काँग्रेसकै विवादले सरकार विस्तार अनिश्चित: २९ सांसदमा २७ जना मन्त्रीको दावेदार

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागिताको लागि खुट्टा उचालेर बसेको नेपाली काँग्रेसले आफ्नै गुटगत विवादका कारण नेकपा एमालेसँग भागबण्डा मिलेपनि मन्त्रीको नाम छनौट गर्न सकेको छैन । प्रदेश समितिलाई मन्त्री छनौटको अधिकार नभएको भन्दै पार्टीका प्रदेश सभापतिसमेत रहेका संसदीय दलका नेता उद्धब थापले केन्द्रले नै मन्त्रीको निर्णय नगर्दा ढिलाई भएको बताए ।

एमालेसँग सरकारमा चार मन्त्रालय लिने सहमति गरेपछि सोमबार विराटनगरमा काँग्रेसको प्रदेश कार्यसम्पादन समितिको बैठक बसेको थियो । तर, बैठकले कुनै ठोस निर्णय गर्न सकेन । जसको कारण सरकार विस्तार कहिले हुन्छ भन्नेबारे नेता थापासँग पनि प्रष्ट जवाफ छैन । ‘निर्णय आइसकेको छैन, अझै केहि दिन लाग्ला’ उनले भने ।

कोशी प्रदेश सरकारबाट गत साउन ११ गते माओवादी बाहिरिसकेको छ । माओवादी सरकारबाट बाहिरिएपछि खाली भएका भौतिक पूर्वाधार विकास, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालय तथा यसअघिदेखि नै खाली रहेको कृषि वा सामाजिक मन्त्रालय काँग्रेसले लिने सहमति छ ।
काँग्रेसको सोमबार बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले ‘कोशी प्रदेश सरकारमा सहभागी हुने’ निर्णय गरेको छ । जुन निर्णय यसअघि केन्द्रबाटै भइसकेको निर्णय हो । बैठकले मन्त्रीको नाम भने छान्ने अधिकार नभएकोले निर्णय नगरेको नेताहरुले बताएका छन् । काँग्रेसका प्रदेश उपसभापति रमेशजङ्ग रायमाझीले समावेशी आधारमा मन्त्री छनौट गर्ने निर्णय गरेको बताएका छन् ।

प्रदेश कार्यसम्पादन समितिले गरेको निर्णयको आधारमा दलका नेताले शीर्ष नेताहरुसँग परामर्श गरेर मन्त्रीहरुको नाम दिने रायमाझीले बताएका छन् । दलका नेता थापाले भने मन्त्रीको नाम पार्टी सभापतिले दिएपछि मात्र सरकार विस्तार हुने अवस्था रहेको बताएका छन् । ‘मन्त्री को बन्ने भन्ने निर्णय हामीले गर्ने अवस्था छैन’ उनले भने, ‘त्यो निर्णय पार्टी केन्द्र र सभापतिले गर्ने हो । सभापतिले नाम दिएपछि सरकार विस्तार हुन्छ ।’
सरकार विस्तारमा काँग्रेसको गुटगत विवादले पनि ढिलो भएको नेताहरुले स्वीकार गरेका छन् । काँग्रेसको शेखर कोइराला पक्षले देशभर कम्तिमा ११ प्रदेश मन्त्री आफ्नो समूहलाई दिनुपर्ने माग राखेको छ । तर, सभापति शेरबहादुर देउवा त्यो संख्या दिने पक्षमा छैनन् ।
जसको कारण सरकार विस्तार गर्न अझै एक साताभन्दा धेरै समय लाग्नसक्ने काँग्रेसकै नेताहरुले बताएका छन् । कोशीमा काँग्रेसका २९ सांसदमध्ये २७ जनाले नै मन्त्रीमा दाबी गरेको उपभापति रायमाझीले जानकारी दिएका छन् । तर, चार मन्त्री र २ जना राज्यमन्त्री हुने संभावना रहेकोले छान्न सजिलो नभएको उनको भनाइ छ ।

काँग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले केन्द्रीय नेताहरुमा देखिएको समस्याकै कारण प्रदेश सरकारमा सरकारमा जान ढिलाइ भएको बताएका छन् । ‘माथि नै समस्या देखियो । हाम्रो तलको समस्या होइन,’ उनले भने, ‘नेताहरुले मन्त्रीको नामावली दिएपछि मन्त्रीमण्डलमा सहभागीता हुन्छ । अझै एक हप्ता लाग्नसक्छ ।’ आफू मन्त्रीको दौडमा नरहेपनि पार्टीका २९ सांसदमध्ये २ जना

पूर्वमुख्यमन्त्रीबाहेक २७ जना नै आकांक्षी रहेको उनले सुनाए ।

काँग्रेस कोशी प्रदेशका महामन्त्रीसमेत रहेका सांसद भुपेन्द्र राईले आफूलाई २०७९ सालमै खोटाङका जनताले मन्त्री बन्नु भनेर चुनाब जिताएको बताएका छन् । तर, नेताको ढोकामा गएर आफूलाई मन्त्री बन्नुपर्छ भनेर नभनेको उनको दावी छ ।
काँग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा समूहबाट २ जना, डाक्टर शेखर कोइराला समूहबाट १ जना र नेता कृष्णप्रसाद सिटौला समूहबाट १ जना मन्त्री हुने चर्चा छ । देउवा समूहबाट दलका उपनेता हिमाल कार्की, पूर्वमन्त्री प्रदिपकुमार सुनुवार र सांसद खगेनसिं हाङ्गामको नाम चर्चामा छन् ।

हाङगाम ताप्लेजुङका प्रहरी प्रमुखलाई काटमारको धम्की दिएर यसअघि विवादमा मुछिएका थिए । कार्की अघिल्लो प्रदेशसभाको कार्यकालमा कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए भने सुनुवार प्रदेशसभाको यहि कार्यकालमा तीन पटक मन्त्री भइसकेका छन् ।

उता, शेखर कोइराला समूहबाट मोरङका मानबहादुर लिम्बू, उदयपुरका रामकुमार खत्री र इलामका गोविन्द गिरीमध्येबाट मन्त्री बन्ने चर्चा छ । लिम्बूलाई मन्त्री बनाउन काँग्रेस सांसद सुनिल शर्माको पनि दबाब रहेको बताइन्छ । उदयपुरका खत्री यसअघि दुई पटक मन्त्री भइसकेका छन् ।

सिटौला समूहबाट मन्त्री बन्ने लाइनमा काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुली र खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका भुपेन्द्र राई छन् । दुईजनामध्ये एक जनालाई सिटौलाले मन्त्री बनाउने चर्चा छ ।

काँग्रेसमा सोलुखुम्बुकी डोल्मा तामाङ, मोरङकी शोभा चेम्जोङ, पाँचथरकी मैया श्रेष्ठलगायत पनि मन्त्री बन्ने लविइङमा रहेका छन् । उनीहरुमध्येबाट राज्यमन्त्री बन्ने संभावना रहेको बताइन्छ ।

मङ्गलबार, १५ साउन, २०८१, बिहानको ०७:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर