कोशी सरकार विस्तारको उल्झन र मनाङे

 सम्पादकीय

गठबन्धन बनेको २ महिना पुरा हुँदा पनि कोशी प्रदेशमा नेपाली काँग्रेस सरकारमा सहभागी हुन सकेको छैन । असार १७ गते नेपाली काँग्रेस र एमालेबीच गठबन्धन भएपछि केन्द्रमा असार ३० गते काँग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । नयाँ गठबन्धन अनुसार सरकार सञ्चालन गर्ने सहजता प्रदान गर्न कोशी प्रदेश सरकारमा रहेको माओवादी केन्द्र साउन ११ गते सरकारबाट बाहिरिएको थियो । माओवादी सरकारबाट बाहिरिएपछि प्रदेशका चार मन्त्रालय खाली छन् । ती मन्त्रालय काँग्रेसले लिने सहमति भइसकेको छ । तर, आन्तरिक किचलोको कारण काँग्रेसले मन्त्रीको नाम दिन सकेको छैन । काँग्रेसमा प्रदेशसभाका २९ जना सदस्य रहेकोमा २ जना पुर्वमुख्यमन्त्रीबाहेक सबै मन्त्रीका आकांक्षी रहेको बताइएको छ । त्यसैले पनि काँग्रेसले मन्त्री छान्न सकेको छैन । त्यसमाथि काँग्रेसभित्र सभापति शेरबहादुर देउवा, नेता डा.शेखर कोइराला र नेता कृष्णप्रसाद सिटौलाका अलग–अलग गुट छन् । ती गुटकै कारण सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम काँग्रेसले छनौट गर्न सकेको छैन । सबै सांसदहरुको मन्त्री बन्न मरिहत्ते र जोडबल रहेकोले काँग्रेसले निर्णय गर्न सकेको छैन ।

सांसदहरुको जसरी पनि मन्त्री हुने दौडको कारण कोशी सरकारमा सहभागी हुन नसकेको बेला गुण्डा नाइकेको पृष्ठभूमि भएका गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङे उर्फ राजीव गुरुङले भने मन्त्रीबाट राजीनामा दिएका छन् । पछिल्लो समयमा हरेक सरकारमा सहभागी हुँदै आएका मनाङले भौतिक पूर्वाधार मन्त्री रहेकोमा मुख्यमन्त्रीले त्योभन्दा कमजोर मन्त्रालय बन मन्त्रालयको जिम्मा दिएको भन्दै पदबाटै राजीनामा दिएका हुन् । आफ्नो पृष्ठभूमि, अभिव्यक्ति र व्यवहारका कारण विवादमा आइरहने मनाङेले मन्त्री पद त्याग गरिदिए । त्यति मात्र नभएर उनले उचित मूल्य पाएमा मन्त्रालय बेचिदिने विवादित अभिव्यक्ति पनि दिए । उनको अभिव्यक्तिले मन्त्री किनबेच हुन्छ भन्ने देखाएको छ । उनले विगतमा हरेक सरकारमा सहभागी हुँदै आएकोले किनबेचकै माध्यमबाट मन्त्री बनेको अनुमान पनि गर्न सकिन्छ । मन्त्री बनाइने विषयमा खुला तथा गुप्त रूपमा भएका अभ्यासलाई मनाङेले एकातिर उदाङ्गो बनाएका छन् । नेताहरूलाई उनले आफ्नो अनुहार हेर्न ऐना देखाइदिएका हुन् ।

अर्कोतिर मनाङेले नैतिक राजनीतिक (यद्यपी उनकै व्यवहार अनैतिक छ) को झापड पनि यसपटक हानेका छन् । भौतिक पूर्वाधार मन्त्री भइसकेकेले त्यो भन्दा कम बजेट भएको र तल्लो बरियताको मन्त्रालयमा नजाने अडान उनले राखे । हाम्रो मन्त्री पद पाए उपप्रधानमन्त्री भइसकेकाहरु महिला मन्त्रालय बन्न तयार हुने र दर्जनौं पटक मन्त्री भएर पनि कुनै एउटा नमुना काम नगरेकाहरु फेरि पनि मन्त्री बन्न मरिहत्ते गर्नेहरुलाई उनले चुनौति दिएका छन् । अहिले संघदेखि प्रदेश सरकारसम्म विवादित पात्रहरु मन्त्री भएका छन् । भ्रष्टाचारमा मुछिएकाहरु, हत्या र अपहरणको अभियोगमा मुद्दा चलिरहेकाहरु, गुण्डागर्दी गर्नेहरु मन्त्री नियुक्त भएका छन् । उनीहरुले सिंगो राजनीतिक प्रणालीमाथि नै झापड हानेका छन् । अनौठो विषय ती मनाङे सांसद बन्दा पनि सबै दलहरुको समर्थनमा सर्वसम्मत हुँदै आएका छन् । दुई ठूला दलको गठबन्धनलाई मनाङेले दिएको चुनौतिले राजनीतिमा सुधारको खाँचो औल्याएको छ । कोशी सरकार विस्तारमा उल्झन लागेको बेला मनाङे प्रबृत्तिबाट पाठ सिक्नुपर्छ ।

बिहिबार, २० भदौ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page