कोशी प्रदेश सभा संसदीय समितिका सभापतिको टुंगो

विराटनगर । कोशी प्रदेशसमा २१ महिनापछि हुन लागेको संसदीय समितिको निर्वाचनका लागि दलहरूले सभापतिको उम्मेदवार छनौट गरेका छन् ।

प्रदेशसभामा दुईतिहाई बढि सांसद रहेको सत्तारुढ गठबन्धनले एमालेलाई ३ वटा र काँग्रेसलाई ३ वटा समितिको सभापति भागबण्डा गरिसकेको छ । संसदीय परम्परा अनुसार सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पाउनेछ ।

कोशी प्रदेशसभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् । एमालेले झापाका होमबहादुर थापालाई प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, तेह्रथुमकी कमला दर्नाललाई न्याय प्रशासन तथा विधायन समिति र सुनसरीका रामदेव यादवलाई उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति बनाउने निर्णय गरेको छ ।

यस्तै काङ्ग्रेसले पाउने सामाजिक विकास समिति सभापतिमा मोरङका गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा इलामकी खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा भोजपुरका विनोद वान्तवा राई उम्मेद्वार बन्ने भएका छन् । माओवादीले पाउने सार्वजनिक लेखा समितिको सभापतिमा भने उदयपुरका राजन किराँती उम्मेदवार बन्ने दलका नेता ईन्द्र आङ्बोले जानकारी दिए ।

समितिका सभापतिको लागि आज मनोनयन पत्र दर्ता हुनेछ भने निर्वाचन शुक्रबारका लागि तोकिएको छ । उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने समय आज १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।

आजै उम्मेदवारको ननमावली प्रकाशन ५ः१५ सम्ममा हुने र दाबी विरोधका लागि ५ः१० देखि ५ः३० सम्म, दाबी विरोधमाथि छानविज ५ः३० देखि ५ः४५ सम्म, उम्मेद्वारी फिर्ताको समय ५ः४५ देखि ६ः०० बजेसम्म र उम्मेदवारीको अन्तिम नामावली प्रकाशन ६ बजेर १५ मिनेटसम्ममा हुनेछ । निर्वाचन भने २८ गते दिउँसो २ बजेदेखि हुने तालिका संसद सचिवालयले जारी गरेको छ ।

२०७९ मंसिर ४ गतेको निर्वाचनपछि प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १७ गते बसेको थियो । २०८० कात्तिक २० गते संसदीय समिति सदस्य छानिए पनि सभापतिको निर्वाचन हुन सकेको थिएन ।

बिहिबार, २७ भदौ, २०८१, बिहानको ११:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर