बंगाल विद्रोहको सन्देश

 सम्पादकीय

सत्तास्वार्थको लागि धेरै ठूला काण्ड भइरहने मुलुक हो, बंगलादेश । पाकिस्तानबाट विभाजन भएर स्वतन्त्र भएको ५० वर्षको अबधिमा सत्ता केन्द्रित धेरै ठूला काण्ड त्यहाँ भएका छन् । सत्तामा पुग्नको लागि बहालवाला राष्ट्रपति र प्रधानमन्त्रीको हत्या गर्नु, सत्तामा पुगेपछि पूर्व सरकार प्रमुखलाई जेल वा निर्वासनमा पठाउनु त्यहाँको नियति जस्तै भएको छ । यस पटक पुनः बंगलादेशमा राजनीतिक उथलपुथल भएको छ । १५ वर्षदेखि सरकारको नेतृत्व गर्दै आएकी प्रधानमन्त्री शेख हसिना वाजेद सोमबार देश नै छाडेर भाग्न बाध्य भइन् । विद्यार्थीहरूको ‘आरक्षण’ विरोधी आन्दोलनलाई कम आँक्नु, समयमा त्यसको सम्बोधन नगर्नु, सत्ताको दम्भ देखाउनु र आन्दोलन कति अगाडि बढ्नसक्छ भन्ने आँकलन नगर्नु उलको लागि दुर्भाग्य भयो । भर्खरै भएको निर्वाचनबाट दुईतिहाईभन्दा बढि मतसहित सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्रीले देश नै छाडेर भाग्नुपर्ने अवस्था विश्व राजनीतिमा दुर्लभै घटनामध्ये हो । तर, बंगलादेशको लागि भने त्यो सामान्य मानिन्छ ।

नागरिक शासकलाई हटाएर विगतमा धेरैपटक सेनाले शासन हातमा लिएको थियो । बंगलादेश स्वतन्त्र बनाउने नेतृत्वकर्ता रहेका हसिनाका पिता तथा प्रथम राष्ट्रपनि शेख मुविजको १९७५ मा सेनाले हत्या नै गरेको थियो । त्यसबेला राष्ट्रपति, उनकी श्रीमति, छोराहरुसहित परिवारका १८ जनाको हत्या हुँदा विदेशमा भएको कारण हसिना र उनकी बहिनी मात्र बाँच्न सफल भएका थिए । मुलुक स्वतन्त्र भएको ४ वर्ष नवित्दै स्वतन्त्रा आन्दोलनको नायकको हत्याको घटनाले सत्ताको लागि बंगलादेशमा केसम्म हुन्छ भन्ने चित्र देखाउँछ । त्यति मात्र हैन, १९८१ मा बंगलादेशका अर्का राष्ट्रपति जियाउर रहमानको पनि सेनाले हत्या गरेर शासन हातमा लिएको थियो । सैनिक शासनविरुद्ध जिआउरकी श्रीमति खालिदा जिया र हसिना मिलेर आन्दोलन गरेका थिए । आन्दोलपछ आएको प्रजातन्त्रमा खालिदा र जिया दुबै पालैपाले प्रधानमन्त्री भए । तर, एउटा सत्तामा हुँदा अर्कोलाई जेल पठाउने उनीहरुको नियमित चक्र जस्तै थियो । पछिल्लो समयमा पनि जियालाई हसिनाले जेल हालेर विपक्षी विहिन निर्वाचनबाट विपक्षीविहिन सरकार चलाइरहेकी थिइन् ।

हसिनाको कार्यकालमा बंगलादेशले दक्षिण एसियाका अरू मुलुकले भन्दा धेरै आर्थिक सामाजिक विकास गरेको बताइन्छ । प्रतिव्यक्ति आयमात्र होइन नागरिकको क्रयशक्तिका मुलुकको अन्तर्राष्ट्रिय प्रभाव पनि विस्तार भएको छ । तर, लोकतान्त्रिक बाटोबाट सत्तामा पुगेकी हसिनाको निरंकुश र लोकतन्त्र विरोधी शैलीले उनको राजनीतिक अवसान मात्र बनाएको छैन, बंगलादेशको लोकतन्त्र र भविष्यलाई नै अन्यौलामा धकेलेको छ । नयाँ पुस्ताको आकांक्षा र आवाज नसुनेमा कस्तो विद्रोह उठ्न सक्छ भन्ने सन्देश बंगलादेशले दिएको छ ।

बंगादेश मात्र नभएर दक्षिण एसियाका मुलुकहरु अफगानिस्तान र श्रीलंकामा यसअघि त्यस्तै अवस्था आएको थियो । त्यहाँका शासकहरु पनि मुलुक छाडेर भाग्न बाध्य भएका थिए । यो घटनाले चुनावमा पाएको बहुमत वा कुनै कानुनले पनि नागरिकको प्राकृतिक अधिकार खोस्ने अनुमति दिँदैन भन्ने सन्देश लिएको पनि छ । बहुमतको शासन नागरिकले सडकबाटै पल्टाइदिनसक्छन् भन्ने उदाहरण बंगलादेशको विद्यार्थी आन्दोलनले दिएको छ । जसको सुरुवाती माग सामान्य थियो । अनुचित आरक्षण हटाउने माग अदालतले सम्बोधन गरिसक्दा पनि हसिनाले त्यसलाई ठिकसँग ग्रहण नगर्दा यो अवस्था आएको हो । सबै शासकहरुले यसबाट सन्देश लिनुपर्छ, शिक्षा लिनुपर्छ ।

बुधबार, २३ साउन, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर