घरजग्गा कारोबार बढेपछि राजस्व पनि वृद्धि

विराटनगर । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा घरजग्गाको कारोबार र त्यसबाट संकलन हुने राजश्वमा पनि बृद्धि भएको छ ।

यो महिनामा देशभर ४३ हजार ८३५ संख्यामा घरजग्गा कारोबार हुँदा ३ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

यो गत आर्थिक वर्ष सोही महिनाको तुलनामा ११.६४ प्रतिशतले घरजग्गको कारोबारमा बृद्धि भएको र राजश्वमा ३१.७७ प्रतिशतले बृद्धि भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले जनाएको छ । गत वर्ष साउनमा देशभर ३९ हजार २६३ संख्यामा कारोबार भएको थियो ।

गत आवको सोही अबधिको तुलनामा कारोबार बढेको भएपनि गत आवको अन्तिम महिना असारको तुलनामा भने साउनमा घरजग्गा कारोबार घटेको देखिएको छ । असारमा ४४ हजार ५६९ लिखत पारित भएको थियो ।

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकरलगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबैभन्दा बढी रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकरबाट राजश्व प्राप्त हुन्छ।

साउनमा प्राप्त ३ अर्ब ८३ करोड ५१ लाख राजस्वमध्ये २ अर्ब ५५ करोड १९ लाख ५१ हजार रजिस्ट्रेसन दस्तुर हो । त्यस्तै १ अर्ब ३४ करोड ६९ लाख ४९ हजार पूँजीगत लाभकर, २६ करोड ६८ लाख ६९ हजार सेवाकर रहेको छ ।

सरकार परिवर्तन र मौद्रिक नीतिका कारण घरजग्गा कारोबारमा सामान्य सुधार देखिएको नेपाल जग्गा तथा आवास विकास महासंघले जनाएको छ । माग गरिएअनुसार मौद्रिक नीतिमा सम्बोधन नभए पनि अन्य क्षेत्र चलायमान हुँदा घरजग्गा क्षेत्र पनि चलायमान हुने आशमा व्यवसायी छन् ।

कर्जा आम्दानीको अनुपात र लोन टु भ्यालु रेसियो ८० प्रतिशत पुर्‍याउनु व्यवसायीको माग थियो । तर, मौद्रिक नीतिले त्यसलाई सम्बोधन गरेन । नेपाल राष्ट्र बैंकले २ करोड रूपैयाँसम्मको कर्जालाई व्यक्तिगत आवास कर्जा अन्तर्गत राखेको छ । यस्तो कर्जा लिँदा कर्जा र आम्दानीको अनुपात ६० प्रतिशत हुनुपर्ने व्यवस्था छ ।

रियल स्टेटको हकमा ५० प्रतिशत र हाउजिङ कम्पनीको हकमा ६० प्रतिशत लोन टु भ्यालु रेसियो पुर्‍याइएको छ । व्यवसायीका अनुसार असारदेखि असोजसम्म घरजग्गा कारोबारको अफ सिजन मानिन्छ ।

साउन महिनामा सबैभन्दा धेरै लिखत पारित इनरुवा पालपोत सुनसरीबाट भएको छ । उक्त कार्यालयबाट १ हजार ९०४ लिखत पारित भएको विभागको तथ्यांक छ । यस्तै भूमि सुधार तथा मालपोत कार्यालय राजविराज सप्तरीबाट १ हजार ६०८, बेलबारी मालपोत कार्यालय मोरङबाट १ हजार ५२०, भद्रपुर मालपोत झापाबाट १ हजार ४६५ र जनकपुरधाम मालपोत कार्यालय धनुषाबाट १ हजार २१५ लिखत पास भएको छ ।

आइतबार, ०२ भदौ, २०८१, साँझको ०६:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर