मोरङका वडाध्यक्षद्वयको धारणा : स्थानीय तहमा पार्टीको उम्मेदवार चाहिँदैन

विराटनगर । धनपति गौतम मोरङको बेलबारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष हुन् । उनी वडाध्यक्षको रुपमा निरन्तर दोस्रो कार्यकाल बिताउँदै छन् । २०७४ को निर्वाचनमा काँग्रेसबाट वडध्यक्षमा निर्वाचित भएका गौतमले २०७९ को निर्वाचनमा स्वतन्त्रबाट जिते ।

नेपाली काँग्रेसका नगर सभापति छत्र लिम्बूको घर पनि सोही वडामा पर्छ । गौतमले वडाध्यक्षमा दोहो¥याउने बताएपछि पार्टीभित्र वहस चलेको थियो । उनले चुनाव नजित्ने आंकलन गरेपछि पार्टीले पूर्णबहादुर खड्कालाई टिकट दिने निर्णय ग¥यो । उनलाई त्यो निर्णय चित्त बुझेन र स्वतन्त्र चुनाव लड्ने निर्णय गरे । १ हजार ४१७ मत ल्याएर उनले चुनाव जिते । खड्का तेस्रो स्थानमा खुम्चिए । खड्काले १ हजार १४३ मत ल्याए । दोस्रो एमालेका पतिराम थापा मगर भए । उनले १ हजार २३६ मत ल्याए । थापा तत्कालीन डाँगिहाट गाविसका दुई पटक निर्वाचित उपाध्यक्ष थिए तर वडाध्यक्ष जित्न सकेनन् ।

पहिलो पटक चुनाव जित्दा गौतमले एमालेको सामना गर्नु परेको थियो । चारै जना वडा सदस्यहरू एमालेका थिए । ‘म पनि काँग्रेस भएकाले जुँगाको लडाइँ पनि हुने गरेको थियो,’ उनले भने ‘पार्टीको त्यो निर्णय नछाडेको भए पछि तलमाथि गर्न पाइँदैनथ्यो । पार्टीको लगाम लागेपछि वडावासीलाई सेवा दिन पनि समस्या हुँदोरहेछ । ’

अहिले भने धनपतिलाई काँग्रेससँग सामना गरिरहनु परेको छ । दोस्रो कार्यकालको एक वर्ष भने आफ्नै पार्टीबाट विद्रोह गरेको भनेर वडा सदस्यहरूको पेलान खाएको उनले बताए ।

प्रेम प्रसाद तामाङ, तिलकराम खवास, रिता राजवंशी र मनिता नेपाली सबै वडा सदस्यहरू काँग्रेसबाट नै निर्वाचित भएका हुन् ।निर्णय गर्ने कुरामा स्वतन्त्र भएपछि जो कसैको बहुमत भए पनि असर नगर्ने उनको अनुभव छ ।

खरायो चुनाव चिन्ह लिएर जितेका गौतमलाई वडावासीले पनि खरायो वडा अध्यक्ष भन्ने गरेका छन् । जनताको घरदैलोको सरकार भनेर चिनिने सरकार स्थानीय सरकार भएकाले स्थानीय तहमा स्वतन्त्रले जित्दा नै धेरै काम गर्न सकिने उनको तर्क छ ।

‘हिजो म पनि पार्टीबाट निर्वाचित भएको थिएँ । अहिले स्वतन्त्र छु । निर्णय पनि स्वतन्त्र हुन्छ । काम पनि छिटो दिन सकिन्छ । मलाई माथिल्ला सरकारको अनुभव छैन । तर स्थानीय तहमा स्वतन्त्रले काम गर्न सक्छ भन्ने उदाहरण पनि देखिएका छन् । दलको लगामले विकासमा बाधा पुग्छ’ उनले भने ।

यस्तै दलबाट जित्दा कार्यक्रम तथा निर्माणका काम पनि दलका कार्यकर्तालाई भाग लगाउनु पर्ने विगतमा बाध्यता रहेको उनले बताए । ‘फलाना कार्यकर्तालाई त्यो कार्यक्रम दिनु भनेर पार्टीको निर्देशन आउँथ्यो,’ उनले भने, ‘फलानालाई त्यो निर्माणको काम दिनु भनेर पार्टीको लगाम नै लगाइन्थ्यो । स्वतन्त्र भएपछि कुनै लगाम छैन । म ट्र्याक भन्दा बाहिर जान खोजें भने जनताले खबरदारी गर्छन् । ’ गौतमले आफू अब दलमा नफर्कने बताए ।

यस्तै हाँस चुनाव चिन्ह लिएर नै चुनाव जितेका हुन् सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवन सिंह मगरले । सुन्दरहरैंचा र बेलबारी छिमेकी पालिका हुन् । गौतमको र उनको घटनाक्रम लगभग मिल्दोजुल्दो नै छ ।

उनी पनि अघिल्लो निर्वाचनमा काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । त्यतिबेला वडा अध्यक्षमा चैतन्यप्रसाद सिटौला थिए । दोस्रो कार्यकालमा भने मगरले सिटौलालाई तेस्रो स्थानमा बनाइदिए । भुवनले १ हजार ४२४ मत पाउँदा चैतन्य सिटौलाले भने ६४६ मत मात्रै पाए । एमालेका पोष्टबहादुर श्रेष्ठले १ हजार ३९८ मत ल्याएका थिए । वडा सदस्यहरू भने सबै एमाले बाट निर्वाचित छन् । ‘स्वतन्त्र भएपछि निर्णय गर्ने र कार्यान्वयन गर्ने कुरामा पनि स्वतन्त्र नै हुँदो रहेछ,’ उनले भने ‘सबैको भावना बुझेर काम गर्न पाइँदो रहेछ । दलमा हुँदा नेताको भावना बुझ्नु पथ्र्याे ।’

दुवै वडाध्यक्षको कुरा उस्तै छन् । स्थानीय तहमा काम गर्न स्वतन्त्रले सक्छन् भन्ने सन्देश वडाबाट उनीहरूले दिइरहेका छन् । चुनावमा आफूले इच्छाएको व्यक्तिलाई भोट हाल्नका लागि भनेर प्रचार गर्न थालिसकेको मगर बताउँछन् ।

स्थानीय तहलाई लोकतन्त्रको आधारस्तम्भसमेत भन्ने गरिएको छ । यिनै आधार स्तम्भहरूलाई बलियो बनाउन स्वतन्त्र नै चाहिने उनीहरुको मत छ ।

‘जनतासँग निकट भएर काम गर्नका लागि दलको लगाम आवश्यक छैन,’ मगरले भने ‘हामी जनताको प्रत्यक्ष निगरानी र नियन्त्रणमा रहेपछि कसैसँग डराउनु पनि परेन ।’ प्रतिपक्ष र सत्ता पक्ष भन्ने नभएकाले काम गर्न स्थानीयतहमा स्वतन्त्र चाहिने उनको तर्क छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल चर्चामा छन् । बालेन काम र बोलका कारण चर्चामा छन् भने हर्क श्रमदान र छुच्चो बोलीका कारण चर्चामा छन् । गोपी भने कामकै कारण चर्चामा रहेका छन् । उनीहरूका कारण पनि स्थानीयतहमा स्वतन्त्र चाहिन्छ भन्ने मत बलियो रहेको जनाकारहरू बताउँछन् ।

मङ्गलबार, १५ साउन, २०८१, बिहानको ०७:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर