विराटनगर । पर्यटन व्यवसायी नवराज विष्टले खोटाङको तत्कालीन दिप्रुङ चुइचुम्मा गाउँपालिकाको डाँडा गाउँमा जन्मिएका हुन् । खानलाउनको समस्या त्यसमाथी बालीमा बाँदरले हैरानी दिनथालेपछि २०५७ सालमा सम्पूर्ण परिवार नै सप्तरीको फत्तेपुर गाउँपालिकामा बसाइँ सरे । सप्तकोसी नगरपालिकामा विष्टको पुख्र्यौली जमिन अहिले पनि छ । उनले फत्तेपुरबाटै २०६१ सालमा एसएलसी पास गरे ।
एसएलसी दिएपछि उनी आफनो भविष्य खोज्दै काठमाडौँ गए । गाउँमा उच्च शिक्षाका लागि राम्रो कलेज नभएकोले पनि काठमाडौंलाई उनले विकल्प बनाएका थिए । काठमाडौंमै बसेर पढ्ने उनको सपना पनि थियो । त्यसैले उनले करिब ३ महिना त्यहाँ संघर्ष गरे । परिवारको आर्थिक अवस्था ज्यादै न्यून भएकाले ३ महिना काठमाडौं बसेपछि टिक्न सकिदैन भन्ने निश्कर्षमा उनी पुगे । काठमाडौंको बसाइ सहज छैन भन्ने निश्कर्ष निकालेपछि उनी विराटनगर आए । विराटनगर आउँदा उनले बुबा खड्गबहादुर विष्टबाट एक हजार रुपैयाँ लिएका थिए । विराटनगर आएर उनी विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्न थाले । करिब ६ महिना जति जेनतेन साथीभाइसँग अैंचोपैँचो गरेर दुःख गरेको उनले सुनाए । ‘एक जना दिदीसँग सरसल्लाह गरेर उहाँकै घरमा बस्ने योजना बनाएर आएको थिएँ,’ उनले भने ‘मैले सोचेजस्तो दिदीको पनि अवस्था रहेनछ । मलाई पहिलो गाँसमै ढुङ्गा लागिहाल्यो ।’
विराटनगरमा आउँदा एउटा भात पकाउने भड्डु (कसौंडी) र एउटा पन्युँ उनले घरबाट ल्याएका थिए । दाल, तरकारी र भात एउटै भाँडामा पकाएर काम चलाएको उनी सम्झिन्छन् । कलेज पढ्दै जाँदा साथीहरु बन्दै गए त्यसपछि उनलाई साथीभाइको सहयोगले सहज पनि हुँदै गयो ।
झण्डै ६ महिना पछाडि उनले विराटनगरको रत्ना होटलमा एउटा काम पाए । होटलमा वेटरको काम थियो । गाउँमा जन्मिएको र वेटर सम्बन्धी पढाई र तालिम नलिएका उनका लागि त्यो काम बिल्कुल नौलो थियो । तर उनले सक्छु भन्ने आँट गरे । काम गर्न थालेपछि महिनाको २५ सय तलब पाउन थाले । घरबाट एक हजार रुपैयाँ लिएर हिँडेकाले उनलाई २५ सय रुपैयाँ ठुलो थियो । एक हजार रुपैयाँले त्यसबेला विराटनगरमा जेनतेन महिनाको खर्च टथ्र्यो ।
उनी बिहान कलेज पढ्थे, दिउँसो होटलमा काम गर्थे । निरन्तर दुई वर्ष उनले रत्ना होटलमा काम गरे । त्यसपछि उनले एउटा गार्मेन्ट उद्योगमा मार्केटिङको काम सुरु गरे । सिकारुको रूपमा होटलमा प्रवेश गरेका नवराजलाई मार्केटिङको काम पनि नयाँ थियो । ६ महिना जति ब्याग उद्योगमा काम गरेपछि रत्नाले उनलाई फेरि काम गर्न बोलायो । पहिलेको भन्दा दोब्बर तलब दिने प्रस्ताव पछि उनी फेरि होटलमै काम गर्न थाले । उनले मासिक ४५ सय रुपैयाँ कमाउन थाले । २०६७ साल सम्म उनले त्यहाँ काम गरे । काम गर्दै उनले उच्च शिक्षा हासिल गरे । २०६७ सालमा उनलाई अर्काे अवसर आइलाग्यो । धनकुटाको हिलेको कान्जिरोवा होटलमा म्यानेजमेन्टको जिम्मेवारी सम्हालनु पर्ने प्रस्ताव आयो । जिम्मेवारीसँगै आकर्षक तलबले उनलाई आकर्षण नगर्ने कुरै थिएन । त्यसमा पनि काम गर्दै गरेको होटलका सुपरभाइजर र व्यवस्थापन टिमले पनि उनलाई नयाँ प्रस्ताव स्वीकार्न सहयोग गरे ।
तलब बढी भए पनि कान्जिरोवा यात्रामा नवराजका लागि कम चुनौती भने थिएन । सुरुको एक महिना उनलाई निक्कै गाह्रो भयो । नयाँ काम भएकाले धेरै मेहनत गर्नु परेको उनले बताए । दोस्रो महिनादेखि कामले रफ्तारमा गति लिन थालेको अनुभव उनले सुनाए । झण्डै साढे तिन वर्ष उनले होटल कान्जिरोवा आफ्नै रेखदेखमा चलाए । त्यसबेला उनको तलब मासिक १५ हजार रुपैयाँ थियो ।
होटलको काम छोडेर उनले २०६९ सालमा विराटनगरमा आफ्नै गार्मेन्ट उद्योग सुरु गरे । हिलेको होटलमा काम गर्दै गर्दा नै उनले झोला बनाउने गार्भेन्ट उद्योगमा लगानी गरेका थिए । आफैंले केही उद्यम गर्नुपर्छ भन्ने सोच र जाँगरले गर्दा उनले करिब २ लाख रुपैयाँ जति लगानी गरेर झोला बनाउने गार्मेन्ट उद्योग खोलेको उनले बताए । त्यो उद्योग उनले २०७३ सालसम्म संचालन गरे । तर उनले सोचे जस्तो व्यापार भने गर्न सकेनन् । ७० सालको अन्तिम तिर उनले हिलेबाट विराटनगर उद्योग आफैंले हेर्न थालेका थिए । झोला बनाउने गार्मेन्ट चलाए पनि उनमा होटल व्यवसायको रस पसिसकेको थियो । गार्मेन्ट सञ्चालन गरिरहेकै बेला उनले विराटनगरकै होटल प्यासेफिकको व्यवस्थापन पनि हेर्न थाले । सर्कल भन्ने होटल प्यासेफिक कै अर्काे पनि रेस्टुरेन्ट थियो । ती दुवैको व्यवस्थापन हेर्ने गरी उनले मासिक २८ हजार तलबमा काम गर्न थाले । समय अनुसार पारिश्रमिक नबढाएपछि उनले त्यो काम पनि छोडे । त्यसपछि उनले रुविज इन्टरनेसनल होटलमा लगानी गरे । त्यो होटल त्यतिबेला विराटनगरकै ट्राफिक चोकमा थियो । होटलमै काम गरेर खारिएको अनुभव भएकाले उनलाई सहज पनि थियो ।
साझेदार विश्वबन्धु खड्का र नवराज भएर त्यस होटलमा लगानी गरेका थिए । पछि खड्काले पार्टनरसिप छोडे । करिब डेढ लाख रुपैयाँ सापटी लिएर होटलमा लगानी गरेको उनी सुनाउँछन् । त्यसबेला मासिक १ लाख १० हजार रुपैयाँ भाडा मात्रै तिर्नुपथ्र्याे । बजारले पत्याएको र समय परिस्थितिले समेत साथ दिएकाले उनले सोचे भन्दा राम्रो प्रगति गरे । मेहनत सँगसँगै इमान्दारिता ठुलो कुरा भएको उनी बताउँछन् । उनलाई त्यतिबेला ठुलै जोखिम लिइयो कि भन्ने डर पनि लागेको थियो । पहिलो महिना नै उनले खर्च कटाएर डेढ लाख रुपैयाँ जति बचत गरेका थिए । त्यसबाट उनलाई उत्साह पनि थपियो । उनले लगानी उनले थप्दै लगे । कोभिडले थिलथिलो बनाउला भन्ने डर पनि उनलाई थियो । तर कोभिड उनका लागि अवसर बनेर आइदियो । संयोगले कोभिडको बेला प्रदेश सरकारले सञ्चालन गरेको कोशी कोभिड अस्पताल र होल्डिङ सेन्टरतिर खाना सप्लाई गर्ने काम उनको होटलले प्राप्त गर्यो । सबै व्यापार व्यवसाय बन्द गरेर बसेको बेलामा उनको काम धमाधम चलेको उनले बताए ।
होटलबाटै गरेको कमाइले उनले विराटनगरमा घडेरी किनेर घर पनि बनाए । अहिले विराटनगरको मुनालपथमा रुविज होटल सञ्चालनमा छ । विराटनगरको ट्राफिक चोकबाट उनले मुनालपथमा जग्गा लिजमा लिएर होटल सारेका हुन् । झण्डै तीन करोड रुपैयाँको लगानीमा होटल सञ्चालन भइरहेको उनले बताए । तीन जना साझेदार मिलेर अहिलेको होटलमा सेवा विस्तार गरिएको उनले बताए । निकट भविष्यमै भेडेटार र इटहरीमा पनि होटलको शाखा विस्तार गर्ने उनको तयारी छ । तीन जना लगानीकर्ता मध्ये उनी व्यवस्थापन हेर्छन् । सबैसँग राम्रो जनसम्पर्क भएका कारणले होटलले राम्रो काम पनि पाइरहेको छ । होटलबाट सोचे भन्दा राम्रो आम्दानी गर्न सफल भइरहेको उनले बताए । होटलमा लगानी गरेका साझेदारहरुमध्ये कविराज थापा उनका मामाका छोरा हुन् भने अर्का साथी उपेन्द्र यादव हुन् ।
उनी राजनीतिक तथा सामाजिक काममा पनि व्यस्त छन् । नेपाल रग्बी खेलकुद संघको उनी कोशी प्रदेशको सचिव छन् । दैनिक १७ घण्टा काम गर्ने गरेको उनले बताए ।
सफलताको पछाडि श्रीमती अम्बिका बुढाथोकीको ठुलो सहयोग रहेको उनी बताउँछन् । ‘गाह्रो पर्दा आफ्नो माइतीबाट सुनका गरगहनाहरू ल्याएर पनि गर्जो टार्न पैसाको जोहो नगरिदिएको भए ठुलो व्यवसाय थाल्ने आँट आउँदैनथ्यो,’ उनले भने । आफ्नो इच्छा आकांक्षालाई थाँती राखेर भएपनि पत्नीले गरेको सहयोगकै कारण आफूले होटल व्यवसायमा सफलता प्राप्त गरिरहेको नवराज बताउँछन् । नवराजले भने ‘मेरो सफलताको श्रेय उनैलाई जान्छ । श्रीमती पनि मोरङकै बुढीगंगा स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत छन् ।
केही वर्ष अघिसम्म अरुकै व्यवसायमा रोजगार गरिरहेका विष्टले अहिले नवराजले प्रत्यक्षरुपमा १७ जनालाई रोजगारी दिएका छन् र व्यवसायिक सफलतार्फ अघि बढिरहेका छन् ।