लोड हुँदैछ...

मेनु

अब ढिलासुस्ती नहोस्

अब ढिलासुस्ती नहोस्

नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको १० वर्षे जनयुद्ध विश्राम भएर शान्ति प्रक्रिया सुरु भएको करिब १८ वर्षपछि यसले निकास पाउने बाटो खुलेको छ । लामो समयदेखि अलपत्र परेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत गरिने काम सम्पन्न गर्न निर्माण हुने कानुन निर्माण प्रक्रियाले पूर्णता पाउने भएको छ । राजनीतिक दलहरुबीचको खिचातानी र असमझदारीले शान्ति प्रक्रियाको महत्वपूर्ण काम पुरा हुन पाएको थिएन । जसले गर्दा एकातिर पीडितले न्याय नपाएको अवस्था थियो भने यसलाई कतिपयले आफ्नो स्वार्थ र अभिष्ट पुरा गराउने माध्यम बनाइरहेका थिए । २०७१ मा संसदबाट बनेको टिआरसी सम्बन्धि कानुनमाथि सर्वोच्च अदालतले प्रश्न उठाएको र पीडित पक्षले पनि असन्तुष्टि जनाएकोमा ढिलै भएपनि सबैको आवाज सम्बोधन हुनेगरि कानुन बन्ने प्रक्रिया अगाडि बढ्नु सकारात्मक छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार रहेकै समयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका प्रतिनिधि रहेको संयन्त्र बनेको थियो । त्यसले टिआरसी बिधेयकमा सहमति जुटाएर नयाँ सरकार बनेपछि बुझाएको प्रतिवेदनलाई प्रतिनिधिसभाले पनि पारित गरिसकेको छ । अब राष्ट्रियसभाबाट बिधेयक पारित भएसँगै कानुन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुग्नेछ भने त्यसपछि दुई आयोग गठन भएपछि कामले गति लिनेछ । तीन प्रमुख दलमात्र नभएर संसदमा रहेका सबै दलले यसको समर्थन गरेर शान्ति प्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति जुटाउनु सुखद् विषय हो । द्वन्द्वपीडितलाई न्याय दिने विषयमा अब राजनीतिक नभएर कानुनी विषय बन्ने भएको छ । शान्ति प्रक्रियाका नेतृत्वकर्ता प्रमुख तीन दलबीच नै साझा मत बनेर विगतको कमजोरीलाई नदोहो¥याउने संकल्प पेश भएकोले अब यो प्रक्रिया पुरा हुने विश्वास बढेको छ ।

तर, यो प्रक्रियालाई पुरा हुन नदिन अझै पनि चलखेल हुनसक्ने संभावना छ । किनभने शान्ति प्रक्रियामा सुरुदेखि बाह्य र घरेलु अनेक सरोकारवालाहरूको आ–आफ्नै चासो छ । कतिपयले यो प्रक्रिया पुरा नहोस् भन्ने चाहेका छन् । खासगरि मानबअधिकारको नाममा विदेशी दातृ संस्थाबाट रकम ल्याएर धन्दा चलाइहरेकाहरु यो प्रक्रिया पुरा नहोस् भन्ने चाहन्छन् । किनकि यो नामबाटै उनीहरुले कमाउ धन्दा चलाइहरको छन् । यो प्रक्रिया पुरा भएमा उनीहरुको धन्दा सुक्नेछ । अर्कोतिर विश्वकै लागि नमुना मानिएको शान्ति प्रक्रियाको काम पुरा भएमा अन्तराष्ट्रिय जगतमा पनि नेपालको छवि उचो हुनेछ । कतिपयले यो पनि नहोस् भन्ने चाहेका छन् । त्यलाई चिरेर बाँकी काम अगाडि बढ्नुपर्छ । फेरि पनि पीडित र परिवारले न्याय अनुभूत गर्ने विषय तथा संक्रमणकालीन न्यायलाई प्रतिशोधको हतियारको रूपमा प्रयोग गर्न नदिनेतर्फ राज्य चनाखो हुनुपर्छ । कुनै पनि बहानामा यसलाई अल्झाउने र लम्ब्याउने प्रयास अब हुनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।