धी खस्किँदै गएको पाइएको हो ।कटहरी गाउँपालिकामा १९ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । गत शैक्षिक सत्र २०८० को स्तरमापन परीक्षा र एसईई परीक्षाको नतिजा विश्लेष्णबाट कटहरीको उपलब्धी निराशाजनक पाइएको हो ।
गाउँपालिकाको शिक्षा शाखाले विद्यालयको नतिजा अध्ययन गरेपछि सार्वजानिक गरेको अवधारणपत्र अनुसार यहाँको सामुदायिक विद्यालयहहरुको शैक्षिक गुणस्तर सन्तोषजनक नभएको बतायो । कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीको घर भएको वडा कटहरी २ स्थित महेशपुर आधरभूत विद्यालय बाहेक सबै विद्यालयको औसत सिकाइ उपलब्धी ३५ प्रतिशत भन्दा कम अर्थात फेल हुने विद्यार्थीको संख्या अत्यधिक रहेको पाइएको छ । जुन कटहरीको शिक्षाको विकासका लागि अत्यन्त चुनौतीपूर्ण सूचक रहेको गाउँपालिकाले नै सार्वजनिक गरेको अवधारणा पत्रमा उल्लेख छ ।
विराटनगर महानगरपालिकासँगै जोडिएको पालिका भएर पनि शिक्षाको अवस्था निराशाजनक रहेको पाइएको हो ।गाउँपालिकाले गतवर्ष लिएको कक्षा पाँचको वार्षिक परीक्षाको नतिजा विश्लेषण गर्दा विज्ञान र कक्षा ८ मा गणित विषयमा कुनै पनि विद्यालयले औसत सिकाइ उपलब्धी ३५ प्रतिशत प्राप्त गर्न नसकेको पाइएको हो ।
यहाँका सामुदायिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणमा गणित र विज्ञान विषय माथिको अध्यापन, शिक्षणशैली, पाठ्यक्रम परिपालना आदि कार्यमा निकै कमजोरी देखिएकोे कटहरी गाउँपालिकाका शिक्षा शाखाका अधिकृत द्रोणप्रसाद पोखरेलले बताए । उनका अनुसार गणित र विज्ञान विषयमा अधिकांश विद्यार्थी कमजोर रहेको पाइएको छ ।
गाउँपालिकाभित्र रहेका १६ वटा आधरभूत विद्यालयको कक्षा ५ को वार्षिक परीक्षामा ३.७ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका थिए । ३५२ जना विद्यार्थीले दिएको परीक्षामा १३ जना मात्रै विद्यार्थी उत्तिर्ण भएको गाउँपालिकाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । कक्षा ५ को परीक्षामा ३३९ जना विद्यार्थी फेल भएको अभिलेखमा देखिन्छ । त्यसैगरी कक्षा ८ को परीक्षामा पनि विद्यार्थी उत्तीर्ण हुने दर अत्यन्त न्यून पाइएको छ । कक्षा ८ मा २४४ जना विद्यार्थीले परीक्षा दिएकोमा ५ जना विद्यार्थी मात्रै उत्तीर्ण भएको अभिलेख गाउँपालिकाले सार्वजनिक गरेको छ ।
कटहरी गाउँपालिकाभित्र १९ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेकोमा १० वटा विद्यालयले कक्षा पाँचको परीक्षामा एकै जना विद्यार्थी पनि उत्तीर्ण गराउन सेकनन् । यसरी एक जना विद्यार्थी पनि उत्तिर्ण नहुने विद्यालयहरुमा कटहरी ६ मा रहेको श्री लक्ष्मी आधरभूत स्कुल, कटहरी ७ मा रहेको श्री अम्बर आधरभूत विद्यालय, कटहरी ५ मा रहेको श्री रामजानकी आधरभूत विद्यालय, कटहरी ७ मा रहेको श्री जनता सेकेण्डरी स्कुल, श्री राधाकृष्ण आधरभूत विद्यालय, कटहरी २ मा रहेको श्री सरस्वती शिशु सदन, कटहरी ६ मा रहेको श्री भगवती आधरभूत विद्यालय, सोही वडामा रहेको सरस्वती आधरभूत विद्यालय, कटहरी ४ मा रहेको श्री भगवती आधरभूत विद्यालय छन् । ती विद्यालयबाट परीक्षा दिएका कक्षा ५ का एकै जना विद्यार्थीले माथिल्लो कक्षामा प्रवेश पाएनन् ।
त्यसैगरी कक्षा ८ को परीक्षामा पाँच वटा विद्यालयको नतिजा शून्य रहेको पाइएको छ । कटहरी ६ मा रहेको श्री प्रजातन्त्र आधरभूत विद्यालय, श्री लक्ष्मी स्कुल, कटहरी ३ मा रहेको श्री जनप्रिय सेकेण्डरी स्कुल, कटहरी ६ मा रहेको श्री सुन्दर स्कुल र श्री भगवती स्कुलको नतिजा शून्य रहेको छ ।
त्यसैगरी एसईईको परीक्षामा पनि उत्तीर्ण हुने विद्यार्थीको संख्या न्यून रहेको छ । कक्षा दशसम्म पढाई हुने कटहरीमा तीन वटा विद्यालय रहेको छ । जनप्रिय माविबाट ६८ जनाले दिएको एसईईको परीक्षामा ५ जना मात्रै उत्तीर्ण भएका छन् । त्यस्तै जनता माविबाट ८६ जनाले दिएको ८ जना र प्रजातन्त्र माविबाट ३२ जनाले दिएकोमा १ जना मात्रै उत्तीर्ण भएका छन् ।
विद्यार्थीहरु नियमित विद्यालय नआउँदा गुणस्तर खस्किएको गाउँपालिका शिक्षा शाखा प्रमुख द्रोणप्रसाद पोखरेलले बताए । कटहरीको मात्र नभएर अन्य पालिकाको सामुदायिक विद्यालयको नतिजा पनि उस्तै रहेको उनले बताए । शिक्षकहरुले पूर्ण लगनशीता र समर्पण भावनाले शिक्षण नगर्दा नतिजा खस्किने गरेको उनले बताए । ‘अहिले पनि शिक्षण विधिमा विविधता अपनाउनु पर्नेमा त्यसो नगरी परम्परागत शिक्षण विधि र प्रक्रियानै अपनाइदा विद्यार्थीको शिक्षण सिकाइमा कमजोरी भएको छ,’ उनले भने, ‘अहिले पनि पालिकाभित्रको विद्यालयमा पर्याप्त विषयगत शिक्षकको दरबन्दी नहुनु पनि एउटा समस्या रहेको छ ।’
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले शिक्षण सिकाइमा नवीनतम् विधिहरुको प्रयोग गरी विद्यार्थी केन्द्रित विधिहरु अवलम्बन गरेर अगाडि बढ्न निर्देशन दिएको बताए । ‘शिक्षकहरुले योजनाबद्ध रुपमा शिक्षण नगर्नु र आवश्यकतानुसार समय अनुकुल अनुसन्धान नगर्दा पनि शैक्षिक गुणस्तर खस्किएको छ । यसलाई आगमी दिनमा सच्याएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिका लागि परेको छ,’ अध्यक्ष चौधरीले भने, ‘प्रत्येक विद्यालयका प्रधानध्यापकसँग कार्यसम्पादन मुल्यांकन गरेर पालिका अगाडि बढनेछ ।’
पालिकाभित्र १९ वटा विद्यालयका १४० जना शिक्षकको दरबन्दी रहेको छ ।