पारूल क्षेत्री
विराटनगरको राजमार्गका रुख रोप्न अभियान नै चलाउनु भयो नि, किन ?
–मलै पहिलादेखि नै रुख विरुवा रोप्ने र संरक्षण गर्दै आइरहेको छु । त्यसैले मैले आफ्नै जमिनमा फ्रुट फरेस्ट बनाएको पनि छु । आफ्नो जमिन र सार्वजनिक जमिनमा पनि बिरुवा रोपने काम गरिनै रहेको छु । विराटनगरमा किन यो अभियान जरुरी प¥यो भन्ने प्रश्न अरुले पनि गर्ने गर्दछन् । मैले के देखें भने वरगाछीमा सुनसरीका हरिनगरा, चिमडीतिरबाट रोजगारी गर्न मानिसहरु आउँछन् । उनीहरु तातो घाममा रापिएर सडकमा उभिरहेका हुन्छन् । कतै सितल छायाँ छैन । स्कुल जाने नानीहरु एकछिन उभिएर सितल ताप्न पाउँदैनन् । यस्तो गर्मीमा कतै सितल ताप्न पाउनु, छहारी पाउनु त उनीहरुको अधिकार हो नि । त्यसैले सडकमा बिरुवा रोप्ने अभियान आफंैबाट सुरु गरेको हुँ । यसअघि मैले नहरसाइडमा पनि धेरै बिरुवा रोपें, मन्दिरमा रोपें तर यसपटक अरुलाई जागृत गराउन देखिने ठाउँमा रोपौं भन्ने लागेर सुरु गरेको हुँ । छरीएर रोप्दा त्यसको महत्व पनि हरायो । त्यसैले सुरुमा एक हजार बिरुवा रोप्ने भनेको थिएँ तर अहिले ३ हजार रोपिसकियो । अझै अभियान निरन्तर चल्ने भएकोले थप बिरुवा रोपिन्छ ।
कोशी राजमार्गको कहाँसम्म रोप्नुहुन्छ बिरुवा ?
–विराटनगर महानगरपालिका प्रवेश गर्ने उत्तर ढाटदेखि भृकुटी चोकसम्म हामीले बिरुवा रोपिसकेका छौं । राजमार्ग पूर्व पश्चिमतर्फ सबैभन्दा ठुलो ३ र ४ नम्बर वडातर्फ बिरुवा रोपिसकिएको छ । हामीले २ र ५ नम्बर वडातर्फ पनि बिरुवा रोपिसकेका छौं । अब यसलाई दक्षिण रानीसम्मै लैजाने प्रयत्नमा छौं । बिचबिचमा पनि हामीले केही ठाउँमा विरुवा रोपेका छौं ।
भनेपछि तपाईँहरुको राजमार्गको दुवैतर्फ रानीसम्मै रोप्नुहुन्छ ?
– हो, हामीले रानीसम्मै रोप्ने योजना बनाएका छौं । दक्षिणतर्फ हामीले जीवन विकासको सहकार्य र सहयोगमा विरुवा रोप्छौं । माननीय योगेन्द्र मण्डलले त्यसमा चासो दिनुभएको छ र उहाँको संस्थाले बिरुवा रोप्न सहयोग पनि गरेको छ । उहाँले मेरो निर्वाचन क्षेत्रमा म पनि सहयोग गर्छु भन्नुभएको छ हामीले त्यसलाई सहर्ष स्वीकार गरेका छौं ।
राज्यले एउटा इन्जिनियरिङ गरेर बनाएको संरचनामा बिना योजना तपाइँले बिरुवा रोप्दा संरचनामा क्षति हुनसक्छ । त्यसको सुरक्षा कसरी गर्नुहुन्छ ?
–महानगरले कोशी राजमार्गको डिभाइडरमा लाखौं खर्चेर यसअघि नै बिरुवा रोपेको थियो । तर संरक्षण अभावमा सबै बिरुवा हुर्केनन् । महानगरले बिरुवा रोप्दा नगरवासीले अपनत्व लिन सकेन । त्यसैले सर्वसाधारण नागरिकले अपनत्व लिन सक्दा मात्र यो काम सफल हुन्छ भनेर मैले नागरिक सहभागितामा बिरुवा हुर्काउनु पर्छ र त्यसो गर्न सकिन्छ भनेर अभियान थालेको हुँ । छहारी दिने बिरुवा रोप्नु पर्छ भनेर सुरु गरिएको हो । यसबाट सर्वसाधारणलाई लाभ हुन्छ भने हरियाली र पर्यावरणमा पनि सुधार हुन्छ ।अब संरचना नोक्सानी गर्ने कुरा के हो भने कम क्षति हुनेतर्फ ध्यान दिएका छौं । जम्मा एउटा ब्लक निकालेर विरुवा रोपेका छौं । बिरुवा धेरै ठूलो र अग्लो नबनाउन पछि काम गर्नुपर्छ ।
यो काम गर्दै सम्बन्धित निकायहरुबाट अवरोध र असहयोग भएन ?
–असहयोग भन्दा पनि केही डर त्रास देखाइयो । कतिपयले संरचना नोक्सानी गरे १० वर्षसम्म जेल पनि हुसक्छ भने । हामीले नराम्रो गर्न खोजेका होइनौं । राम्रो गर्न खोजिएको हो । मानिसले सितल छहारीमा हिड्न पाउनुपर्ने अधिकारको सुरक्षा गरिएको हो । वातावरण संरक्षणमा योगदान गर्न खोजिएको हो । पहिले विराटनगरमा हजारौं रुखहरु थिए । सडक विस्तारका क्रममा ती मासिए । नियमले रुख काटेपछि बढी संख्यामा रोप्नु पर्छ भन्छ । तर सट्टामा कतै बिरुवा रोपिएन । त्यो अभाव पूर्ति गर्ने प्रयत्न मात्र त गरिएको हो । संरचना भत्किन्छ कि भन्ने चिन्ता गरिएको पनि पाइन्छ । तर हामीले विभिन्न ठाउँमा ब्लक उप्काएरै रोपिएका बिरुवा हुर्केको ठाउँमा गएर हेर्दा त्यस्तो कुनै क्षति गरेको पाइएन । बिरुवाले माटो खोज्दै जाने भएकोले कंक्रिटमा खास क्षति गर्दैन रहेछ । कतिसम्म भने पोखरिया स्कुल छेउमा दुईवटा ठुला पिपलका रुखहरुले समेत सडक र पर्खालमा कुनै क्षति गरेको पाइएन भने संरचनाको धेरै चिन्ता गर्नुपर्दैन ।
तपाइँको अभियानमा स्थानीय समुदायको सहभागिता कस्तो छ ?
–पहिला विराटनगरमा केही हुँदैन भन्ने भावना थियो । श्रम संस्कृति यहाँ खासै थिएन । तर अहिले यो अभियानमा मानिसहरु स्वतःस्फूर्त आइरहनुभएको छ । श्रम गर्न तत्पर भइरहनुभएको छ । त्यतिमात्र होइन बिरुवा आफैं ल्याउनुहुन्छ, सुरक्षा गर्न बाँस, मल पानी सबै गरिरहनुभएको छ । यो स्वतःस्फूर्त विकसित भएको भावना हो । यो अभियानप्रति सबै सकारात्मक देखिनुभएको छ । म पनि गर्छु भन्न थाल्नुभएको छ । यो निकै सकारात्मक कुरा हो । हामीले ३ हजार बिरुवा रोपिसकेका छौं । सबैठाउँमा पानी हाल्न र सुरक्षका लागि काम गर्न हामीमात्रबाट सम्भव छैन । त्यो काम ठाउँ ठाउँमा समुदायबाट स्वत भइरहेको छ । त्यसैले यो अभियानमा समुदाय उत्साहित भएर सहभागी भइरहेको देख्छु ।
–बिरुवालाई मल, पानी आदिको जरुरी पर्छ । बर्खामा त खास समस्या नहोला तर हिउँद र सुख्खायाममा कसरी बिरुवा जोगाउनुहुन्छ ?
यस अभियनमा ढाटदेखि रानीसम्मकै साथीहरु जोडिनुभएको छ । धेरै ठाउँमा स्थानीय घरधनी, पसले, व्यवसायीहरुले समय समयमा पानी हालिरहनुभएको छ । उहाँहरुले आफ्नो वरिपरी रोपिएका बिरुवा हुर्काउने बचन पनि दिनुभएको छ । हामीले पनि समय समयमा अनुगमन गरेर पानी हाल्ने र सुरक्षित गर्ने काम निरन्तर गर्छौं । तीन वर्षसम्म हामी सक्रिय भएरै बिरुवा हुर्काउन लाग्छौं । त्यसपछि बिरुवा आफैं हुर्किन्छ ।
विराटनगर महानगरपालिका र जनप्रतिनिधिहरुबाट कस्तो सहयोग पाइरहनु भएको छ ?
यो अभियानको बारेमा महानगरका प्रमुख र उपप्रमुख दुवैलाई जानकारी छ । कुराकानी पनि भइरहेको छ । कतिपय वडाका वडाध्यक्षहरु अभियानमै सहभागी भएर प्रोत्साहित गरिरहनुभएको छ । महानगरले पनि कहिलेकाहीं खन्ने कामदारहरु पठाइदिने गरेको छ । त्यसहिसबले महानगर हाम्रो अभियानप्रति नकारात्मक छैन, हामीलाई सरकारको त्यति धेरै सहयोग पनि चाहिएको छैन । अभियानमा जुटेका नगरवासीले नै यो काम गर्न सक्छन् । आवश्यक पर्दा सहयोग माग्छौं पनि ।
होइन, महानगरले बिरुवा हुर्काउनकै लागि भनेर कर्मचारी पनि राखेको छ । यस अभियानमा रोपिएका बिरुवा हुर्काउन पनि त्यस्तै सहयोग गर्ने कुरा भएको छ कि ?
– महानगरले त्यो सहयोग गर्न सक्छ । त्यसो गरेमा राम्रो पनि हुन्छ । महानगर क्षेत्र हरियाली बनाउने, यहाँको सरसफाई र स्वच्छ वातावरण बनाउने दायित्व उसको पनि हो । तर महानगरको वातावरण शाखाका जिम्मेवार अधिकारीसँग भेट्दा मिठो कुरा त गर्नुभयो तर एक दिन पनि अभियान हेर्न आउनुभएन । यो दुःखको कुरा हो । मेयर उपमेयरले चाहिँ कुरा गर्दा राम्रो गर्नुभयो भनेर भन्नुभएको छ ।
तपाइँ राजनीतिकर्मी, लामो समय राजनीतिमा सक्रिय हुनुभयो । तर अहिले राजनीतितिर खासै देखिनुहुन्न बिरुवा रोप्दै फरक अभियान सुरु गर्नुभएको छ । राजनीति छोड्ने हो अब ?
–हामी राजनीतिमा लागेको समाज परिवर्तन गर्नकै लागि हो । समाज परिवर्तन गर्ने काम नै राजनीतिकर्मीले गर्ने हो । सत्तामा राजनीतिक दल आइसकेपछि सबैथोक सत्ता मार्फत नै गर्ने भन्ने थियो हाम्रो । तर, सत्तामा भएकाहरुले त्यो काम गर्नुभएन । जनताका मुद्दाहरु राजनीतिले नै समाधान गर्ने हो । तर हाम्रो राजनीति कमिटी बनाउने, बैठक गर्ने, सभा गर्ने चुनाव लड्ने मात्र भयो । मैले त्यसमा केही परिवर्तन गर्ने प्रयत्न गरेको हुँ । मैले राजनीति छोडेको छैन अहिले नेकपा एकीकृत समाजवादीको सदस्य छु तर सक्रिय छैन । यो अभियान मैले कुनै दलको ब्यानरमा चलाएको होइन । यो नागरिक जागरण अभियान हो ।
पारुलले बिरुवा रोपेर चुनावको तयारी गरेको भन्ने कुरा पनि आउन थालेको छ नि बजारमा ?
चुनाव आउन धेरै समय बाँकी छ । मेरो त्यस्तो कुनै कुरा छैन । यो कुरा धेरैतिर सुनेको छु । कहाँबाट यस्तो कुरा आउँछ, कसले ल्याउँछ मलाई थाहा छैन । सिटी सफारीका मजदुरहरुको समस्यामा सहयोग गर्दा पनि मलाई त्यसै भनिएछ । तर मैले कुनै स्वार्थ राखेर यो काम गरिरहेको छैन । यो विशुद्ध पर्यावरण र वातावरणको पक्षमा थालेको अभियान हो । यति सानो अभियान र सुधारको काम गर्दा त मेयरको तयारी थाल्यो भन्ने रहेछन् जनताले त्यसैले म जनप्रतिनिधि भइरहेका र हुने तयारीमा लागेकाहरुलाई अझ यि भन्दा ठूला अभियान चलाउन अनुरोध गर्छु । त्यसो गर्नुभयो भने पक्कै तपाइँहरु सफल बन्नुहुनेछ । तर मैले कुनै चुनावलाई लक्षित गरेर यो काम गरेको होइन भन्ने स्पष्ट गर्न चाहन्छु ।
तपाइँसँग त आफ्नै निजी बनको पनि अनुभव छ नि हैन ?
मैले चाहि निजि वन भन्दा पनि फ्रुट फरेस्टको विकास गर्न खोजेको हुँ । किसानहरुलाई फ्रट फरेस्टलाई व्यवसायिक रुपमा अघि बढाउन सकिन्छ भन्ने उदाहरण दिनका लागि १० कठ्ठा जग्गामा फलफूलका १ हजार बिरुवा रोप्ने योजना बनाएर काम गरिरहेको छु । सदावहार कुनै न कुनै फलफुल उत्पादन गरौं भन्ने सोचेर त्यो काम थालेको छु । अहिले हजार प्रजातिका फलफुल नभए पनि १०६ प्रजातिका फलफुलका बिरुवा लगाएको छु । त्यो राम्ररी अघि बढेको छ । मेरो ८ बिघा जमिन मध्ये १० कठ्ठामा ती बिरुवा लगाएको छु । अहिले त्यहाँ आँप, अम्बा, लिची, कटहर, जामुन, बडहर, सरिफा, अमला, तित्री, स्याउ, सुन्तला, नासपाति आदि फलफुलका बिरुवा छन् । तीमध्ये २० –३० फलफुलले उत्पादन दिन थालेको छ ।