सम्पादकीय
विद्यार्थी संगठन भनेको विद्यार्थीका हकहितको संरक्षण तथा शैक्षिक गुणस्तर सुधारका लागि रचनात्मक भूमिका निर्वाह गर्न खोलिएका संगठन हो । उनीहरुले विद्यार्थीहरुको आवाजको प्रतिनिधित्व गर्दै शैक्षिक समस्या समाधानका लागि समन्वयकारी भूमिका खेल्नुपर्ने हो । तर, पछिल्लो समयमा नेपालका विद्यार्थी संगठनहरुका विगतदेखि वर्तमानसम्मको अवस्थाको अध्ययन गर्दा संगठनहरु विद्यार्थीका समस्याहरुमा भन्दा राजनीतिक फाइदाका लागि गतिविधिहरुमा बढी केन्द्रित हुँदै गइरहेको देखिन्छ । विद्यार्थी संगठनको इतिहास हेर्दा पञ्चायत कालमा राजनीतिक दलहरु प्रतिबन्धित भएको अवस्थामा आफ्ना राजनीतिक एजेण्डाहरु स्थापित गर्नका विद्यार्थी संगठनहरु स्थापना भएका थिए । उनीहरुले मुलुकको व्यवस्था परिवर्तन र शैक्षिक मुद्दा उठानमा पनि ऐतिहासिक भूमिका निर्वाह गरे । विद्यार्थी संगठनको काम कर्तव्य भनेको विद्यार्थीहरुको मुद्दामा बोल्ने हो । तर, अहिले उनीहरुको मूख्य उद्देश्य विद्यार्थीको हकहितमा नभई आफ्ना ’माउ’ पार्टीका राजनीतिक एजेण्डाको प्रचार र राजनीतिक संरक्षणको आडमा अराजकता र गुण्डागर्दी विस्तारमा केन्द्रित भएका धेरै उदाहरण छन् ।
विद्यार्थी संगठनमा यो समस्या देखिनुको मुख्य कारण वास्तविक विद्यार्थीले विद्यर्थीको संगठनको नेतृत्व नगरेर हो । हिजो विद्यार्थी संगठन र आजको विद्यर्थी संगठनको तुलना समेत गर्न सकिदैन । आज वास्तविक विद्यार्थीहरू विद्यार्थी राजनीतिमा समावेश छैनन् । विद्यार्थीले नियमित नेतृत्व पाएको खण्डमा विद्यार्थीको आजको आवश्यकता र मुद्दालाई बोक्न सक्थे । तर, त्यो अवस्था छैन । पछिल्लो समयमा विराटनगर क्षेत्रमा विद्यार्थी संगठन र विद्यार्थीको नाममा भइहरेका गतिबिधि नियाल्दा यो स्पष्ट हुन्छ । केहि समय अगाडि विद्यार्थी आन्दोलनका नाममा विराटनगरमा अप्रिय घटना भयो । सरकारी सवारीसाधन लक्षित गरी विद्यार्थीहरूले आगजनी र तोडफोड गरे । लाखौंको क्षति भयो ।
भर्खरै मात्र विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक अर्जुन तामाङमाथि विद्यार्थीबाटै कुटपिटको घटना भयो । गत बिहीबार बिहान क्याम्पस लागिरहेको समयमा कार्यकक्षमै पुगेर स्ववियु सदस्य समेत रहेकी अनेरास्ववियुकी नेतृ रिंकु चौधरीसहितको समूहले आक्रमण गरेको थियो । तामाङलाई कुटपिट गर्न चौधरीसहित अनेरास्ववियुका क्याम्पस इकाई अध्यक्ष माधव पासवानसहितको समूह तामाङको कार्यकक्षमा पुगेको थियो । उपप्राध्यापक तामाङमाथि केही विद्यार्थीहरुले अमर्यादित दुव्र्यबहार गरेका थिए । क्याम्पस शिक्षा शास्त्रको कार्यक्रम संयोजक रहेका तामाङले घटनापछि काम गर्ने वातावरण नभएको भन्दै शिक्षा शास्त्र कार्यक्रम संयोजकबाट राजीनामा दिएका छन् । परीक्षामा उपप्राध्यापक तामाङ आन्तरिक पर्यवेक्षक रहेकोमा एक विद्यार्थीको चिट खोसेपछि उनीमाथि आक्रमण भएको हो । चिट चोर्ने विद्यार्थी एक्सफेल भएपछि उनीमाथि आक्रमण भएको हो । यो घटनाले विद्यार्थी संगठन र विद्यार्थीका नेताहरु के गरिरहेका छन् भन्ने स्पष्ट हुन्छ ।
विद्यार्थीहरूले निजी विद्यालयले अभिभावकसँग चर्को शुल्क उठाएको आरोप लगाउँदै आएका छन् । तर, त्यसलाई नियन्त्रण गर्न उनीहरुको पहल देखिँदैन । बरु त्यस्ता निजी विद्यालयबाट उनीहरु चन्दा असुल्छन् । शैक्षिक गुणस्तर सुधार र शैक्षिक वातावरण निर्माण उनीहरको मुद्दा बन्न छाडेको छ । राजनीतिक प्रकृतिको अराजक आन्दोलनमा उनीहरु केन्द्रित छन् । यस्तो कार्य नियन्त्रण हुनुपर्छ । प्राध्यापकमाथि हातपात गर्ने र गैरकानुनी काम गर्नेमाथि कडाभन्दा कडा कार्वाही हुनुपर्छ । शैक्षिक संस्थाभित्र विद्यार्थी संगठनको नाममा हुने अराजकता नियन्त्रण गर्नुपर्छ । त्यो जिम्मेवारी राज्यको हो ।