पुष्टि भएन आरोप : हेडक्वार्टर तानिएका सशस्त्रका एसपी मोरङ फिर्ता

विराटनगर । मोरङमा तस्करीको लाइन चलाएको आरोपमा हेडक्वार्टर तानिएका सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्कालाई फिर्ता पठाएको छ । हेडक्वार्टर तानिएका खड्कामाथि लागेको आरोप पुष्टि नभएको भन्दै विभागले पुनः सशस्त्रको नेतृत्व सम्हाल्ने गरी आइतबार मोरङ नै फिर्ता पठाइएको हो ।

सशस्त्र प्रहरी बल मुख्यालय (सशस्त्रको हेडक्वार्टर)ले छानबिन एवं अनुसन्धानका लागि भनेर उनलाई २० असारमा काठमाडौं तानेको थियो । हेडक्वार्टर तानिएका खड्का माथि तस्करीको लाइन चलाएको भनेर लगाइएको आरोप पुष्टि नभएपछि १० दिनपछि उनलाई मोरङ नै फिर्ता पठाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी कुमार न्यौपानेले जानकारी दिए ।

छानबिन र अनुसन्धानका क्रममा गल्ती गरेको नपाइएकाले एसपी खड्कालाई मोरङ नै फिर्ता गरिएको उनले बताए । ‘आइतबारदेखि काममा फर्किने गरी फिर्ता पठाइएको हो । एसपी खड्कामाथि जुन आरोप थियो । त्यो सही देखिएन,’ डीआईजी न्यौपानेले भने, ‘छानबिन समितिको प्रतिवेदनले निर्दोष देखाएको छ । आरोप मात्रै लगाएको पाइयो ।’

आन्तरिक हिसाबबाट समिति बनाएर छानबिन गर्दा बदमासी गरेको नभेटिएपछि कारबाही गर्नुपर्ने आवश्यकता नदेखिएको उनले बताए । आन्तरिक हिसाबले सचेत भने गराइएको उनको भनाइ छ । ‘कसैले पनि संगठनको नीतिभन्दा बाहिर जान मिल्दैन । त्यही हिसाबले एसपी खड्कालाई सचेत गराएर फिर्ता पठाइएको हो । गल्ती गरेको प्रमाणित भएको भए कारबाही हुन्थ्यो,’ डीआईजी न्यौपाने भने ।

मुख्यालयले खड्कामाथि छानबिन एवं अनुसन्धान गर्न सीमा विभागका डीआईजी लक्ष्मणबहादुर सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । एसपी माधव रेग्मी र डीएसपी भुवन भण्डारी समितिमा सदस्य थिए । उक्त समितिले दिएको प्रतिवेदनको आधरमा विभागले प्रक्रिया अगाडि बढाएको हो ।

बिहिबार, ०३ साउन, २०८१, बिहानको ०८:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर