स्थानीय सरकारलाई लाभदायक हुनसक्छ चिकित्सक संघसँगको सहकार्य

स्थानीय सरकारलाई लाभदायक हुनसक्छ चिकित्सक संघसँगको सहकार्य

नेपाल चिकित्सक संघ, चिकित्सक वा स्वास्थ्यकर्मीसँग सम्बन्धित मात्र नभई नेपालको सबैभन्दा जेठो अर्थात पहिलो पेशागत संगठन हो । २००७ साल फाल्गुन २० गते वीर अस्पतालमा कार्यरत डाक्टरहरुले वीर अस्पतालमा नै बैठक गरेर नेपाल चिकित्सक संघ स्थापनाको प्रक्रिया अगाडि बढाएको इतिहास छ । सो बैठकमा पेशागत हक, हित, प्रतिष्ठा, संगठन, एकता, तालिम एवं प्रशिक्षण, स्वास्थ्य सेवालाई नियमसंगत जस्ता विविध १३ बँुदे निर्णयसहित नेपाल चिकित्सक संघको स्थापनाका लागि निवेदन दिने तयारी भयो । चैत्र २ गते स्वास्थ्य मन्त्रालयमा निवेदन दर्ता भयो र गृह मन्त्रालयबाट आवश्यक कारवाही भएर २००७ मा नै संस्थापक अध्यक्ष डा. सिद्धिमणि आर्चाय दिक्षितको अभ्यक्षतामा नेपाल चिकित्सक संघ पेशागत संस्थाका रुपमा औपचारिक ढंगले स्थापित भयो । र, त्यस अवस्थामा नेपाल मेडिकल काउन्सिलकोसमेत स्थापना भएको थिएन । संघले यसको प्रमुख संरक्षक श्री ५ त्रिभुवन र स्वास्थ्य मन्त्रालय संरक्षक रहने प्रस्ताव गरेको थियो र सो स्वीकृत बक्स भएको थियो ।

वि.स. २००८ फाल्गुनमा तत्कालीन स्वास्थ्य मन्त्रालयका सचिव कुलधर्म रत्नले सल्लाहकार समितिका लागि संघलाई अनुरोध गरेका थिए । र, २०१४ वैसाखदेखि स्वास्थ्य मन्त्रालयको सल्लाहकार परिषदमा नेपाल चिकित्सक संघका महासचिव सदस्य हुने व्यवस्था कायम भयो । संघका लागि वि.स. २०१४ धेरै महत्वपूर्ण थियो । २०१२ भन्दा अगाडि संघ काठमाण्डौमा मात्र केन्द्रित थियो । २०१२ पछि उपत्यका बाहिर घुम्ती स्वास्थ्य सेवा टोलीका लागि प्राविधिक सहयोग गर्न थाले । विराटनगरमा संघ जस्तै समानान्तर संस्था “मेडिकल कन्फरेन्स” स्थापित थियो । २०१४ मंसिरमा काठमाण्डौमा नेपाल चिकित्सक संघ र विराटनगर मेडिकल कन्फेरेन्सको संयुक्त बैठकले संघको एकीकरण भयो । संघको पूर्वको शाखा विराटनगरमा, पश्चिमको शाखा नेपालगञ्जमा र केन्द्रीय कार्यालय काठमाण्डौमा रहने व्यवस्था भयो ।

वि.स.२०१९ कार्तिक ७–१० मा अखिल नेपाल चिकित्सक प्रथम सम्मेलन काठमाण्डौमा भयो । दोस्रो सम्मेलन २०२१ माघमा विराटनगरमा भयो । काठमाण्डौ बाहिरबाट प्रथम पटक छैठौं अध्यक्षका रुपमा विराटनगरका डा. अवधनारायण लाल भयो । डा. अवधनारायण लालकै कार्यकालमा नेपाल चिकित्सक संघका लागि काठमाण्ठौ प्रदर्शनी मार्ग अगाडि दुई रोपनी जग्गा प्राप्त भयो । हाल संघको भवन सोही जग्गामा रहेको छ । चिकित्सक पेशा मर्यादित हुनुपर्छ, नियमसंगत हुनुपर्छ र व्यवस्थित हुनु पर्छ भन्ने मान्यता संघले राखेको थियो । त्यसैले यसको अनुगमन र व्यवस्थापनको निकाय हुन जरुरी थियो । त्यसैले डा. लालकै कार्यकालमा संघको पहलमा “नेपाल मेडिकल काउन्सिल ऐन २०२०” पास भयो र संघका अध्यक्ष काउन्सिलको पदेन सदस्य रहने व्यवस्था भयो ।

नेपाल चिकित्सक संघ डाक्टरहरुको हक र हितका लागि मात्र नभएर समग्र गुण्स्तर र सर्वशुलभ स्वास्थ्य सेवाका लागि कटिबद्ध रहेको थियो । वि.स. २०२० सम्म औषधिमा १० प्रतिशत भन्सार रहेको थियो । तत्कालीन संघको महासचिव डा.शंकरबहादुर सिंहको नेतृत्व टोलीले सरकारसँग भन्सार न्यून गर्न अनुरोध गरेपछि औषधिमा १ प्रतिशत मात्र भन्सार लिने व्यवस्था कायम भएको इतिहास छ । यति मात्र होइन, वि.स. २०३० मा राष्ट्रिय पञ्चायतको २९ औं अधिवेशनमा श्री ५ वीरेन्द्रले दीर्घकालीन स्वास्थ्य निति (१९७५–१९९०) तर्जुमा गर्न संघका ५ सदस्यहरुलाई लिएर समिति बनाएका थिए ।

नेपाल चिकित्सक संघ एउटा पेशागत संगठन हो । त्यसैले पेशागत अधिकार सुनिश्चित गर्न र नेपालमा स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न चिकित्सा र दन्त व्यवसायहरूमा नैतिक अभ्यासहरूको गुणस्तर प्रवद्र्धन गर्नु संघको प्रमुख मिसन हो । संघका सदस्यहरूको व्यावसायिक स्तर, मूल्य र स्वतन्त्रताको उत्थान उवं संरक्षण गर्ने, चिकित्सकहरुको ज्ञान र सीप अभिवृद्धि गर्ने, शैक्षिक गतिविधिहरु सञ्चालन गर्ने दायित्व मात्रै संघले पूरा गरेको छैन, स्वास्थ्यका विभिन्न विषयमा जनतामा चेतना अभिवृद्धि गर्ने र जनताको स्वास्थ्य स्थितिमा सुधार ल्याउन सक्ने कुनै पनि कार्यक्रममा काम गर्ने लक्ष्य संघले राखेको विगतदेखि वर्तमानसम्म संघबाट सम्पादन भएका कार्यहरुबाट स्पष्ट हुन्छ ।

मेडिकल डाक्टरहरू बीच घनिष्ठ व्यावसायिक र वैज्ञानिक लिंकहरू बढाउँदै र डाक्टरहरू र आम जनता बीचको सम्बन्धलाई सुदृढ गर्दै व्यावसायिक हितको रक्षा गर्न; व्यक्तिगत सदस्यहरू बीच सद्भाव र सहयोगको भावना प्रवद्र्धन गर्दै बिरामीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न संघले सिकाएको छ । विगतदेखि वर्तमानसम्म चिकित्सा र सम्बद्ध विज्ञानको ज्ञान प्राप्त गर्न अनुसन्धान र अध्ययनहरूलाई प्रोत्साहित गर्न जर्नललगायत अन्य प्रकाशनहरू, चिकित्सा पुस्तकालयहरूको स्थापना, गोष्ठी, सेमिनार र सम्मेलनहरू आयोजना गर्दै आएको छ । संघले उपचारात्मक र निवारक चिकित्सा सुविधाहरूको प्रावधानहरू विकास र विस्तार गर्ने प्रयासमा प्रोत्साहन र मद्दत गर्न सरकारलाई समेत सहयोग गर्दै आएको इतिहास छ ।

स्वास्थ्य सेवा भनेको एकल नभई संयुक्त प्रयास हो । उपाचारका लागि नर्सिङ्ग केयर, वायोकेमेष्ट्रि र माइक्रोवायोलोजीका परीक्षणहरु, औषधि र सचेतना तथा प्रबद्र्धन सबै चाहिन्छ । यी सबै मात्र होइन शुद्ध पानी, राम्रो खाना, राम्रो वातावरण, तनावरहित जीवनसमेत सुस्वास्थ्यका लागि आवश्यक हुन्छ । संघले यी सबै पक्ष बुझेकाले होला स्वास्थ्य मन्त्रालयले स्वास्थ्यका नीति तथा कार्यक्रमहरुको कल्पना गर्दासमेत संघलाई आमन्त्रित गर्ने गरेको छ । अहिले देश संघीयतामा गएको छ । अहिले विज्ञको कमि छैन । तर पनि केन्द्रीय सरकार र मन्त्रालयले संघलाई साथमा लिएर नै अगाडि बढेको देखिन्छ । प्रदेश र स्थानीय सरकारसँग पनि विज्ञको कमि नहोला । तर गुणस्तरीय स्वास्थ सेवाका लागि २–४ जना विज्ञ वा २–४ किसिमका विज्ञ पर्याप्त नहुन सक्छ । नेपाल चिकित्सक संघ कम्युनिटी मेडिसिन (जनस्वस्थ्य) मात्र होइन सर्ने रोग, नसर्ने रोग, मातृस्वास्थ्य, शिशु तथा बालस्वास्थ्य, मानसिक स्वास्थ्य, लगायतका सम्पुर्ण विज्ञहरुको सोसाइटीहरुको छाता संगठनसमेत नेपाल चिकित्सक संघ हो । साथै संघको उद्देश्य पनि सुस्वास्थ्य समाज नै रहेकाले प्रदेश सरकार तथा स्थानीय सरकारले संघसँग सहकार्य गर्दा सर्वसाधारण र समाजलाई पक्कै राम्रो हुनेमा दुईमत नहोला ।

                                                                                          डा. बालकृष्ण साह नेपाल चिकित्सक संघ कोशी शाखाका महासचिव हुन् ।