सम्पादकीय
यो वर्षको एसईई परीक्षाको नतिजा जस्तै कक्षा १२ को पनि कमजोर नतिजा आएको छ । परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये झन्डै आधा विद्यार्थी फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नियमिततर्फको नतिजाअनुसार ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थी सहभागी भएकामा २ लाख ३ हजार ८ सय ४७ अर्थात ५२.१५ प्रतिशत मात्र पास भएका छन् । १ लाख ८७ हजार २१ अर्थात ४७.८४ प्रतिशत फेल भएको नतिजाले विद्यार्थी हैन, हाम्रो शिक्षा प्रणाली र राज्य नै फेल भएको देखाउँछ । एसईईमा मा ४७.८७ प्रतिशत मात्र विद्यार्थी पास भएका थिए । त्यसको तुलनामा कक्षा १२ को नतिजा केहि राम्रो देखिएपनि पनि विद्यालय तहको नतिजा कमजोर देखिएको छ । दूरदराजमा रहेका सामुदायिक विद्यालयको अवस्था कमजोर रहेकाले पनि नतिजा सन्तोषजनक देखिएको छैन । कक्षा ११ र १२ सुरु भएको ३० वर्ष भएपनि न शिक्षण पद्दतिमा सुधार भएको छ, न आवश्यकता अनुसार शिक्षक दरबन्दी छ । योग्य, दक्ष र क्षमतावान शिक्षक नभएका कारण पनि नतिजामा सुधार हुन सकेको छैन ।
नतिजामा सैद्धान्तिक र आन्तरिकको अलग अलग ग्रेडप्वाइन्ट र ग्रेड उल्लेख भएको छ । त्यसपछि समग्रमा विषयगत ग्रेड हुनेछ । सबैभन्दा पुछारमा ग्रेड प्वाइन्ट एभरेज (जिपिए) उल्लेख हुन्छ । यसपटकबाट नयाँ जारी गरिएको लेटर ग्रेडिङ निर्देशिकाअनुसार मूल्याङ्कन भएको छ । सोअनुसार ३५ प्रतिशत प्राप्त नगर्नेको ननग्रेडेड उल्लेख हुनेछ । नन ग्रेडेडको व्यवस्था सैद्धान्तिक र आन्तरिक दुवैमा लागू गरिएको छ । ननग्रेडको व्यवस्थाले गर्दा ‘अनुत्तीर्ण’ हुनेहरुको संख्या बढी भएको पनि बताइएको छ । बढीमा दुई विषयसम्म ननग्रेड प्राप्त गरेका परीक्षार्थीका लागि ग्रेडवृद्धिको परीक्षा सञ्चालन हुनेछ । उनीहरुले तीन पटकसम्म पनि ननग्रेड प्राप्त गरिरहेमा त्यसपछिको परीक्षामा पूरै विषयको परीक्षा दिनुपर्ने हुन्छ ।
एसइई र कक्षा १२ को नतिजाले राज्यले शिक्षामा गरिरहेको लगानीको सही र व्यवस्थित सदुपयोगबारे प्रश्न उठेको छ । एसईईको परीक्षा प्रणालीमा अपनाइएको फरक मापदण्ड अर्थात् सैद्धान्तिकतर्फ ३५ अंक ल्याएकै हुनुपर्ने मात्रै धेरै विद्यार्थी ‘अयोग्य’ हुनुको कारण थिएन । मुख्य त सामुदायिक शिक्षामा राज्यको ध्यान नपुग्नु र सुधार्न कत्ति प्रयास नगर्नु र राजनीतिक हस्तक्षेपमात्रै गर्नुलगायत मुख्य कारण थिए र छन् । कक्षा १२ को नतिजाले पनि विद्यालय शिक्षाको ऐना देखाएको छ । विद्यालय तह उत्तीर्ण नभएको नागरिक भोलिका दिनमा दक्ष नागरिक बन्न चुनौति छ । शिक्षामा राज्यको अर्बौं रुपैयाँ लगानी भएपनि नतिजा कमजोर आएको छ । विद्यालय शिक्षा खस्किरहेको छ । त्यसलाई सुधार गर्ने, शिक्षक अभावलाई पूर्ति गर्ने र शिक्षण पद्दतिको कमजोरीलाई सुधार्न सरकारको ध्यान गएको छैन । शिक्षा क्षेत्रमा भएको लगानी पनि आफैंमा पनि पर्याप्त छैन । लगानी वृद्धि गर्दै शिक्षा प्रणालीका तमाम कमजोरीमा सुधार नगरेसम्म विद्यालय शिक्षामा सुधार आउने देखिन्न ।