प्रचण्ड र आङ्बोबीच भेट : कोशीमा मुख्यमन्त्रीले चाहेसम्म माओवादी सरकारमै रहने

केन्द्रमा नेपाली काँग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेसँगै प्रतिपक्षमा धकेलिएको नेकपा माओवादी केन्द्र कोशी प्रदेशमा मुख्यमन्त्रीले चाहेसम्म सरकारमै रहने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोबीच बिहीबार भएको भेटवार्तामा मुख्यमन्त्रीले चाहेसम्म सहकार्य गर्नेबारे छलफल भएको हो ।

काठमाडौस्थित प्रचण्ड निवास खुमलटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको हो । सो क्रममा आङ्बोले कोशी प्रदेशको राजनीतिक परिस्थितिबारे रिपोर्टिङ गरेको र अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिबारे ब्रिफिङ गरेका थिए ।

भेटमा कोशी सरकारबारे मुख्यमन्त्रीले चाहेसम्म सहकार्यलाई निरन्तरता दिने निष्कर्ष निकालिएको आङ्बोले जानकारी दिए । प्रदेश पार्टीसँगको छलफल र मुख्यमन्त्री कार्कीसँगको सल्लाह अनुसार नै माओवादी केन्द्र सरकारमा रहेको भन्दै उनले त्यसमा अध्यक्ष प्रचण्डले पनि सहमति दिएको बताए ।

‘मुख्यमन्त्रीसँग सहमति गरेर यो सरकार बनाएकोले उहाँले चाहेसम्म सहकार्य र साथ रहन्छ’ आङ्बोले भने, ‘अरु कसैको व्यक्तिगत आग्रह र चाहनामा हामी बहकिँदैनौं ।’ मुख्यमन्त्री कार्कीले पनि संविधानको अन्तिम विकल्पबाट बनेको सरकारबारे अदालतले गरेको फैसलाको पूर्णपाठसमेत नआइसकेकको बेला सरकारबाट हट्ने निर्णय नगर्न माओवादी केन्द्रलाई आग्रह गर्दै आएका छन् ।

मुख्यमन्त्री कार्कीले माओवादीबाट सरकारमा रहेका मन्त्रीहरुलाई ढुंक्कसँग मन्त्रालयको काम गर्न भनेका छन् । अहिले सरकार र गठबन्धन परिवर्तनबारे नसोचेको भन्दै उनले आफ्नो कामलाई यथावत राख्न भनेपनि मुख्यमन्त्रीको दल नेकपा एमालेका केहि सांसदहरुले नयाँ परिस्थितलाई बुझेर माओवादी केन्द्र सरकारबाट बाहिरिनुपर्ने आसय व्यक्त गर्दै आएका छन् ।

कोशी सरकारमा माओवादी केन्द्रबाट स्वास्थ्यमन्त्री राजेन्द्रकुमार कार्की, भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेती र पर्यटन वन तथा वातवरणमन्त्री नारायणबहादुर मगर छन् । यस्तै पर्यटन मन्त्रालयमा बन्दना झाँगर राज्यमन्त्री छन् । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै मन्त्रीहरुले राजीनामा दिनेबारे मुख्यमन्त्रीसँग कुरा गर्न चाहेपनि मुख्यमन्त्री कार्कीले नै रोकेका छन् ।

कोशीमा नयाँ गठबन्धन अनुसारका सरकार निर्माणबारे काँग्रेस र एमालेबीच पनि छलफल सुरु भएको छैन । काँग्रेस संसदीय दलका नेता उद्धब थापाले केन्द्रकै गठबन्धन अनुसार सरकार निर्माण हुने भएपनि एमाले र मुख्यमन्त्री कार्कीसँग औपचारिक छलपल सुरु नभएको बताए । संघीय सरकारले पूर्णता पाएपनि प्रदेशमा के गर्ने भन्नेबारे पार्टीको शीर्ष नेतृत्वको निर्देशन नआएको उनले बताए ।

‘भर्खरै नयाँ गठबन्धन अनुसारको सरकार केन्द्रमा बनेको छ, अब शीर्ष नेताहरुबीच प्रदेश सरकारबारे पनि छलपल हुन्छ’ थापाले भने, ‘शीर्ष नेताहरुबीच सहमति भएपछि प्रदेश सरकारमा काँग्रेसको सहभागिताबारे निर्णय गर्छौं ।’ काँग्रेस सरकारमा सहभागिता हुने अवस्था नभएसम्म प्रदेशमा माओवादी सरकारमा रहनु स्वभाविक रहेको भन्दै उनले चर्चामा आएजस्तो सर्वदीय सरकारको संभावना भने नदेखेको बताए ।

काँग्रेस र एमालेबीच प्रदेश सरकारबारे छलफलसमेत सुरु नभएको अवस्थामा कोशीमा एमाले र माओवादीकै गठबन्धन कायम रहेको देखिएको छ । त्यहि भएर मुख्यमन्त्रीले चाहेसम्म सरकारबाट अलग नहुने नीति माओवादीले लिएको हो ।

मन्त्रालयमा अध्यक्ष प्रचण्ड र नेता आङ्बोबीचको भेटमा प्रचण्डले संघमा गठबन्धन र सरकार परिवर्तन हुनुको कारण दलाल र बिचौलिया भएको बताएका थिए । ‘उनीहरु निक्कै शक्तिशाली बनेको कारण सरकार परिवर्तन भयो’ प्रचण्डको भनाइ उदृत गर्दै आङ्बोले भने, ‘सुशासनको आतङ्क पनि सरकार फेरबदलको अर्को कारण बन्यो ।’ प्रचण्डले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकरण र बेचन झा पक्राउपछि सरकार परिवर्तन हुने अवस्था बनेको बताएका थिए ।

बिहिबार, ०३ साउन, २०८१, दिउँसोको ०२:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर