थामे हिमताल विष्फोटबाट लिनुपर्ने पाठ

 सम्पादकीय

सगरमाथा शिखरको फेदमा रहेको खुम्बु क्षेत्रमा जाने बाटामा पर्ने थामे बजार शुक्रबार दिउँसो फुटेको हिमतालबाट आएको बाढीले तहसनहस बनायो । हिमताल फुटेपछि गएको पहिरोले ल्याएको लेदोसहिको बाढीले सुन्दर पर्यटकीय थामे बजारलाई बगरमा परिणत गरिदिएको छ । सुन्दर बस्ती थामेलाई बगर बनाउने पहिरो हिमताल फुटेर आएको अध्ययनबाट प्रमाणित भइसकेको छ । उच्च हिमाली क्षेत्रमा रहेको हिमताल एकैपटक फुट्ने अवस्था आउनु जलवायु परिवर्तनकै असर भएको राष्ट्रिय विपद जोखिमम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निश्कर्ष निकालेको छ । कुनै मानवीय गतिबिधि नभएको क्षेत्रमा रहेका हिमताल फुट्नुको कारण जलवायु परिवर्तनको कारण त्यस क्षेत्रमा बढेको तापक्रम नै हो भन्ने स्पष्ट देखिएको छ । विश्वव्यापीमा रुपमा विकसित देशहरुले गरेको वातावरणीय हस्तक्षेपको मूल्य नेपाल जस्ता मुलुकले चुकाउनुपर्ने अवस्था देखिएको छ ।

प्राकृतिक कारणले हिमाली क्षेत्र जोखिममा पर्दा अब बिस्तारै तीनको मूल्य चर्को पर्ने जोखिम पछिल्लो घटनाले देखाएको छ । यसअघि इसिमोडले नेपाल सरकारसँग मिलेर गरेको अध्ययनमा नेपाल, चीन र भारतमा पर्ने हिमाली क्षेत्रमा ४७ वटा हिमताल जोखिमपूर्ण देखिएको थियो । यस्ता कतिपय ठूला हिमताल फुटेमा नेपालमा अकल्पनीय विनाश हुने खतरा छ । तर, जोखिमको पूर्वमूल्यांकन र रोकथाम भने सरकारको प्राथमिकतामा छैन । थामेबाट पाठ सिक्ने हो भने सरकारले तत्काल जोखिमपूर्ण ठहरिएका हिमतालको व्यवस्थापनका लागि युद्धस्तरमा लाग्नुपर्छ ।नेपालमा क्षति गर्नसक्ने हिमतालहरू भारतीय तथा चिनियाँ क्षेत्रमा समेत पर्ने हुनाले दुवै मित्रराष्ट्रहरू सहकार्यका लागि अनुरोध पनि गर्नुपर्छ । जोखिमपूर्ण हिमताल व्यवस्थापनका लागि सरकारसँग साधन, स्रोत, प्रविधि र विशेषज्ञता जुटाउन पहल गर्नुपर्छ ।

जलवायु परिवर्तनले पारेको प्रभावको संयुक्त राष्ट्रसंघका महासचिवले प्रत्यक्ष अनुभूति गरेर गएको कारण त्यो मुद्दालाई अन्तर्राष्ट्रिय समुदायमा अझै प्रभाबकारी रुपमा नेपालले उठाउन सक्नुपर्छ । विकसित देशहरुबाट जलवायु परिवर्तनको जोखिममा रहेको नेपालले क्षतिपूर्ती सहयोग पाउनुपर्छ । त्यो नेपाललको अधिकार पनि हो । त्यसको लागि सरकारको पहल बढ्नुपर्छ । नेपालका हिमालमुनि थुप्रै हिमताल, तलैया छन् । त्यस्ता ताल फुट्ने अवस्थामा पुगेका हुन सक्छन् । ती तालहरूको अध्ययन गर्नुपर्छ । जोखिम आकलन र विश्लेषण गर्नुपर्छ। जोखिम न्यूनीकरणमा लागिहाल्नु पर्छ । हिमतालको जोखिम जलवायु परिवर्तनसँग जोडिएर आएकोले हिमतालहरूको जोखिम न्यूनीकरण गर्ने, उपकरण राखेर ट्रयाकिङ गर्ने र निरन्तर नियमन गर्न सकेमात्र विपत्तिबाट हुने जनधनको क्षति कम गर्न सकिन्छ । यसअघि पहिलोपटक तामाकोसीमाथिको च्छोरोल्पा र सोलुखुम्बुकै इम्जा हिमतालको जोखिम कम नेपालले कम गरेको छ । त्यो अनुभव अन्यत्र प्रयोग गर्न सक्नुपर्छ ।

मङ्गलबार, ०४ भदौ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर