उपसभामुख हटाउने कुराबाट काँग्रेस–एमाले पछि हट्छन् : प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखले सामान्य त्रुटी गरेको भएपनि पदमुक्त नै गर्नुपर्ने अवस्था नरहेको बताए ।

‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्याती प्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो’ प्रचण्डले भने, ‘त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला ।’

प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधिश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै उनीहरु सबै उक्त पदका लागि योग्य भएको बताए । तपाईहरुले बरियता मिच्न लाग्नुभएको हो भन्ने प्रश्नमा उनले भने, ‘प्रधानन्यायाधिशको सिफारिसका लागि ८ जनाको नाम आएको छ । हिजोको बैठकमा पनि सिनियरिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन । त्यस्तो समस्या परेको केही छैन ।’

रिक्त रहेका संवैधानिक पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुनेमा आफूले जोड दिएको प्रचण्डले बताएका छन् । ‘एउटा–एउटा गर्नु राम्रो हुँदैन भनेर मैले भनेको हुँ । सबै रिक्त रहेका हाम्रा संवैधानिक आयोगहरुमा सबै पूर्ति गर्नुपर्छ भन्ने लागेको छ,’ उनले भने ।

‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद चल्न नदिने पनि पनि प्रचण्डले बताएका छन् । ‘एमालेका साथीहरुबाट जनयुद्धलाई ‘हिंसा’ भनेर अपभ्रंस गर्ने, अपब्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ’ उनले भने, ‘त्यो विषयको सम्बोधन नभएसम्म संसदमा विरोध जारी रहन्छ ।’

प्रचण्डले अहिले पार्टीलाई राम्रोसँग तयार गर्नुपर्छ भन्ने लागेको बताउँदै प्ररिवर्तनको एजेण्डा बचाउन पनि माओवादी बलियो हुनुपर्ने बताए । ‘परिवर्तन उल्ट्याउन नदिने गरी तयारी गर्नुपर्छ भनेर हामी लागेका छौं,’ उनले भने ।

तपाई कहिले विश्राम लिनुहुन्छ भन्ने प्रश्नमा प्रचण्डले राजनीतिमा एक्जिट भन्ने नहुने बताएका छन् । ‘सच्चा राजनीतिज्ञहरु बाँचेसम्म राजनीति गर्छन् । मरेपछि पनि उनीहरुले राजनीति गरिरहन्छन् भन्ने दर्शन छ,’ उनले भने ।

शनिबार, २९ भदौ, २०८१, दिउँसोको १२:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर