विराटनगर । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नामकरणको विरोधमा आन्दोलन गर्ने निर्णय गरेको छ ।
पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले कोशी नामकरणविरुद्धको आन्दोलन गर्न आन्दोलन परिचालन समिति गठन गरेको हो ।
कोशी नामकरणको विरुद्धमा भइरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरी आन्दोलनलाई अगाडि बढाउन केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङको संयोजकत्वमा ९ सदस्यीय आन्दोलन परिचालन तथा समन्वय समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय सदस्यहरु राजकुमार राई, जयराम यादव, डा.केके राई, लाक्पा शेर्पा, मच्छिन्द्र बेघा, शशी लिङदेन, कुन्ता राई र पार्टीका कोशी प्रदेश अध्यक्ष दीपक याक्खा रहेका छन् ।
केन्द्रीय समितिको बैठकले पहिचानको आधारमा प्रदेशको नामकरणका लागि आन्दोलनको विकल्प नभएको निष्कर्ष निकाल्दै सङ्घर्ष समिति गठन गरेको याक्खाले जानकारी दिएका छन् । प्रदेशसभाको दुईतिहाई मतबाट कोशी नामकरण भएपछि पहिचानवादीहरुले आन्दोलन गर्दै आएका छन् ।
कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुमध्ये जसपा र नेकपा एकीकृत समाजवादीले कोशी नामकरणविरुद्ध मतदान गरेको थियो । कोशीको पक्षमा मतदान गरेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र पनि पछिल्लो समयमा जनआवाजलाई सम्बोधन गर्न नामकरणबारे पुनरावलोकन गर्नुपर्ने पक्षमा उभिएका छन् । तर, नेकपा एमाले भने कोशी नामबारे छलफल गर्न पनि तयार छैन ।