झापाका पुराना कम्युनिष्ट लोकबन्धु कन्दङ्वा माओवादीमा प्रवेश

विर्तामोड । झापाका पुराना कम्युनिष्ट योद्धाका रुपमा परिचित लोकबन्धु कन्दङ्वा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आइतबार बिर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमकाबीच कन्दङ्वा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

कन्दङ्वाको नेतृत्वमा ५ सय बढी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कन्दङ्वा तत्कालीन अनारमनी गाविसका उपाध्यक्ष हुन् । उनी नेकपा एमालेमा रहेर लामो समय राजनीतिमा क्रियाशील थिए ।

कन्दङवासँगै नेकपा एमाले जिल्ला कमिटी सदस्य सिता रणपहेली पनि माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टीमा स्वागत गरे ।

कार्यक्रममा बोल्दै कन्दङ्वाले किसानको, महिलाको, मजदुरको, आदिवासी जनजातिको, उत्पीडित वर्गको, दलितको पक्षमा एजेण्डा उठाउने एकमात्र पार्टी माओवादी केन्द्र भएको ठहर गर्दै पार्टी प्रवेश गरेको बताए । माओवादी केन्द्रलाई सहयोग नगरे देश खतरामा जाने भएकाले पनि आफू यहाँ आएको उनले बताए ।

आफूले ४३ वर्ष एमालेमा बसेर काम गरिरहँदा ती तमाम एजेण्डा एमालेले बुझ्न नचाहेको उनको भनाई थियो । युद्धको समयमा परिस्थितिवस कतिपयको चित्त दुखेको भएपनि त्यसलाई परिस्थितिजन्य घटनाको रूपमा बुझिदिन उनले आग्रह गरे । एमालेमा छँदा आफू जेलनेल गएकाले आफ्नो लगानी रहेको भए पनि मुलुकको अग्रगमनका काम गर्न नेतृत्वले नसकेको उनले बताए ।

झापाको विर्तामोडस्थित गिरीबन्धु टिस्टेट कम्पनीलाई कब्जा गरि माफियाहरुले प्लटिङ गर्ने काम थालेपछि कन्दङ्वाले त्यसविरुद्ध अभियान नै चलाएका थिए । बसपार्क क्षेत्रमा गिरिबन्धुको ५३ विगाहा जग्गा प्लटिङ सुरु भएपछि उनले त्यसविरुद्ध पनि अदालतमा मुद्दा हालेका थिए । त्यसबेला अदालतले उनको रिट खारेज गरेको भएपनि अहिले पनि उनले उठाकै विषयको पक्षमा फैसला गरिसकेको छ ।

आइतबार, ३० भदौ, २०८१, दिउँसोको ०४:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर