विराटनगर । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०८०–८१ मा नेपालले करिब १७ अर्ब रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ ।
गत आर्थिक वर्षमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको नेपालले त्योभन्दा बढी अर्थात १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत निर्यात गरेको छ ।
प्राधिकरणले आयातभन्दा १२ करोड २३ लाख रुपैयाँको बढी विद्युत् भारततर्फ निर्यात भएको छ । आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी विद्युत निर्यात भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरेको हो । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्र्धी दरमा र मध्यकालीन विद्युत् सम्झौता बमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि (एनभीभीएन)ंलाई बिक्री गरिरहेको छ ।
निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा छ । प्राधिकरणले सुख्खा याममा नेपालमा विद्युत अभाब हुँदा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । उत्पादन घट्ने समयमा माग धान्न भारतबाट १ अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ ।
भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युत्को खुद निर्यातकर्ता बनेको प्राधिकरणले जनाएको छ । अव २०७९–८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको निर्यात गरिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तीन वर्ष अघिबाट भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् निर्यात सुरु गरेपनि यो वर्षबाट मात्र आयाताभन्दा निर्यात धेरै भएको हो । विद्युतको खुद निर्यातकर्ता बन्नसक्नु ऊर्जा क्षेत्रका लागि एउटा कोशेढुङ्गा भएको घिसिङले बताएका छन् ।
नेपालले भारतको इनर्जी एक्सेचेन्जको डे–अहेड मार्केटमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो । सुरुमा विद्युत् आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यातकर्ताको रुपमा पनि प्रवेश पाएको हो । हाल नेपालले मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा दैनिक करिब ७ सय मेगावाट विद्युत् भारतमा बिक्री गरिरहेको छ ।
मध्यकालीन सम्झौताअनुसार थप ४ सय मेगावाट विद्युत् निर्यातको अनुमति पाउने चरणमा रहेको प्राधिकरणले जनाएको छ । यस्तै बंगलादेशसँग पनि छिट्टै सम्झौता गरी यहि वर्षबाट ४० मेगावाट निर्यात गर्ने तयारी छ ।