विराटनगर । ठूलो उतारचढावबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुचक आइतबार ११३ अङ्कले बढेको छ ।
मौद्रिक नीतिपछिको पहिलो कारोबारका दिन नेप्से परिसूचक ११३.४२ अङ्कले बढेर २६८१.५६ बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ५.८२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ८.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १०.०५ अंक बढेको छ ।
यसदिन बजारमा ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयरको खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ । तीव्र उछाल आएको बजारमा बैङ्कहरूको सेयर मूल्य सर्किट लेबलमा कारोबार भएको छ ।
यस दिन नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबीआईै बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, प्राइम बैंक, कृषि विकास बैंक र नेपाल बैंक गरि १० वटा वाणिज्य बैङ्कहरूको सेयर मूल्यमा पोजेटिभ सर्किट लगेको छ । यस्तै, उपकार लघुवित्त वित्तीय संस्था र हाथवे इन्भेस्टमेन्ट नेपालको सेयर पनि सर्किट लेबलमा कारोबार भएको छ ।
आइतबार प्रि ओपन सेसनमै नेप्से सूचक ३८ अंकले बढेर २६०६.४२ को बिन्दुमा अडिएको थियो भने, कारोबार खुलेको ढेढ मिनेटमै १०२.६८ अंकले बढेर शेयर बजारको कारोबार २० मिनेटका लागि बन्द भएको थियो ।
त्यसपछि ११ः२१ बजे कारोबार खुलेकोमा २ मिनेटमै दोस्रो सर्किट ब्रेक लाग्यो । दोस्रो सर्किट ब्रेक लाग्दा परिसूचक १२९.०७ अंकले बढेर २६९७.२१ को बिन्दुमा अडिएको थियो । दोस्रो सर्किट ब्रेकसम्म १३ लाख २०५ कित्ता सेयरको खरिदबिक्री हुँदा ५२ करोड ४९ लाख ६३ हजार रुपैयाँको कारोबार भएको थियो ।
१२ बजेपछि खुलेको खुलेको बजारमा भने एकाएक बिक्री चाप बढेको थियो । पछि १२ः०२ बजे नेप्से आजको अधिकतम अंक २७०८ मा पुगेको थियो । जुन करिब २९ महिनापछि परिसूचकले पार गरेको हो । यसअघि २०७८ फागुन ११ गते नेप्से परिसूचक २७०० बिन्दुमाथि पुगेको थियो ।
शेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से परिसूचक बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले नेप्से परिसूचक बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ । दिनभरमा ६ प्रतिशत बृद्धि भएमा सो दिनको कारोबार नै बन्द हुन्छ ।
मौद्रिक नीतिले बैंकहरुको नाफा वृद्धिमा सहयोग गरेको र बैंकहरुले साउनको ब्याज आम्दानी पनि गत वर्षकै ब्यालेन्स सिटमा गणना गर्न पाउने व्यवस्था गरिएकोले बैंकको शेयर मूल्यमा उछाल आएको हो । मौद्रिक नीतिले सेयर धितो कर्जामा संस्थागत लगानीकर्ताका लागि लगाइएको २० करोडको क्याप पनि हटाइएको छ । जसले लगानीकर्ता उत्साहित भएका छन् ।
यस दिन माइक्रोफाइनान्स बाहेक सबै क्षेत्रका सूचक बढेका छन् । माइक्रोफाइनान्स भने १० अंक घटेको छ । यसदिन शेयरमूल्य घटेका शीर्ष १० कम्पनीहरुको सूचीमा ७ लघुवित्त कम्पनी छन् । जसमध्ये गणपति लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.३५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ३६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको करिब ३५ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि–इन्स्योरेन्स र शिवम् सिमेन्ट्सको कारोबार रकम ३२ करोड नाघेको छ ।