पुण्य पि अधिकारी
झापाको गौरादह नगरपालिका–७ योगीटारकी ८२ वर्षीया ज्येष्ठ नागरिक नरमाया विश्वकर्माको ०८० फागुन २५ गते शिवरात्रीका दिन हत्या भयो । घटनामा संलग्न भएका १७ वर्षीय नातीसहित अरू तीन जनालाई प्रहरीले फागुन २९ गते पक्राउ गर्यो । बेपत्ता नरमायाको खोजी गर्ने क्रममा घर पछाडिको ग्वाली नजिकको मलखाडीमा पुरिएको अवस्थामा फागुन ३० गते शव भेटिएपछि १७ वर्षीय नाति र उनका तीन जना साथीलाई गिरफ्तार गरेको प्रहरीले जनायो । नातीले लागू पदार्थ सेवन गर्ने गरेको र शिवरात्रीका लागि लागू औषधका लागि हजुरआमासँग पैसा माग्दा नदिएपछि रडले हिर्काएर हत्या गरेको प्रहरीले जनायो ।
लागु औषध तस्करीमा संलग्न भएका भारतीय नागरिक ३४ वर्षीय भगिरथ हरिजनलाई नियन्त्रणमा लिन प्रहरीले ०८१ जेठ १ गते गोली चलायो । प्रहरीको गोली प्रहारबाट घाइते भएपछि लागु औषधका तस्करलाई प्रहरीले रतुवामाई नगरपालिका–६ कादूपाडाबाट नियन्त्रणमा लियो । जेठ ३ गते सुनसरीमा गोली चलाएर प्रहरीले लागु औषधका तस्कर सप्तरीको सप्तकोशी–५ का ३५ वर्षीय श्यामसुन्दर मण्डल र सुनसरीको इटहरी नगरपालिका–५ का ४० वर्षीय श्याम निरौलालाई पक्राउ गर्यो । झापामा ०८१ वैशाख १७ गते गोली प्रहार गरी लागु औषधका तस्कर झापा गाउँपालिका–४ खयरबारीका २५ वर्षीय सरिफूल आलमलाई पक्राउ गर्यो ।
लागु औषधका कारोवारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै हतियार चलाएपछि गोली चलाएर उनीहरुलाई नियन्त्रणमा लिनु परेको प्रहरीले जनायो । पछिल्ला दिनमा लागु औषधका कारोवारी प्रहरीलाई टाउको दुखाइको विषय भन्दै गएका छन् भने लागु औषधका कारण समाजमा दिन प्रतिनिदि अपराधिक घटनामा वृद्धि हुँदै गएको छ ।
अझ विद्यालय उमेर समूहका बालबालिका लागु औषध प्रयोगकर्ता बन्दा त्यसले परिवारसहित समाजमा झन् नकारात्मक प्रभाव पार्दै गएको छ । लागु औषध प्रयोग गर्नकै लागि हजुरआमाको हत्या घटनामा १७ वर्षीय बालक संलग्न भएको घटनाले समाजमा लागु औषधको प्रभाव कस्तो पर्दै गएको सहजै अनुमान लगाउन सकिन्छ ।
इलाममा लागु औषध प्रयोगकर्ता र तस्करहरूले १० वर्ष मुनिका बालबालिकालाई लागु औषधका भरिया बनाउने गरेको पाइएको छ ।१० वर्षमुनिका बालबालिकालाई कसुर नलाग्ने भएकाले बालबालिकालाई प्रलोभनमा पारी, धाकधम्की र त्रास देखाएर लागु औषध तस्करहरूले बालबालिकालाई भरिया बनाउने गरेको प्रहरीको भनाइ छ ।
०६३ सालमा नेपाल सरकारले लागुऔषध नियन्त्रण राष्ट्रिय नीति जारी गर्दा समेत १० वर्षअगाडि नै यो संख्या पचास हजार नाघिसकेको प्रक्षेपण गरेको थियो । त्यो अनुसार र प्रतिवर्ष दस प्रतिशतका दरले यो संख्या बढिरहेको मान्ने हो भने पनि यो संख्या हाल करिब २ लाखको हाराहारीमा पुगेको हुनु पर्छ । विद्यालय उमेर समूहका बालबालिका हालका दिनमा लागु औषधमा बढी सक्रिय भएको विभिन्न अनुसन्धानहरूले देखाएका छन् ।
साथीभाइको लहलहै वा करकाप र पारिवारिक तनावको बहानामा बालबालिका बढीभन्दा बढी लागु औषधमा फसिरहेको पाइन्छ । लागु औषध डर लाग्दो रोग भएकाले यसले जोही कोहीलाई जुनसुकै समयमा प्रभाव पारिरहेको हुन्छ । समाजमा दिनप्रतिदिन बढीरहेको लागु औषधको प्रयोग नियन्त्रण गर्नु तपाई हामी सबैको दायित्व हो । तसर्थ, लागुऔषधको दलदलबाट उम्कन र समाजमा अपराध न्यूनीकरणका लागि लागु औषध नियन्त्रणमा तपाई, हामी सबैको सहकार्य आवश्यक छ ।