कोशीमा मन्त्रालय विभाजनको तयारीप्रति माओवादीको विरोध

विराटनगर । नेपाली काँग्रेस र नेकपा एमालेको आन्तरिक विवाद व्यवस्थापनका लागि कोशी प्रदेशको मन्त्रालय विभाजन गर्ने तयारी भएको भन्दै नेकपा (माओवादी केन्द्र)ले आपत्ती जनाएको छ ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशका मन्त्रालय विभाजन गरेर मन्त्रालय संख्या बढाउने तयारी आपत्तीजनक रहेको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आङ्बोले व्यक्ति ब्यवस्थापन र भागबण्डाको नाममा दीर्घकालीन दायित्व सिर्जना हुनेगरि प्रदेशका मन्त्रालय विभाजन गर्नु गलत हुने उल्लेख गरेका छन् । हिक्तकुमार कार्की पहिलो पटक मुख्यमन्त्री भएको समयमा उनले मन्त्रालयको संख्या घटाएका थिए । अहिले मन्त्रालयको संख्या बढ्नसक्ने मुख्यमन्त्री कार्कीले संकेत गरेपछि माओवादीले विरोध जनाएको छ ।

नेकपा माओवादी केन्द्र र राप्रपासमेतको समर्थनमा २०७९ पुसमा मुख्यमन्त्री भएका कार्कीले मन्त्रिपरिषदको पहिलो बैठकबाटै मन्त्रालयको संख्या १३ बाट घटाएर ९ बनाएका थिए । अहिले प्रदेशका दुई ठूला दलको सहभागितामा सरकार बनेको बेला मन्त्रालय विभाजन हुनसक्ने संकेत मुख्यमन्त्री कार्कीले आइतबार पत्रकारबीच गरेका थिए ।

माओवादी केन्द्रले प्रदेशको आलोचना बढिरहेको बेला भागबण्डाको नाममा संघीयताको हुर्मत लिने र संघीय व्यवस्थालाई नै बद्नाम गर्ने कार्य रोक्न माग गरेको छ । बहुमतको बलमा बजेट संशोधन या पुनरावलोकन गर्ने प्रयास नगर्न पनि माओवादीले सरकारलाई खबरदारी गरेको छ ।

‘हाम्रो संविधान, आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व ऐन र संसदीय प्रणालीमा प्रदेशसभाबाट पारित भइसकेको बजेट संशोधन या पुनरावलोकनको सम्भावना रहन्न’ आङ्बोले भनेका छन्, ‘बहुमतको बलमा त्यस्ता असंवैधानिक र गैरकानुनी कार्य नसोच्न गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’ प्राकृतिक विपत्ती, अत्यावश्यक विधेयक र समसामयिक विषयहरुमा खुल्ला छलफल गर्न तत्काल प्रदेशसभा सुचारु गर्नुपर्ने विषयमा उनले पुनः जोड दिएका छन् ।

सोमबार, २८ साउन, २०८१, साँझको ०६:०२ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर