एमाले कोशीको आचारसंहिता : नेताहरुको आलोचना गर्न रोक

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमार्फत पार्टीका नेताहरुको आलोचना गर्न प्रतिबन्ध लगाएको छ ।

एमाले कोशी प्रदेश कमिटीको चौथो पूर्ण बैठकले १३ बुँदे आचारसंहिता जारी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको गोपनियता भङ्ग हुनेगरि मिडियामा सूचना दिन पनि रोक लगाएको छ ।

शनिबार विराटनगरमा भएको बैठकको निर्णय सार्वजनिक गर्दै एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई लागि १३ बुँदे आचारसंहिता लागू गरेको बताए । आचारसंहितामा नेता तथा कार्यकर्तालाई ठाउँ कुठाउँ नबोल्नसमेत भनिएको छ ।

पार्टीको पार्टीको नीति विधि, विधान, पद्दति र संस्थागत प्रणालीभन्दा बाहिर गएर कुनै पनि कार्य नगर्न एमालेले पार्टी पंक्तिलाई निर्देशनसमेत दिएको छ । पारित भएको आचारसंहितामा पार्टीका नेता तथा कार्यकर्ताले गुटबन्दीजन्य गतिविधि र क्रियाकलाप वा कुनै पनि त्यस प्रकारका बैठकहरू गर्ने काम गर्न नहुने उल्लेख छ ।

आचारसंहितामा भनिएको छ, ‘पार्टी नेता तथा कार्यकर्ताले ठाउँ कु–ठाउँ पार्टी नेता र कार्यकर्ता लक्षित वा इङ्गित बोल्न हुँदैन । कोही कसैका बारेमा कुरा लाउँदै र धाउँदै हिँड्ने खेती गर्न नहुने र कुनै पनि अन्तरबिरोधमा खेलेर वा हात हालेर नेता कार्यकर्ताहरूलाई मुछ्न वा विभाजित गर्ने कार्य गर्न हुँदैन ।’ यस्तै व्यक्तिगत स्वार्थ र महत्वकाङ्क्षा पुरा गर्ने माध्यमको रूपमा नेता कार्यकर्तालाई प्रयोग गर्न नहुने र आर्थिक वा नैतिक आचरण भ्रष्ट हुने कार्य गर्न नहुने आचारसंहितामा उल्लेख छ ।

बैठकको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज शेरधन राईले मिसन ८४ पुरा गर्न एमाले जनताको घरसम्म पुग्ने बताए । उनले यसका लागि एमाले प्रदेशबाट जिल्ला पालिका र टोल हुँदै घर–घरमा पुग्ने योजना बनाएको जानकारी दिएका छन् ।

मुलुकको अग्रगमनका लागि ठुला दलहरू एमाले र काङ्ग्रेस मिलेर सरकार चलाएको भन्दै राईले २०८४ पछि एमाले एक्लैले सरकार चलाउनसक्ने हैसियत बनाउने दावी गरे । एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले कार्त्तिक मसान्तभित्रमा अधिवेशन गर्न बाँकी रहेको जिल्लाहरूको अधिवेशन सम्पन्न गर्ने जानकारी दिएका छन् ।

कोशी प्रदेशमा मोरङ, इलाम र तेह्रथुम जिल्लाको अधिवेशन समयमा गर्न नसकेपछि एमालेले आयोजक कमिटि बनाएको छ । एमाले कोशी प्रदेशले २०८१ साललाई पार्टी सुदृढीकरण र शुद्धीकरण वर्षसमेत घोषणा गरेको छ ।

१.पार्टीको निती विधि, विधान, पद्धति र संस्थागत प्रणालीभन्दा बाहिर जान र कुनैपनि कार्य गर्न नहुने ।

२. गुटबन्दीपूर्ण गतिविधि र क्रियाकलाप वा कुनै पनि त्यस प्रकारका भेला, बैठकहरु गर्ने काम गर्न नहुने ।

३. पार्टी निती, नेतृत्व र निर्णयको बिरुद्व बोल्न र कार्य गर्न नहुने ।

४. पार्टीमा कोही कसैप्रति भेदभाव वा निषेध गर्न नहुने ।

५. पार्टीलाई क्षति वा नोक्सान पुग्ने गरी घात, अन्तर्घात गर्न नहुने ।

६. फेसबुक वा सामाजिक संजाल मार्फत पार्टीका नेता तथा कार्यकर्तालाई लक्षित वा इंगित गरी लेख्न नहुने। गोपनियता भंग गरी अनधिकृत रुपमा मिडियामा संप्रेषण गर्ने कार्य गर्न नहुने ।

७. ठाउँ कु ठाउँ पार्टी नेता र कार्यकर्ता लक्षित वा इंगित बोल्न नहुने ।

८. कोही कसैका बारेमा कुरा लाउदै र धाउदै हिडने खेती गर्न नहुने ।

९. कुनैपनि अन्तरबिरोधमा खेलेर वा हात हालेर नेता कार्यकर्ताहरुलाई बिवादमा मुछन वा बिभाजीत गर्ने कार्य गर्न नहुने ।

१०. ब्यक्तिगत स्वार्थ र महत्वकांक्षा पुरा गर्ने माध्यमको रुपमा नेता वा कार्यकर्तालाई प्रयोग गर्न नहुने ।

११. आर्थिक र नैतिक आचरण भ्रष्ट हुने कार्य गर्न नहुने ।

१२. जनताले उचित नठान्ने, प्रचलित कानुन प्रतिकुल सामाजिक, नैतिक दृष्टिले अनुचीत र अपारदर्शी काम गर्न नहुने ।

१३. कुनैपनि नेता कार्यकर्ता वा सदस्यले तोकिएको कार्यक्षेत्र र जिम्मेवारीमा रहदा आफु रहेको कमिटीको निर्णयहरुको जानकारी गराउने, सिर्जनात्मक ढंगले लागु गराउने, सहजकर्ता, प्रशिक्षक र समन्वयकर्ताको रुपमा र साँगठानिक मामिलामा गाँठो फुकाउने अभिभावकको भुमिकाको काममा बाहेक अन्य काममा अनावश्यक चासो, संलग्नता वा हस्तक्षेप गर्ने कार्य गर्न नहुने ।

आइतबार, ०२ भदौ, २०८१, साँझको ०६:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर