डा.बालकृष्ण साह
आज श्रावण ६ गते । नेपाली राजनीति र साहित्यका एक तारा अस्ताएको दिन । नेपाली राजनीति र साहित्यका अब्बल व्यक्तित्व बीपी कोइरालाले ४२ वर्ष अगाडि आजकै दिन देहत्याग गरेका थिए । देशमा प्रजातन्त्र स्थापनाका लागि उनले आफ्नो जीवन समर्पण गरेका थिए । भाद्र २४, १९७१ विक्रम संवत् (८ सेप्टेम्बर, १९१४) मा जन्मेका बीपी कोइरालाको २०३९ साल साउन ६ गते (सेप्टेम्बर ८, १९१४) का दिन क्यान्सरका कारणले निधन भएको थियो । कोइराला २०१५ सालमा नेपालको पहिलो संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए । उनको कुशल नेतृत्वका कारण २०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेको थियो ।
बी.पी. कोइराला नेपाली राजनीतिमा एक प्रमुख नेता थिए र उनी नेपाली कांग्रेस पार्टीका संस्थापक सदस्य मध्ये एक हुन् । उनको विचार र कांग्रेस पार्टीको अभ्यासबारे चर्चा केहि शब्दमा पक्कै सकिदैन । बी.पी. कोइराला दृढतापूर्वक लोकतन्त्रको पक्षधर थिए । उनले निरंकुशताको विरोध गरे र प्रजातन्त्र स्थापनाका लागि संघर्ष गरे । उनले सामाजिक न्याय र समानताको पक्षमा बोल्दै सबै वर्ग र समुदायका अधिकारको पक्षमा वकालत गरे । शान्तिपूर्ण संघर्ष र संवादमार्फत परिवर्तन ल्याउनेमा विश्वास राख्थे । सबैभन्दा महत्वपूर्ण पक्ष कोइरालाले राष्ट्रिय एकता र अखण्डतामा जोड दिए र विभाजनकारी शक्तिहरूको जहिल्यै विरोध गरे । नेपाली कांग्रेसले उनकै पथमा रहेर प्रजातन्त्रको स्थापना र सुदृढीकरणका लागि विभिन्न आन्दोलन र संघर्ष गरेको इतिहास छ । २००७ सालको क्रान्ति र २०४६ सालको जनआन्दोलनमा नेपाली कांग्रेसले खेलेको भूमिकाले यो चरितार्थ गरेको छ । नेपाली कांग्रेस पार्टीले समाजवादी अर्थनीति अपनाउने र आर्थिक असमानता घटाउने लक्ष्य राखेको देखिन्छ । मानव अधिकारको संरक्षण र न्याय प्रणालीको सुधारमा विशेष ध्यान दिएको २०४६ देखि २०७२ सम्मको अविवादित न्याय प्रणालीले स्पष्ट गरेको छ ।
अहिलेको परिप्रेक्ष्यमा बी.पी. कोइरालाको विचारसँग नेपाली कांग्रेसको संलग्नता र पालनबारे विभिन्न धारणाहरु छन् । नेपाली राजनीतिमा विभिन्न परिवर्तन र चुनौतीहरूको सामना गर्दै कांग्रेसले बी.पी. कोइरालाको आदर्श र विचारलाई कत्तिको पालना गरेको छ भन्ने प्रश्न महत्वपूर्ण छ । नेपाली कांग्रेसले प्रजातन्त्रको रक्षा र सुदृढीकरणका लागि निरन्तर काम गरिरहेको छ । पार्टीले निरन्तर निर्वाचन प्रक्रियामा भाग लिँदै आएको छ र प्रजातान्त्रिक संस्थाहरूको संरक्षणमा जोड दिएको छ । कांग्रेसले विभिन्न सामाजिक सुधार कार्यक्रमहरू, कानुन र नीतिहरू मार्फत सामाजिक न्याय र समानतालाई प्रोत्साहित गर्ने प्रयास गरेको छ । तर पार्टीभित्रको आन्तरिक कलह र भ्रष्टाचारको आरोपले बी.पी. कोइरालाको आदर्श र विचारसँग मेल नखाने स्थिति सिर्जना गरेको छ भन्दा फरक नपर्ला । पार्टीभित्र गुटबन्दी र शक्ति संघर्षले जनताको विश्वास घटाएको देखिन्छ । केही आरोपहरू अनुसार पार्टीले आफ्नो सैद्धान्तिक मूल्यमान्यतालाई लत्याउँदै अवसरवादलाई प्राथमिकता दिएको देखिन्छ ।
बी.पी. कोइराला समाजवादी विचारधाराका प्रबल समर्थक थिए । उनको समाजवादी दृष्टिकोणले नेपाली समाजको रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको छ । उनी आर्थिक, सामाजिक, र राजनीतिक समानताको पक्षधर थिए । निजी सम्पत्तिको सीमितता र राष्ट्रियकरणको पक्षमा बोल्थे । शान्तिपूर्ण र लोकतान्त्रिक संघर्षमार्फत समाजवादी परिवर्तनको समर्थन गर्थे । र जनताको मौलिक अधिकार र स्वतन्त्रताको रक्षा र प्रवद्र्धधनमा जोड दिदैँ आए । नेतृत्वमा योग्यता र क्षमता महत्वपूर्ण मानिन्थ्यो । बी.पी. कोइरालाले पारिवारिक विशेषाधिकारको विरोध गर्थे र राजनीतिक नियुक्तिमा पारदर्शिता र योग्यता कुरालाई प्राथमिकता दिनुपर्छ भन्ने मान्यता राख्थे । तर अहिले नेपाली कांग्रेस यसमा खरो उत्रिन सफल छ ? सोच्नु पर्ने अवस्था आएको छ ।
बी.पी. कोइरालाको विचार र नेपाली कांग्रेसको अहिलेको व्यवहारबीच केही समानता भए पनि, पूर्णरूपमा त्यो विचारको पालन र कार्यान्वयनमा चुनौतीहरू छन् भन्दा फरक पर्दैन । पार्टीले आफ्नो संस्थापक नेता वि.पी. कोइरालाको आदर्शलाई सच्चा अर्थमा अनुशरण गर्न र जनताको विश्वास पुनःप्राप्त गर्न नीतिगत सुधार र आन्तरिक एकता कायम गर्नुपर्ने आवश्यकता छ । बी.पी. कोइरालाको समाजवादी विचार र नेपाली कांग्रेसको अभ्यासलाई विगतदेखि वर्तमानसम्मको सन्दर्भमा विश्लेषण गर्दा, हामीले केही महत्वपूर्ण बिन्दुहरूमा ध्यान दिनै पर्छ । उनको समाजवादी विचारको सार र नेपाली कांग्रेसको व्यवहारमा केहि समानता र केही असमानता देखिन थालिएको छ । वि.पी. कोइरालाको समाजवादी सिद्धान्तहरूको पूर्ण अनुशरण गर्न चुनौतीहरू भए पनि, पार्टीले विभिन्न चरणमा सामाजिक न्याय, लोकतन्त्र, र आर्थिक सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको छ । वर्तमानमा, कांग्रेसले यी सिद्धान्तहरूको पालन गर्दै थप पारदर्शिता, उत्तरदायित्व, र नैतिकतामा जोड दिनु आवश्यक छ ।
प्रदेश प्रतिनिधि, सुनसरी २ ख, नेपाली कांग्रेस