विराटनगर । प्रदेशसभा सदस्य गोम्बु शेर्पाले सोलुखुम्बु जिल्लामा सञ्चालित हाइड्रो पावर कम्पनीहरुको लापरवाहीका कारण स्थानीय नागरिकहरु जोखिममा परेको विस्थापित हुने अवस्था आएको बताएका छन् ।
प्रदेशसभाको आजको बैठकमा बोल्दै सांसद शेर्पाले हाइड्रो पावर कम्पनीहरुले मापदण्ड अनुसार निर्माणको काम नगरेकै कारण निर्माणस्थल छेउका बस्तीहरु पहिरोको जोखिममा परेको बताएका हुन् । उनले भने ‘सोलुखुम्बुका धेरै वटा खोलाहरुमा हाइड्रो पावर निर्माणको काम भइरहेको छ । यो देशको समृद्धिको हिसाबले राम्रो हो । तर, कतिपयले मापदण्डविपरीत, जनताको जीउधनको सुरक्षालाई ध्यानमा नराखेर निर्माण गर्दा जटिलता उत्पन्न भएको छ ।’
उनले सोलुखुम्बुको सोलु दुधकुण्डको ७ र ११ को सिमानामा रहेको साल्मे बस्तीमा हाइट्रो पावर कम्पनीको लापरवाहीकै कारण पहिरोको उच्च जोखिममा परेको र स्थानीयहरु बस्न नसक्ने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए । त्यहाँ अपर सोलु हाइड्रो पावरले विद्युत उत्पादनको काम गरिरहेको छ । जथाभावी उत्खनन् आदि कार्यले पहिरो जाने जोखिम बढेको र त्यहाँका २०÷२५ घर तत्काल अन्यत्र सार्नुपर्ने अवस्थामा रहेको उनले बताए । सांसद शेर्पाले त्यहाँका नागरिकलाई सरकारले पुनर्वास गर्ने, उनीहरुको जीवन बिमा गरिदिने र स्वास्थ्य बिमा गराउने काम सरकारले गर्नुपर्ने माग गरेका हुन् ।
यसैगरी सांसद शेर्पाले महाकुलुङ ४ मा पनि एपेक्स मकालु हाइड्रोले निर्माण गरेको हाइड्रो पावरकै कारण स्थानीय जनता पहिरोको चपेटामा परेको र हाइड्रोसँग पटक पटक स्थानीय जनताले गरेको सहमति पालना नभएको बताएका छन् । उल्टै प्रशासनको धम्की दिएर नागरिकलाई पेल्ने काम गरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले उक्त सहमति पालना गराउन र स्थानीयवासीको जीवन रक्षा गर्दै धनजनको क्षति हुन नदिन सरकारसँग माग गरेका छन् ।