स्मृतिमा भक्तराज आचार्य

 भरत पोख्रेल

आजभन्दा एकवर्ष अगाडि वि. स. २०८० साल साउन २० गते (अगस्त ५, २०२३) भक्तराज आचार्यको देहावसान भयो । एउटा कुरा स्पष्ट पार्नु जरुरी छ कि यहाँ उल्लेख गरेको भक्तराज आचार्य गायक होइन विराटनगरका नायक प्राध्यापक भक्तराज आचार्य हो । भक्तराज आचार्य स्मृति–पुस्तक प्रकाशन समिति विराटनगरले स्मृतिमा भक्तराज आचार्य स्मृति–पुस्तक वि. स. २०८१ साउन ४ गते विराटनगरको एलिट क्लबमा सार्वजनिक ग¥यो । भक्तराज आचार्यका सहकर्मी कृष्ण पोखरेलले यो स्मृति–पुस्तकको सम्पादन गर्नु भएको छ । पुस्तक तीन खण्डमा विभाजित छः पहिलो भक्तराज आचार्यको आत्मकथा खण्ड, दोस्रो भक्तराज आचार्यलाई चिन्ने आफन्त, अग्रज, सहपाठी, सहकर्मी, विद्यार्थीहरूको स्मृति लेख खण्ड र तेस्रो तस्बिर खण्ड ।

भक्तराज आचार्यको बसाइ र पढाइ यायावरको जीवन जस्तो देखिन्छ । बसाइ ताँखुवा–धनकुटा, दार्जिलिङ–खर्साङ, कुमरखत–सुनसरी, धरान–सुनसरी, बाहुनीबनोल–मोरङ, शनिश्चरे–झापा, नक्सलबाडी–भारत, पूर्णिया–भारत अनि विराटनगर–मोरङमा स्थायी बसोबास देखिन्छ । प्रारम्भिक शिक्षा गोथल्स स्कुल खर्साङ–भारत, म्याट्रिकुलेसन बनारस–भारत, आइए बनारस–भारत, बिए बनारस हिन्दु विश्वविद्यालय–भारत र एमए अंग्रेजी त्रिभुवन विश्वविद्यालय काठमाडौँ–नेपाल । प्राध्यापन सेवा मेची महाविद्यालय, भद्रपुर–झापा, आदर्श रात्रि महाविद्यालय, विराटनगर, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर र विराट साइन्स क्याम्पस, विराटनगर ।

भद्रकाली, गजेन्द्रको नाम फेरबदलीपछि भक्तराजमा आएर नामको स्थायीत्व हुन्छ । वहाँकी जीवन संगीनीले वहाँलाई मन भनेर सम्बोधन गर्नुहुन्थ्यो भने भतिजाभतिजीले नानीबुवा । भक्तराज आचार्यको आत्मकथा वहाँको जीवनका प्रारम्भदेखि श्रीमती लीला संग्रौला आचार्यको २०२९ साल किड्नीमा आएको समस्याका कारण मृत्युसम्म मात्र रहेको छ यद्यपि वहाँले संविधानसभाको चुनाव, नातिलाई स्कुल पु¥याएको प्रसङ्ग, भियतनामको १७ प्रतिशतको आर्थिक वृद्धि कुनै समाचार बन्दैन भने प्रचण्डको जादूयी छडीले कस्तो चमत्कार गर्ने हो नेपाली प्रतिक्षारत छन् अनि नेपाल र विश्व परिवेशबारे पनि आत्मकथामा व्याख्या गर्नु भए पनि आत्मकथा २०२९ मा नै टुङिएको देखिन्छ । आत्मकथा खण्डले पुस्तकमा १०८ पृष्ठ ओगटेको छ ।

पुस्तकको दोस्रो खण्डमा भक्तराज आचार्यलाई चिनेजानेका ४९ जनाका स्मृति संस्मरण पृष्ठ १०९ देखि २५९ सम्म समेटिएका छन् । यी संस्मरणहरूले भक्तराज आचार्यको बहुआयामिक व्यक्तित्वबारे विविध चर्चा गरेको पाइन्छ ।

पुस्तकमा बनमाली प्रसाद लाकौलको आधा पृष्ठदेखि यो पंक्तिकारको २२ पृष्ठसम्मका संस्मरणहरू रहेका छन् । पुस्तकमा ज्येष्ठ कमलप्रसाद कोइराला, विश्वराज पाण्डेदेखि कनिष्ठ सुनाज पोखरेल न्यौपाने गरी तीन पुस्ता उमेर समूहका संस्मरण समेटिएका छन् । पुस्तकका केही संस्मरणहरूमा मेरो ध्यानाकर्षण रहेको छ । एउटा संस्मरणमा भक्तराज आचार्यलाई धुम्रपान र मद्यपानले गलायो भनिएको छ । भक्तराज आचार्यको मृत्यु ८५ वर्ष (जन्म वि. स. १९९६ र मृत्यु २०८०) उमेरमा भएको थियो । एउटा नेपालीको औषत आयु २०७८ को जनगणना अनुसार ७१.३ वर्ष देखिएको छ भने भक्तराज आचार्य विश्वका सबैभन्दा दीर्घजीवन बाँच्ने जापानी पुरुषहरूको जति ८५ वर्ष बाँच्नु भयो । उमेरका हिसाबले भक्तराज आचार्यलाई अल्प आयुमा मृत्यु भएको भन्न मिल्दैन । हो धुम्रपान र मद्यपान मानिसका स्वास्थ्यका लागि हानिकारक नै हुन । आधी दर्जन लेखकहरूले भक्तराज आचार्यलाई दोस्रो विवाह नगरेर दुख पाएको, दोस्रो विवाह नगर्नु घातक भएको लेखेका छन् । कृपया ती लेखकहरूले जवाहरलाल नेहरु र गिरिजाप्रसाद कोइरालालाई पनि त्यसै भन्नु हुन्छ कि ?

एउटा संस्मरण भक्तराज आचार्यलाई वामपंथी ट्याग लाउन मिल्दैन भन्ने समेत रहेको छ तर भक्तराज आचार्यले आफ्नो आत्मकथामा अनेक ठाउँमा आफू वामपंथी रहेको स्वयं नै लेख्नु भएको छ । बनारसको रामापुरामा डेरा बस्ने नेपाली विद्यार्थीमा वहाँमात्र प्रगतिशील समूहमा आवद्ध रहेको आत्मकथामा उल्लेख छ ।

एक ठाउँमा त मैले कार्ल मार्क्स अध्ययन गरेर नभै साम्यवादमा गरिब र असहाय वर्गको हितको रक्षा हुन्छ भन्ने वहाँबाटै बुझेकाले र आफै पनि असहाय प्रतिको त्यस्तै विचार राख्ने भएकाले वामपंथी विचारबाट प्रभावित भएको हुँ लेख्नु भएको छ । वहाँका दुई साथी महेन्द्रप्रसाद रिजाल र राजेन्द्रप्रसाद गुप्ताले पनि संस्मरणमा हामी वैचारिक रूपमा फरक धारका थियौं भनेर त्यो कुराको पुष्टि गर्नु भएको छ । वहाँ कुनै कम्युनिस्ट पार्टीको सदस्य चाहिँ कहिले बन्नु भएन । एक जनाले राजावादी वेदानन्द झा र गणतन्त्रवादी रामराजाप्रसाद सिंहलाई एउटै बास्केटमा राखेर मोर क्याथोलिक द्यान पोप बन्न खोज्नु भएको छ ।

पुस्तकमा भक्तराज आचार्यका परिवारका सदस्यहरूमा भतिजी संगीता थापा आफ्नो प्यारो नानीबुवाको विषयमा लेख्ने एक्लो सदस्य देखिनु भएको छ तर भक्तराज आचार्यका सहयोगी साथी कृष्ण पोखरेलका सपरिवारले वहाँबारे लेखेर यो अभावलाई कम गरेको छ । पुस्तकमा विराट साइन्स क्याम्पससँग जोडिएका दर्जन बढी लेखकहरूका संस्मरण छन् कारण भक्तराज आचार्य विराट साइन्स क्याम्पसको संस्थापक अध्यक्ष तथा पछि क्याम्पस प्रमुख रहनु भएको थियो । कृष्ण पोखरेलको फर्केर हेर्दा पुस्तकको पृष्ठ १२९ देखि १३९ सम्म विराट साइन्स क्याम्पसको स्थापना र अवसान शीर्षकमा लामो आलेख छ । विराट साइन्स क्याम्पसबारे मेरो बुझाइमा त्यो विराटनगरका प्रगतिशील प्राध्यापकहरूको सफल असफलता (सक्सेसफुल फेलियोर) बन्यो ।

तेस्रो तस्बिर खण्ड भक्तराज आचार्य, छोरा राहुल, नाति सारांश, नातिनी संस्कृति, दाजु राजेन्द्र, दिदी नन्दकुमारी, कृष्ण पोखरेल, पोखरेल दम्पतीसँग र थप केही तस्बिर छन् तर दुइटी छोरीहरू लीना र मनिषाका तस्बिर त्यहाँ नहुँदा अलि अपुग जस्तो लागेको छ । हो भक्तराज आचार्यको पछिल्लो पारिवारिक जीवन दुःखद रह्यो ।

नेपाल, अमेरिका बसाइमा अस्थिरता, छोरा राहुलको पारिवार विघटन । त्यो घाउलाई वहाँका भाइसाथीले अपठेरामा सहयोग मात्र गरेनन् पुस्तक प्रकाशन समितिले स्मृतिमा भक्तराज आचार्य पुस्तक प्रकाशित गरेर भक्तराज आचार्यलाई सम्मान दिएको छ । यस्तो सम्मान पाउने हकदार थोरै हुन्छन् भक्तराज आचार्यले त्यो ठाउँ पाउनु भएको छ ।

भक्तराज आचार्यलाई पुस्तकमा लेख्ने अधिकांशले २०३० पछि मात्र चिनेजानेका हुन् । भक्तराज आचार्य महेन्द्र मोरङ आदर्श क्याम्पसमा प्राध्यापन गर्दासम्म इमान्दारिता र स्वाभिमानको एउटा उम्दा उदाहरण हुनुहुन्थ्यो । भक्तराज आचार्यको महेन्द्र मोरङ आदर्श क्याम्पसमा प्राध्यापन गर्दाको समय वहाँ प्राध्यापक र विद्यार्थीका रोल मोडेल हुनुहुन्थ्यो । असमान व्यवहार र चित्त नबुझेका विषयमा वहाँको प्रशासन विरुद्धको गर्जन धेरैले सुनेकै स्वर हो । वि. स. २०३४ सालमा सदनको चुनावमा हाम्रो विराट सदनको निर्णायक रहनु भएका भक्तराज सरले मैले ९४ मत र मेरा प्रतिस्पर्धीले ४ मत मात्र पाउँदा मेरो पीठ्यूँमा थपथपाएको बधाईको धाप मैले कहाँ बिर्सेको छु र मेरो प्यारो भक्तराज सर !

सोमबार, २१ साउन, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर