एमाले अध्यक्षले बार्गेनिङ गरेको मेयरको आरोप

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले एमाले नगर अध्यक्ष रुपेश बस्नेतले कर्मचारी भर्ना गर्दा भागबन्डा खोज्दै बार्गेनिङ गरेको आरोप लगाएका छन् ।

एमाले इटहरी नगर अधिवेशन हुनुभन्दा अगाडि बस्नेतले सचिवको हैसियतमा कर्मचारी भर्नादेखि अनेकौँ विषयमा भागबन्डा माग्ने गरेको पौडेलको दावी छ ।

बस्नेतले कर्मचारी राख्न बार्गेनिङ गरेको भिडियो प्रमाणसमेत रहेको उल्लेख गर्दै पौडेलले बाहिर आन्दोलन गर्ने र भित्र काम गर्न असहयोग गर्ने गरेको बताए । नेकपा एमालेलाई संसदीय मर्यादा बमोजिम र राजनीतिक संस्कारका आधारमा संवादमा आउन आग्रह गर्दै उनले बजेट कार्यान्वयन गर्न एमालेले असहयोग गरेको र बाहिर गलत प्रचारबाजी गर्ने गरेको आरोप लगाए ।

श्रृंखलाबद्ध हिसाबमा अनियमितताको आरोप लागिरहेको बेला मेयर पौडेलले प्रतिक्रिया स्वरूप एमालेको कारण इटहरीको विकास र समृद्धिमा बाधा पुगेको बताएका हुन् । शनिवार बिहान भिडियो सन्देश जारी गर्दै उनले केही दिन अगाडि ५ दलले बुझाएको ज्ञापन पत्रको विषयमा ध्यानाकर्षण भएको बताएका छन् ।

उपभोक्ता समितिको भुक्तानीको विषयमा भ्रम छरिएको बताउँदै पौडेलले भुक्तानी प्रक्रियामा अगाडि बढेको जानकारी दिएका छन् । उपमहानगरपालिकासँग पर्याप्त पैसा भएको प्रष्ट पार्दै उनले नगरवासीलाई विचलित नहुन आग्रह गरेका छन् ।

नेकपा एमालेलगायत दलहरूले मेयरको कार्यशैलीविरुद्ध प्रदर्शनको तयारी गरेका छन् । इटहरी उपमहानगरपालिकाले खरिद गरेको नगर बसमा भ्रष्टाचार भएको र उपभोक्ता समितिले भुक्तानी नपाएको विषयमा एमालेसहितका दलहरुले आन्दोलनको घोषणा नै गरेका छन् ।

यसअघि रास्वपा सांसद अशोक कुमार चौधरीले प्रतिनिधिसभा समेत नगर बसमा भएको अनियमितताको विषयमा प्रश्न उठाएका थिए । त्यसलगत्तै कोसी प्रदेशसभा सदस्य मिना श्रेष्ठले प्रदेशसभा बैठकमा सो विषय उठाइन् । मेयर पौडेलले भने धेरै बकबक नगरी भ्रष्टाचार प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् ।

सांसद जस्तो कानुन निर्माणको तहमा पुगेका व्यक्तिलाई सार्वजनिक खरिद ऐनको विषयमा जानकारी हुनुपर्ने बताउँदै पौडेलले छानबिन समिति गठन गर्न र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएर प्रमाणित गर्न चेतावनी दिएका छन् । स्टन्ट र लोक रिझ्याइको लागि सांसदहरुले बोलेको उनको आरोप छ ।

शनिबार, २२ भदौ, २०८१, साँझको ०६:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर