सम्पादकीय
मोरङको विराटनगर–४ इक्राहीका दिलिप मण्डलकी श्रीमति जानकी मण्डलको घरमै झुण्डिएको अवस्थामा एक महिना अगाडि शव भेटिएको घटना रहस्यमयी देखिएको छ । मृतकका छोरा र माइती पक्षले जानकीको हत्या दिलिपसहितले गरेको दावी गरेका छन् । गत जेठ २९ गते घरकै कोठामा झुण्डिएको अवस्थामा जानकीदेवि फेला परेकी थिइन् ।
आफन्तले उनको हत्या भएको दावी गरे पनि प्रहरीले त्यस प्रकरणमा गम्भीर अनुसन्धान नगरेको देखिएको छ । उनी झुण्डिएको भन्दा ‘झुण्ड्याइएको’ जानकीका छोरा रुपेश र माइती पक्षको दाबी छ । त्यति मात्र नभएर जानकीको पोष्टमार्टम रिपोर्टमा पनि उनीमाथि कुटपिट भएको पुष्टि भएको बताइएको छ । तर, प्रहरीले सो प्रकरण गम्भीर अनुसन्धान नगरेको कारण सरकारी वकिल कार्यालयले मुद्दा नै नचल्ने निर्णय गरेको पाइयो । दश वर्षयता प्रत्येक दिनजस्तो श्रीमान र श्रीमतीबीच झैझगडा हुँदै आएकोमा जिल्ला प्रहरी कार्यालयमा धेरैपटक छलफल भएर मिलापत्र गरिएको देखिन्छ । पछि दिलिप आफैंले श्रीमती जानकीसँग सम्बन्ध बिच्छेदको मुद्दा हालेपछि जानकीले पनि अंश मुद्दा हालेकी थिइन् । लगत्तै उनको झुण्डिएको अवस्थामा शव भेटिएको घटना शंकास्पद छ ।
मृतकका छोराले आफ्नै अगाडि आमामाथि निर्मम कुटपिट भएको बताएका छन् । बुबाले नै यसअघि पनि डोरी लिएर आमालाई झुण्डिन भन्ने गरेको उनको भनाइ छ । बाख्रा ठोक्ने मुङ्ग्रोले हातमा हानेर हात नै भाँचिएको र राति बुबाको प्रेमिका तथा प्रेमीकाको आमाले पनि झगडा गरेको उनले बताएका छन् । जानकीका माइती पक्षले पनि अरू केटीसँग लागेर आफ्नी छोरीको ज्यान ज्वाईले नै लिएको दाबी गर्छन् । अहिले आफूहरुलाई पनि धाकधम्की दिइरहेको भन्दै माइती पक्षले प्रहरीले उसैसँग मिलेमतो गरेर अनुस्न्धान नगरेको र मुद्दा नचल्ने निर्णय गरेको गुनासो गरेको छ । घटनापछि जानकीको माइती पक्षले ज्यान मार्ने उद्योगमा जाहेरी दिएको थियो । तर, प्रहरीले मुद्दा दर्ता गर्न नमानेको पाइएको छ । त्यसपछि आत्महत्या दुरुत्साहन विरुद्धमा मुद्दा हाल्ने कुरा भएपनि प्रहरीले सर्जमिन मुचुल्का पनि राम्रोसँग नगरेको र अनुसन्धान पनि राम्ररी नगरेकोले सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरिदिएको देखिन्छ ।
अहिले जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भनेर गरेको निर्णय उच्च सरकारी वकिलको कार्यालयले बदर गरिदिएको छ । अब भने मुद्दा दर्ता हुने भएको छ । मृतकका छोरा रुपेश जो १६ वर्षका मात्र भएका छन्, उनले आफू असुरक्षित रहेको बताइरहेका छ । यो प्रकरणमा एकातिर प्रहरी अनुसन्धानमाथि नै गम्भीर प्रश्न उठेको छ । पीडित पक्षको गुनासो सुन्दै नसुनी प्रहरीले घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालमया बुझाएको देखिन्छ । यसरबो सरकारी वकिलको कार्यालय र प्रहरीले भने ठोस जवाफ नदिई ‘मिसिल हेरेपछि मात्र बोल्न सकिने’ बताएका छन् । पछिल्लो समयमा मोरङ प्रहरीले पहुँचविहिन र सर्वसाधारण नागरिक पीडित भएका घटनाहरुमा गम्भीर अनुसन्धान नगरेको विषय आइहरेको छ । मिलेमतामो अनुसन्धानलाई प्रभावित पारको आरोप पनि प्रहरीमाथि लाग्न थालेको छ । यो प्रकरणमा जानकीमाथि उनका श्रीमानले घरेलु हिंसा र दुव्र्यवहार गरेको स्पष्ट नै देखिन्छ । उनको मृत्यु कुनै न कुनै रुपमा त्यसमा जोडिएको देखिन्छ । त्यसैले यो प्रकरणमा थप गम्भीर अनुसन्धानको खाँचो छ ।