दुई सिफ्ट ओपीडीले निरन्तरता पाओस्

 सम्पादकीय

विराटनगरस्थित कोशी अस्पताल प्रदेशको सबैभन्दा ठुलो सरकारी अस्पताल हो । यो अस्पतालमा खासगरी आर्थिक अवस्था कमजोर भएका र ग्रामिण क्षेत्रका विरामीहरु उपचारको लागि आउने गरेका छन् । ओपीडीमा मात्र एक हजारभन्दा धेरै विरामी स्वास्थ्य चेकजाँच गर्नको लागि आउने अस्पतालको सेवा भने प्रभाबकारी बन्न सकेको छैन ।

अस्पतालमा कार्यरत धेरै स्वास्थ्यकर्मीहरुको निजी अस्पतालमा पनि लगानी भएकोले उनीहरुको ध्यान कोशीमा भन्दा निजी अस्पतालमै हुने गर्दछ । जसले गर्दा कोशीमा उपचारको लागि आएका विरामीको प्रभाबकारी उपचार गर्नेभन्दा आफने लगानी भएको अस्पतालमा ती विरामी लैजाने ध्याउन्नमा उनीहरु हुन्छन् । अस्पतालमा सरकारी सेवा सुविधा लिइहरेको भएपनि उनीहरु तोकिएको समयसम्म ड्युटी गर्दैनन् । स्वास्थ्यकर्मीले तोकिएको समय अबधिभरी ड्युटी नगरेकै कारण उपचारको लागि आउने विरामीहरु निजी अस्पतालमा महंगो शुल्क तिरेर उपचारको लागि जान बाध्य छन् । पछिल्लो पटक अस्पतालमा विरामीको सहजताको लागि दुई सिफ्ट ओपीडी सञ्चालनको सुरुवात भने सेवा प्रबाह सुधारको लागि सकारात्मक कदम हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । निर्देशन अनुसार दुई सिफ्टमा ओपिडी सञ्चालन भएपछि अब चिकित्सकहरु १० बजेदेखि ३ः३० बजेसम्म अस्पतालमा भेटिने अवस्था बनेको छ । यसअघि २ नबज्दै कोशीका चिकित्सक ओपीडी छाडेर हिँड्ने गरेका थिए । कोशीबाट बाहिर निस्कन हतार हुने गरेको कारण कतिपय अवस्थामा चेकजाँचको लागि आएका विरामी त्यत्तिकै फर्कन बाध्य हुन्थे भने कतिपय अवस्थामा हतारहतार विरामी हेरेर चिकित्सक हिँड्ने गरेका थिए । अर्कोतिर विहान आएर ओपीडीमा चेकजाँच गरेका विरामीले ल्याब परीक्षणको रिपोर्ट देखाउन अर्को दिन पर्खनुपर्ने बाध्यता थियो । दोस्रो सिफ्ट पनि सञ्चालन भएपछि बिरामीले ओपीडीमा देखाएर चिकित्सकले सिफारिस गरेका ल्याब परीक्षणपछिको रिपोर्ट सोही दिन देखाउन पाउने अवस्था बन्नु सकारात्मक सुधार हो ।

अब कोशीमा विहान ९ बजेदेखि १ बजेसम्म र १ बजेदेखि ३ः३० बजेसम्म दुई सिफ्ट ओपीडी सेवा सञ्चालन हुनेछ । अस्पतालले सिफ्ट अनुसार जिम्मेवारी तोकेको जनाएको छ । तर, कतिपय विभागमा एक जना मात्र चिकित्सक रहेकोले दुई सिफ्ट सञ्चालनमा पनि समस्या देखिएको छ । अस्पतालको महत्वपूर्ण विभाग क्यान्सर र न्युरो सर्जरीमा एक–एक जना मात्रै विशेषज्ञ चिकित्सक कार्यरत छन् । यो समस्या समाधान गर्न जनशक्ति थप गरेर सेवा प्रवाहलाई प्रभाबकारी बनाउन लाग्नुपर्छ । प्रयोगशाला सेवामा पनि आवश्यक जनशक्ति थप गर्दै समय अबधि थप गरेर सेवा प्रभावकारी बनाउनुपर्छ । अस्पतालले आन्तरिक खिचातानीको कारण स्वीकृत भएको दरबन्दीमा पनि जनशक्ति व्यवस्थापन गर्न सकेको छैन । सरकारसँगको समन्वयमा यो काम पनि छिटोभन्दा छिटो सम्पन्न गरेर सेवालाई प्रभाबकारी बनाउनुपर्छ । अहिले सुरु भएको दुई सिफ्ट ओपीडी सेवालाई प्रयोगशाला परीक्षणतर्फ पनि विस्तार गर्दै निरन्तरता दिनुपर्छ ।

बिहिबार, २४ साउन, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर