मुख्यमन्त्रीले जनताका गुनासा सुन्न ‘हेल्लो सिएम’ कार्यक्रम

विराटनगर । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि ‘हेल्लो सिएम’ सुरु गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हेल्लो सिएम सेवाको सुरुवात गरेका हुन् ।

गुनासो व्यवस्थापनको लागि भिन्दै कक्ष राखेर २४ घण्टा नै जनताको गुनासो सुन्न सकिने गरी व्यवस्थापन गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश सुशासन ऐन २०७६ अनुसार हेल्लो सिएम कार्यक्रम सुरु गरिएको हो ।

मुख्यमन्त्री कार्कीले शासकीय सुधारमा सहयोग पुग्ने गरि कार्यक्रम सुरु गरिएको बताए । सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन हेल्लो सिएम महत्वपूर्ण हुने उनको विश्वास छ । सुशासनबाट नै जनतालाई राहत दिन सकिने भएकाले यसलाई प्रभावकारी सञ्चालन गर्न कर्मचारीलाई मुख्यमन्त्री उनले निर्देशन दिए ।

जनताको जीउधन सुरक्षा र विपद्सँग जोडिएका आपत्कालिन काममा पनि यो प्रभावकारी हुने विश्वास मुख्यमन्त्री कार्कीले व्यक्त गरेका छन् । । प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले अहिलेको सरकार निर्माण भएपछि सासकीय सुधारमा उल्लेख्य प्रगति भएको चर्चा गर्दै यो सेवाले थप सुशासन वृद्धि हुने दावी गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भिन्दै कक्ष निर्माण गरी कर्मचारीको समेत व्यवस्थापन गरेर हेल्लो सिएम सञ्चालनमा ल्याइएको हो । कोशी प्रदेश सरकारसँग भएका गुनासा वा अन्य सहयोगका लागि टोल फ्रि नम्बर १६६०२१५२००२ मा प्रदेशका नागरिकले फोन गर्नसक्ने व्यवस्था गरिएको छ ।

यसअघि तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७४ सालमा १५–१५ दिनमा समस्या सुन्ने भन्दै ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु गरेका थिए । यो कार्यक्रम अन्तर्गत मुख्यमन्त्रीले टेलिभिजन कार्यक्रममामार्फत आफ्ना कुरा राख्छन् ।

बिहिबार, ३१ साउन, २०८१, दिउँसोको ०२:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर